• शुक्रबार-चैत-१६-२०८०

राष्ट्रियता ध्वस्त, प्रचण्ड तैंचुपमैंचुप !

 

इतिहासमा सफल, क्षमतावान, उर्जावान र राष्ट्रिय चिन्तन भएका तत्कालीन प्रधानमन्त्री केपी ओलीमाथि पूर्वाग्रह साँध्न जनताबाट च्यूत भई कोमामा पुगेको काँग्रेसलाई काँध थाप्ने कम्युनिष्ट नामधारी प्रचण्ड र होहो गर्दै पार्टी नै फुटाएर कुद्ने माधव कुमार नेपालले गरेको आत्मघाती राजनीतिक निर्णयका कारण आज मुुलुक सबैतिरबाट भुँमरीमा पर्दैछ, पारिँदैछ । विकास, समृद्धि तथा सुशासनका सबै पक्ष ध्वस्त तथा निकम्मा बनाईएका छन् । 


विवादित एमसीसीको चक्रब्यूहमा देशलाई प्रधानमन्त्री शेर वहादुर देउवाले नेतृत्व गरेको गठबन्धले लग्यो । भारतीय विहारीलाई नागरिकता दिन फेरि नागरिकताको नाममा गम्भीर राष्ट्रघात भयो । प्राविधिक बहुमतको निर्णयको पुरै दुरूपयोग गरी मुलुकलाई फिजीकरणतर्फ लग्ने काम देउवाले गरेका छन् ।


प्रचण्ड–माधव कम्पनी देउवाको षडयन्त्रको मतियार बने । यद्यपि केपी ओलीको रिस फेर्न राष्ट्रघात हुँदा पनि चुप छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाल चाहिं बेलाबेलामा जनताको पक्षमा बोले जस्तो गर्दछन् । तर, ‘अध्यक्ष’ घोषित भएका माधव कमरेड ‘अदक्ष’ हुनाले खनालले उठाएका मुद्दालाई वास्ता गरेको देखिन्न । देउवाको नेतृत्वको सरकारको नीतिका कारण भ्रष्टाचार, कुशासन, बेथिती र विकृति यति फैलिएको छ कि सरकारी निकाय पङ्गु बन्दैछन् । इम्बोस नम्बरको लफडाले नागरिकलाई ‘एम्बुस’मा पार्न खोजिँदैछ । राम्रो काम गरी नेपाली जनताको गिरेको मनोवल उच्च पारेकोले ओलीबाट आफैँ त्रसित हुँदै देउवाको पाउ मोल्न गएका प्रचण्ड कम्पनी अहिले ‘तैंचुपमैंचुप’ बन्दै देश ध्वस्त पार्ने कार्यको साक्षी किनारामा ल्याप्चे हान्दैछन् ।


नेपालीको मनोवल खस्क्यो !
केपी ओली प्रधानमन्त्री हुँदा ह्वात्तै उठेको नेपाली मनोवल, राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रिय भावनालाई देउवाले गम्भीर चोट पु¥याउँदै ध्वस्त बनाए । हामी नेपाली, हाम्रो स्वतन्त्र मुलुक, हाम्रो गौरव, हाम्रो लोकतन्त्र र गणतन्त्र, हाम्रो विकास र समृद्धि जस्ता ओलीले अघि सारेका राष्ट्रिय भावना, चिन्तन तथा एजेण्डालाई ऐना फुटाए झैं फुटाईयो, फुटाईँदैछन् । अनेकौ राष्ट्रिय प्राथमिकता एवम् सरोकारका मुद्दा गठबन्धन दलको  प्रधानमन्त्री देउवा बनेपछि ध्वस्तै भएका छन्, बनाईएका छन् । देउवाबाट देश र जनताको लागि केही काम होला भन्ने कुरा प्रचण्डलाई मात्र होइन एउटा बाटोमा मकै पोल्ने नागरिकलाई पनि थिएन, छैन । विगतको प्रधानमन्त्रीकाल नै विवादित, बद्नाम र कलंकित बनाईसकेका प्रधामन्त्रीबाट योे समयमा केही होला भनेर कसैले नपत्याएको आखिर पूर्ण सत्य सावित मात्र भएन नेपाली नागरिक थप निराश हुँदैछन् । 


बुढानीलकण्ठको महलमा ह्वीस्की, वाइन र ब्राण्डी चुस्क्याउँदै काँग्रेसमा आफ्नो भजनमण्डली तयार गर्दै आएका देउवाले मुलुकलाई बर्बाद बनाए । विदेशमा मुलुकको बेइज्जत गरे । बोलेको पनि नबुझ्ने प्रधानमन्त्रीले नेपालीको शिर देश–विदेशमा गिराए । सोही कारण युवाहरूले बढो सानसँग बोल्ने हामी नेपाली र म नेपाली वाक्य, शब्द निम्छरो भएको छ । ओली प्रम हुँदा विश्वमा भएका नेपालीले छुट्टै गर्व गर्न सकेका थिए । आज नेपालीले शिर झुकाउनु पर्ने ठाउँमा पु¥याईयो, पु¥याईदैछ । नेपाली युवा र नागरिकको मनोवल यति खस्केको छ कि अब कहिले, कसले र कसरी त्यो मनोवल उठाइदेला भन्ने व्यग्र प्रतीक्षा हुँदैछ ।

 

लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र गठबन्धनप्रति नागरिक अविश्वास २०७९ वैशाखमा भएको स्थानीय चुनावले पनि देखायो । गठबन्धन र दलका उम्मेदवारलाई विश्वास नगरी महानगर, नगरमा स्वतन्त्र व्यक्ति रोज्नु र उनीहरुलाई मत हाल्नु दल र व्यवस्थाप्रति निराश मनस्थितिको उपजको प्रष्ट संकेत हो । देउवा यस्ता निकम्मा र कमजोर प्रधानमन्त्री रहेका छन्, सायद इतिहासमा त्यस्तो कोही भएन । अब त्यस्तो पात्र र प्रवृत्तिलाई काँध हालेर हिँडेका प्रचण्डको आफ्नै मुहार पनि खिस्स परेको देखिन्छ । यसको संकेत समाजवादी केन्द्र भन्दै नबज्ने बाजाको दुन्दुभी बजाउँन खोजेकोबाट प्रष्ट हुन्छ । काँग्रेससँग जतिनै नौटंकी गर्दै सीट माग्ने प्रयास गरेपनि उसले प्रचण्डलाई लोप्पा ख्वाउने चाहिं पक्का छ । 


काँग्रेसले वामपन्थीलाई देखाई दिने
काँग्रेसलाई थाम्न नसक्ने देशको भारी बोकाएका प्रचण्ड एण्ड कम्पनी काँग्रेसले सोचेजति मत दिएर स्थानीयमा ‘नजिताएपछि’ तर्सिएका छन् । प्रचण्डको कम्पनी अब हुने निर्वाचनमा काँग्रेसलाई एमाले देखाएर तर्साउँदै सिटको वार्गेनिङ गर्न ‘पुङ न पुच्छरको समाजवादी केन्द्र’ बनाउन लागेका छन् । डेट एक्सपायर्ड औषधिले काम नगरेजस्तो नेकपा कार्यकालका ६ भाइ जम्मा भएर ६ कप कफी सुक्र्याएर काँग्रेससँग बढी सिटको लागि नाटक गर्दैछन् । यद्यपि रूख चढ्न सघाएको बाँदरले आफू हाँगामा पुगेपछि अर्काेलाई माथि चढ्न पुच्छर नदिए जस्तै काँग्रेस स्थानीय निर्वाचनबाट थोरै उक्से पनि वामपन्थी भनिएकाहरूलाई पाइन देखाई दिने प्रष्ट संकेत दिएको छ । 


एमाले र काँग्र्रेससँग मोलतोल
आफू एक्लै चिर्वाचनमा उठे धोती खुस्किने पक्का भएका तोरीलाउरेहरूले एमाले र काँग्रेससँग एकैपटक सिटको लागि मोलतोल गर्दैछन् । सोही कारण चियागफ गरी कम्युनिष्ट एकता र समाजवादी केन्द्रको गीत गाउँदैछन् । चौतारामा गँजडी भेला भएर गफ गरेजस्तो गर्दै ६ भाइको भेला भन्दै वामपन्थी एकताको नबझ्ने बाँसुरी फु...फु गर्दैछन् । उनीहरूद्वारा रचिएको नाटक सिटको लागि काँग्रेस र एमालेसँग एकैपटक मोलतोल हो भन्ने प्रष्टै देखियो । अब सिधै एमालेसँग वार्ता, एकता, गठबन्धन भन्न उनीहरूलाई आफ्नै कर्म र विगतले दिएन, दिँदैन । यसर्थ डाँडामा बसेर दमाहा बजाएर वनको भालूलाई तर्साउन खोजेजस्तो गरी समाजवादी केन्द्र बनाउने भन्दै युट्युबरलाई विजनेश दिँदैछन् । नेपाल, नेपाली राष्ट्रिय एकता र जनताको वृहत् हितको मुद्दामा मौन बस्नेहरू सीट खानका लागि एकाएक मुख मिठ्याएर समाजवादी केन्द्रको विनासंगीतको गीतमा रमाएर बेतालमा नाँच्दैछन् । 


एमालेको दृष्टि
यत्रो धोका र राजनीतिक वेइमानी गरेका कुलङ्गार हुर्दुङ्गाहरूलाई फेरि वामपन्थी भन्दै पार्टी एकता र गठवन्धन भन्दै रातो कार्पेट ओच्छाउनुको तुक छैन  । विगतको गल्ती स्वीकार गरी नेपाली जनतासँग क्षमा माग्दछन् भनेचाहिं वार्ता, सम्वाद र छलफलबाट अघि बढ्न सकिनेनै हुन्छ । अर्काेतर्फ विगतको गल्तीबाट पाठ सिक्दै एमालेमा आएर पार्टी विधान, पद्धति र नीति अनुसार अघि बढ्न चाहनेहरूलाई भने विनासंकोच पार्टीमा भित्र्याउनै पर्दछ ।

 

कुहिएका समूहसँग विना राजनीतिक आधार र स्थितिको निर्माण नगरी गठबन्धन गर्नुभन्दा सग्लो र चम्किलो जनविश्वास भएको एमाले चुनावमा जाँदा केही फरक पर्दैन । एउटा निर्वाचनमा केही सिट कम भएपनि राष्ट्रिय छवि उचो हुन्छ भने एक्लै हिड्दा पनि नहुनेचाहिं होइन । गाँठी कुरो चाहिं विगतमा नेकपा निर्माण गर्दा भएको जस्तो हतारोको एकता फुर्सदको पछुताउ गर्नुभन्दा एक्लै भएको राम्रो हो । तर, फेरि प्रधानमन्त्री देउवा र काँग्रेसले गरेको राष्ट्रघातलाई सजाय दिन भने जनतामा विश्वास गर्ने शक्तिहरू एकीकृत हुनुपर्ने अवस्था पनि आएको छ ।
 

प्रतिकृया दिनुहोस