• बुधबार-भदौ-१-२०७९

कहिले पूरा होलान् ‘भोका सपनाहरू’ 

No description available.जन्मसँगै तानिएर आउँछ, साश्वत मृत्यु पनि । यही मृत्यु पर्खनका लागि गर्नुपर्छ अनेक संघर्ष । जीवन जिउनका लागि गरिएका संघर्षले जन्माउँछन् तिता, मीठा अनुभूति । ती कहिले पिचबाटो भएर सरासर हलचल नगरी हिँड्छन् त कतै भर्खरै बनेको हिलाम्मे बाटो भएर थोरै दूरी छिचोल्नका लागि धेरै संघर्ष र लामो समय खर्चिनु पर्छ । अहो † जीवनको बोध र उचाइ त्यसै कहाँ नाप्न सकिन्छ ।


    अकाट्य मृत्यलाई कसैले रोक्न सक्दैन । यो निरन्तर चलिरहन्छ । फरक यत्ति हो, कुनै सस्ता हुन्छन् त कुनै बहुमूल्य । शून्य विन्दुको आधारबाट नापिएको यो दूरी शिखरसम्म पुग्छ । शिखरमा पुग्नका लागि चुम्नु पर्छ छोटो पहाडहरू र काट्नु पर्छ नदीले बनाएको स्वाधिनताको बाटो । यही यात्रामा भेटिन्छ समाज । र, देखिन्छ समाजले गरिरहेको न्याय, अन्याय । जब गड्छ मनको अन्तरकुनामा यही समाजको दृश्य अनि लेखिन्छ साहित्य । 


जीवनमा अभिलाषा नहुने को होला र ? त्यो भएन भने कसरी फटफटाउन सक्छ भर्खर पँखेटा पलाउनै लागेको बचरो । अभ्यास नगर्र्ने हो भने कसरी उड्ला प्वाँख पलाएपछि । यही अभिलाषाको अन्तिम विन्दूको खोजीमा उब्जिएको छ, ‘भोका सपनाहरू’ । यो गाउँको एउटा देखिएको चित्र जस्तो पातलो लागे पनि विश्वभरि लागेको भुइँ कुहिरो हो । जसले व्याप्त भएर पनि नभए जस्तो बनाएर छोपिदिएको छ, आफ्नै मनको व्यथा । यही विषयको उजागर गर्छन कवितामा होमशंकर बास्तोला ।


सशक्त कवि भएको हिसाबले चैतन्यको राग र समाजको चित्र स्पस्ट देखिन्छ कवितामा । बग्दै गरेको नदीको वेगसँग जोडिएको जीवन उस्तै बग्छ उभार बोकेर । गाउँका चित्रले थाम्दैन वर्खाको झरी । आँखा अगाडि नै लड्छ टेकोले अड्याएको कटेरो । यो कटेरो मात्र होइन, एउटा निस्सारो जिन्दगी पनि हो । जो अडिने बल गर्दागर्दै नाम्न सक्दैन आफ्नै शरीरको बोझ । यो समाजको एउटा नियति अहिले पनि छ गाउँमा । 


शहरमा बसेर के गर्नु यहाँ केही आउँदैन दिमागमा, बारम्बार आउने भनेको उनको तस्बिर हो । त्यो आएर पनि चिममोटेर जान्छ । शान्त पार्न सक्दैन मनको ज्वाला । दुर्गन्धित फोहोरको डंगुरमा शून्य मानवता बोकेको सिंहदरवार चुपचाप हेर्छ, ऊ बोल्न सक्दैन । गाउँभन्दा लाक्षी भएको छ शहर, मानवता बिक्री गरेपछि । 


देशभित्र मात्र होइन कल्पनाको जहाज बोकेर परदेशसम्म पुग्छ मान्छे । तर त्यहाँ पनि भेटिदैन खोजेको सपना । हराएको वस्तु कहाँ पो भेटिन्छ र त्यहाँ भेटियोस् । त्यहाँ सजिलै भेटिने भनेको त्यही ल्याप्चे तमासुकको याद हो । जो जहाँ बसेपनि तुरुन्त आउँछ । माटोमा बिउ छरेर भर्न चाहन्छन् भोका पेटहरू तर आस्थाको पहाडभन्दा पर रहेको खोँच जस्तै बलवान छन्, भर्न कठिन ।

 

त्यसै कसरी झुण्डिन्छ भित्तामा क्यालेण्डर, भोका सपना बोकेर ।
भित्ताको क्यालेण्डर हेरेर
समयको पर्खाइमा 
क्यालेण्डर भित्ते घडीलाई तर्साउँदै
झरेर मलाई व्युँझाउँछ । (म सपना देखि रहेछु) 

