• बिहीबार-चैत-१५-२०८०

बेनीमा दुई सय ५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन

गलेश्वर। म्याग्दी सदरमुकाम बेनीमा दुई सय ५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन गरिँदै आएको छ । मङ्गलबार नागपञ्चमीको दिनदेखि बेनीमा सो मखौटो लगाएर लाखे नाच देखाउन थालिएको छ ।

 

 करिब तीनसय वर्ष अघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै नेवार संस्कृति भित्रिएको हो । लाखे नाच नेवार संस्कृतिको धरोहर हो । यसरी भित्रिएको नेवार संस्कृतिमध्ये वर्षे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ ।

 

 घण्टाकर्ण चतुर्दशीका दिन परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको भनिएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतिमालाई म्याग्दी नदी र कालीगण्डकीको दोभानमा लगेर विसर्जन गरिएपछि बेनीमा वर्षे नाच भएको हो । पति वियोगमा विक्षिप्त बनेकी घण्टाकर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिन्छ । ठूलाठूला आँखा भएकी, दाह्रा निस्केकी, जगल्टा फिँजाएकी देख्दै डरलाग्दी घण्टाकर्णकी श्रीमतीलाई लाखेको सङ्ज्ञा दिएर प्रदर्शन गरिने यो बेनीको प्रसिद्ध नाच हो ।

 

 बेनीका नेवार समुदायले लाखे बन्ने व्यक्ति समय समयमा परिवर्तन गरिरहन्छन् तर, लाखे बन्न लगाइने मुखौटो भने दुई  सय ५० वर्षअघिकै प्रयोग गर्दै आएका छन् । “समय र प्रविधिसँगै नेवार समुदायको संस्कृतिमा उतारचढाव र परिवर्तन आएको छ । कैयौँ पुस्ता बिते । अनेकौँ मौलिक संस्कृति लोप भए तर लाखे नाचका लागि प्रयोग गरिने मुखौटो (मुकुण्डो) परिवर्तन गरिएको छैन । नौ पुस्तादेखि एउटै मुकुण्डो प्रयोग हुँदै आएको छ”, नेवार समुदायका अगुवा सुविन श्रेष्ठले भन्नुभयो ।

 

लाखे नाचमा अन्य गतिविधिभन्दा पनि मुखौटो विशेष आकर्षणको केन्द्र हुने गर्छ । बेनी बजारमा मानव बस्तीको विस्तारसँगै नेवार समुदायले पनि हरेक वर्ष लाखे नाच देखाउँदै आएका छन् । पहिलो पुस्ताले ल्याएको मुखौटोलाई अहिलेका नवौँ पुस्ताका सदस्यले प्रयोग गर्दै आएका छन् । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठ बेनीका नेवार समुदायसँग रहेको मुखौटो नेपालभरिका नेवार समुदायको भन्दा विशेष आकर्षक रहेको र यसको चर्चा सर्वत्र हुने गरेको बताउनुहुन्छ ।

 

बेनीमा लाखे नाच, गोरु नाच, रोपाइँ नाच, जोगी नाच, नागनागिनी नाच, श्रीकृष्ण रथयात्रासहित विविध नाच देखाइने गरिन्छ । जनशक्तिको अभाव हुन थालेपछि हनुमान नाच र रोपाइँ नाच भने लोप हुने अवस्थामा छ । पहिले तोरीको तेलले सफा गरिने मुखौटोलाई आकर्षक देखाउन अहिले इनामेल प्रयोग गर्ने गरिएको ल्यामपुचका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । बर्खे नाचको सुरुआत लाखेको पतिअर्थात् घण्टाकर्ण नामक राक्षसको पुत्ला दहन गरेर हुन्छ भने तीजको साँझमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णरुपी शक्तिले बध गरेपछि यो नाचको अन्त्य गरिन्छ ।

प्रतिकृया दिनुहोस