• शुक्रबार-बैशाख-१४-२०८१

नागपोखरीमा मेला, दूधले अभिषेक गरी पूजा

 

भक्तपुर । भक्तपुरको नागपोखरीमा नागको पूजा गरी दूधले अभिषेक गरिएको छ । प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन यहाँ मेला लाग्दै आएकामा दुई वर्ष कोरोना सङ्क्रमणका कारण रोकिएको थियो । यस वर्ष आज भक्तपुरको नागपोखरीको बीचमा रहेको नागको मूर्तिमा दूधले अभिषेक गरी भव्यरुपमा पूजा गरेर स्थानीयवासीले मेला भरेका छन् ।
    


त्यसैगरी भक्तपुरको वासुकी नागमा पनि मेला लागेको छ । स्थानीयवासीले दूध, दही, अक्षता, फूल, दुबोले पूजा गरी मेला भरेका हुन्छन् । कोरोना सङ्क्रमणका कारण दुई वर्ष रोकिएको नाग पञ्चमीको मेला भने यस वर्ष भव्य रुपमा मनाइएको हो । 

 

    त्यसैगरी भक्तपुरको चाँगुनारायण मन्दिरमा आज बिहानदेखि स्थानीय र भक्तजनको मेला लागेको छ । चाँगुनारायण मन्दिर आसपासका बासिन्दाले चाँगुनारायण मन्दिर पुगेर पूजा एवं दर्शन गरेपछि मात्रै आफ्नो घरमा नाग टाँस्ने चलन रहेको छ । बिहानैदेखि भीड लागेको यस मन्दिरमा आजै मध्यपुरथिमिबाट गएको गुँला बाजाले मन्दिर प्रदक्षिणासमेत गरेको छ ।

 
    
आज प्रत्येक घरको मूल ढोकामा नागको तस्बिर टाँसेर नाग पूजा गरिएको छ । यसरी घरको मूल ढोकामा नागको तस्बिर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवले दुःख नदिने, प्रसन्न हुने र वर्षभरि विषालु जीव, आगो र चट्याङको भय नहुने विश्वास रहँदै आएको छ ।

प्रतिकृया दिनुहोस