• शुक्रबार-चैत-१६-२०८०

सेना–प्रहरीको मर्यादामा यति ठूलो अन्याय किन ? 

    निजामती सेवाका राजपत्रांकित कर्मचारीको स्वार्थबस अघि बढाएको र बिचमा अलपत्र परेको तलब बृद्धि बारेमा सर्वसाधारण नेपाली नागरिकले जानकारी पाउन नितान्त आवश्यक ठानिएकोले यस पत्रमा चर्चा गरिनेछ । सुरक्षा अंगका कतिपय पदसंग मर्यादाक्रममा माथि भएपनि तलबमान नमिलेको भन्दै, योजनाबद्धरुपमा उपसचिव स्तरको कर्मचारीको हस्ताक्षर गराई संसदीय समितिको परिपत्रको आडमा निजामती कर्मचारी(राजपत्रांकित)ले भारी तलब बृद्धिको प्रस्ताव पठएका थिए । तर, यो सूचना ना.सु.हरूले थाहा पाएपछि चर्को आन्दोलन गरे र अर्थ मंत्री जनार्दन शर्मालाई निर्णय फिर्ता गर्ने प्रतिबद्धता गराए ।


निजामती कर्मचारीले विभिन्न समयमा सुरक्षा निकायप्रति गरिने घोर अपमान नेपाली जनता समक्ष उजागर गर्नै पर्ने भएको छ । यो चक्रब्युह कसरी रचियो भन्ने कुराको पाटो विगतमा भएका विभिन्न क्रियाकलाप र परम्परागत नियमलाई उल्लेख गर्नु वान्छनीय हुनेछ । विगतमा निजामती कर्मचारी राजपत्रांकिततर्फ शाखा अधिकृत, सहायकसचिव, उप–सचिव, सह–सचिव, सचिव, र मुख्यसचिव थियो ।


नेपाली सेनामा  सहायक सेनानी, उप–सेनानी, सह–सेनानी (राजपत्रांकित तृतीय) सेनानी र प्रमुख–सेनानी (राजपत्रांकित द्वितीय) महासेनानी, सहायकरथी ( राजपत्रांकित प्रथम), उपरथी, रथी, र प्रधानसेनापति विशिष्ट श्रेणी कायम गरिएको छ ।


नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानमा  निरीक्षक, ( राजपत्रांकित तृतीय) नायव उपरीक्षक, उपरीक्षक (राजपत्रांकित द्वितीय) प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी नायव महानिरीक्षक (राजपत्रांकित प्रथम) प्रहरी अतिरिक्त महानिरीक्षक, महानिरीक्षक (विशिष्ट) ३ वटै संगठनमा यस प्रकारको प्रावधान रहेको छ ।


  विगत ५०–६० वर्षदेखि मर्यादाक्रम भन्दा पनि तहगत हिसाबमा तलबमान कायम भै आएकोमा कुनै अनुसनधान बिना मर्यादाक्रम अनुसारको तलब कायम नभएको भन्ने तर्क जस्को हातमा डाडुपन्यु लिएर बस्यो त्यसैले  समग्रहित भन्दा आफ्नो कल्याणको लागि कार्य गरेको देखिन्छ । यसको ऊदाहरण निजामती कर्मचारीको राजपत्रांकित द्वितीय तहको  सहायकसचिवको पद खारेज जुन एक श्रेणीमा  एक पद कायम  गरि स्वार्थ अनुकूल काम पहिले नै गरिसकेको देखिन्छ ।


नेपाल सरकारले मर्यादाक्रम कायम गर्दा राजनीतिज्ञ र निजामती कर्मचारी मात्रको संगलग्नता हुने सुरक्षा निकयाको प्रतिनिधि नहुने हँुदा गैरसैनिक  प्रभुत्व कायम राख्ने बहानामा निजामती र सुरक्षा निकायको मर्यादाक्रममा पाछिलो समयमा असमानता कायम गरि राजपत्रमा प्रकाशित गरेको देखिन्छ । जुन नेपाल सरकारको विभिन्न समयमा कायम भएको मर्यादाक्रम राजपत्रमा प्रकाशित विगत ५०–६० को अध्ययन गरेमा प्रष्ट हुन्छ । 