    क्यालेण्डर र घडी दुवै झण्डिएका छन् भित्तामा । तर यिनीहरूको बिचमा समभाव छैन । र, त तर्साउँछन् एकले अर्कोलाई । अहिलेको समाजको एउटा चित्र यही घडीको काटा र क्यालेण्डरको पातोमा घुमिरहेको छ । दुःख जस्तै क्यालेण्डरको पातोमा । अनि आफ्नो क्षेत्रमा मग्नछन् घडीका काटाहरू, सुखसयलमा । 


    कतै सालिक छन् बाटामा । कतै हिमाल छन् उभिएका । ती कसैले देख्दैन समाजको आफ्नै प्रतिविम्ब । बरु आफ्नै दुखेसो पोख्छन्, मान्छेसँग । मलाई अन्याय नगर भनेर । यो कति लज्जाको विषय हो बौद्धिक शहर र ठुला विश्वविद्यालयका लागि । आखिर सामाजिक जन्जिर र पर्खाल भत्काउन नसक्ने त्यो बौद्धिकताले गर्छ के ? प्रश्नले पुनः प्रश्न जन्माउँछ । अजिगरले निलेको हरिण फिर्ता आउँदैन । 


    चेतावनीको आगो नदन्किने होइन । तर बन्दुकको गोली अगाडि रोकिन्छ ओंठबाट झर्न लागेको बोली । रक्तभन्दा पहिला प्राण रोक्नका लागि सम्पूर्ण शरीर बाँधिएको छ । नत्र पहाडले के छेक्छ र ऊर्जाको ज्वारभाटा ।


त्यसैले कवि भन्छन्–

आफैँले रोपेका 
शान्त सपनाका बिउहरू 
झरिरहेछन् 
वैशाखको हुरीले
सालका पात झरेझैंँ । (कैसाङ र तीनपाने)

    साहित्यले समाजमा रहेको वातावरण प्रस्तुत गर्छ । हामीले ल्याएको व्यवस्थाले छाप्रोभित्र के–के रूपान्तरण भयो त ? केही भएको छैन । कविताले उब्जाएको प्रश्न उस्तै अनुत्तरित छ । यो चेतनाको केन्द्रविन्दू त हो तर परसम्म धुमिलताले देख्न सकिएको छैन । 

 

आगो निभेका वस्तीहरू
पसिनाले भिजेका अनुहारहरू
अझैँ–अझैँ उदास–उदास छन्
नयाँ इतिहासको पर्खाइमा । (विश्वास भत्किएको बेला)

  

 पँैत्तिसवटा कविता अटाएको यो सङ्ग्रहमा समाजमा देखिएको अभावलाई मुख्य बिम्व बनाइएको छ । यसैको सार्थकताका लागि ‘भोका’ शब्दलाई प्रतिनिधि गराइएको छ । समाजमा रहेका अभावको प्रतिनिधित्व गर्ने यो शब्दले ग्रामीण र शहर दुवै क्षेत्रको अवस्थालाई विश्लेषण गरेको छ । 


    सरलभावमा पनि बोधगम्यताले भरिएका यी कविता पढ्दा अझैँ यस्तो अवस्था समाजमा छ ? भन्ने तर्कना मनको अन्तर कुनामा पुग्छन् र सचेत गराउँछन् । यहाँ प्रकाश लुप्त छ तर परावर्तनको रंग गहिराइभित्र देखिन्छ । 


बास्तोलाको कविताको स्रोत समाजको वेथिति हो । संवेदनहीन राजनीतिक संस्कार, द्वन्द्व, अभाब र गरिबीले जकडिएको समाज आगोको फिलिङ्गो भएर विष्फोटन हुन सक्छ । समाज दमित बनाइएका कारण आक्रोसमा छ, कविताले यही बोल्छ । यी यावत मानवीय संवेदनाका समस्याको निरुपणका लागि हाम्रो चैतन्यको ढोका खोलेर बाहिरको उज्यालो हेर्न यो कृतिले आह्वान गरेको छ । दुई सय पचास मूल्य राखिएको पुस्तकको प्रकाशन कौशिकी साहित्य प्रतिष्ठानले गरेको हो । कविको यो लेखन यात्रा निरन्तर चलोस् । कृतिले नेपाली साहित्यमा अतुलनीय योगदान गरोस् शुभकामना ।
 

प्रतिकृया दिनुहोस