नेपाली सेनामा  राजपत्रांकित तृतीयमा  ३ पद, द्वितीयमा २ पद, प्रथममा २ पद विशिष्ट ३ पद कायम रहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागमा  रापं तृतीयमा १ पद, द्वितीयमा २ पद, प्रथममा २ पद, विशिष्टमा २ पद कायम रहेको छ ।

 

यी निकायहरुमा  तृतीय श्रेणीमा १२–१३ वर्ष सेवा गरेपछि  द्वितीय श्रेणीमा पदोन्नति हुन्छ । द्वितीय श्रेणीबाट ७–८ वर्ष पछि द्वितीय श्रेणी भन्दाको माथिको पदमा पदोन्नति हुन्छ र प्रथम श्रेणीमा पदोन्नति हुन ४–५ वर्ष लाग्छ ।

 

प्रथम श्रेणीमा पदोन्नति भएको ४–५ वर्षपछि प्रथम श्रेणीको माथिको पदमा  पुग्न ४–५ बर्ष  समय लाग्ने हुन्छ ।  प्रथम श्रेणीबाट ३–४ वर्षमँ विशिष्ट श्रेणीमँ पदोन्नति हुने व्यवस्था छ भने निजामतीतर्फ  तृतीयबाट ५–६ वर्षमा द्वितीय श्रेणी पदोन्नति हुने र प्रथम श्रेणीमँ ६–७ वर्षमा पदोन्नति हुनेछ । प्रथम श्रेणीबाट विशिष्टमा ८–१० वर्षमा पदोन्नति हुनेछ । आज प्रथम श्रेणीमा खुल्ला प्रतियोगितामा भाग लिएर सेवा प्रवेश गरेको ८–१० वर्षमा प्रथम श्रेणी हुने अवसर छ भने सुरक्षा अंगमा उक्त अवसर छैन । 


जसले गर्दा ११–१२ वर्षको सुरक्षा अंगको, ४–५ वर्षको निजामती अधिकृत, २०–२१ वर्षको सुरक्षा अंगको द्वितीय श्रेणीको अधिकृत ६–७ वर्ष निजामती अधिकृत, २८–२९ वर्षको सुरक्षा अंगको पदधिकारी भन्दा १०–११ वर्षको पदाधिकारी श्रेणीगतमा निजामती कर्मचारीलाई मर्यादाक्रममा अगाडि रखिएको छ, तरपनि सुरक्षा अंगबाट सहर्ष स्वीकार गरेको पाइन्छ ।

 

उनीहरुलाई पनि हिनभावना उत्पन्न भएको हुनु पर्ने हो, किन भने निजामती कर्मचारीको सेवा अवधिभन्दा बढी त्यो श्रेणीमा सुरक्षा अंगको पदाधिकारीको  सेवा भएको निजामती पदाधिकारी पदोन्नति भएको समयबाट मर्यादाक्रममा आफूभन्दा माथि रहँदा तर पनि सुरक्षा अंग अनुशासित राज्यप्रतिको कर्तव्यलाई शिरोधार्य गरेर आफूलाई संयमित राखी सरकारको आदेश पालना गर्दछ । 


तर, राजपत्रांकित कर्मचारीबाट विगत ५०–६० वर्षदेखि कायम सुरक्षा अंगको तलब मर्यादाक्रम अनुसार फरक परेको भनि सम्पूर्ण स्थिति सांसद र सरकारलाई नराखी माथिल्लो पदको  तलब बढाउन प्रयास  गरियो, त्यो अत्यन्त खेदजनक छ । भोलि जसको हातमा डाडु पन्यू छ, त्यसले आफ्नो स्वार्थको लागी प्रयोग गर्ने हो भने यो देशको भविष्य के होला भन्ने कुरा सम्पूर्ण सरोकार निकायलाई ध्यान दिन अनुरोध गर्दछु ।        

  – रामशरण कार्की, सेबानिबृत राष्ट्रसेवक

प्रतिकृया दिनुहोस