काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतका धार्मिक नेता दलाई लामाको ८७ ओैं जन्मोत्सवमा नेपालस्थित अमेरिकी राजदूतावासका नियोग उपप्रमुख (डिसिएम) म्यानुएल पी. मिक्कलर उपस्थित भएर स्वतन्त्र तिब्बतको चलखेलमा तिब्बतियन शरणार्थीहरूलाई प्रोत्साहन प्रदान गरेका छन ।
दलाई लामाले तिब्बतलाई स्वतन्त्र राष्ट्र हुनुपर्ने माग गर्दै आएका छन । दलाई लामाको २०७९ असार २२ गते अर्थात जुलाई ६ तारिखमा ८७ ओैं जन्म दिन थियो । त्यो अवसरमा काठमाडौं उपत्यकामा रहेका तिब्बतियन शरणार्थीहरूले ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं १३ को एकान्तकुनामा रहेको तिब्बतियन शरणार्थी क्याम्पमा विहान ८ः३५ बजे जन्म दिन कार्यक्रम आयोजना गरेका थिए । सो जन्मोत्सव कार्यक्रममा अमेरिकन राजदूतावासका डि.सि.एम ६१ सिडि ३ नम्बरको सवारी साधनमा प्रयोग गरि सहभागी भएका थिए । त्यसैगरि त्यहाँ युरोपियन युनियनका राजदूत नोना डेप्रेज (Nona Deprez) ७२ सिडि १ नम्बरको सवारी साधनमा, जापानी दुतावासका सेक्रेटरी योसिनो योमीको २७ सिडि १ को सवारी साधन चढेर पुगेको सुरक्षा स्रोतले बताएको छ ।
सो कार्यक्रममा विदेशी नियोगका कुटनैतिज्ञहरूले दलाई लामाको फोटोमा खादा लगाई उनको दीर्घजीवनको कामना गरेका थिए । तिब्बतियन स्वतन्त्रता(फ्री तिब्बत)को झण्डा मुनि बसेर स्वतन्त्र तिब्बतको गीत गाउँदै त्यहाँ बसेर प्रसाद र केक खाएका थिए । कार्यक्रममा सहभागी विदेशी कुटनीतिज्ञहरूलाई तिब्वतियन शरणार्थी क्याम्प जाउलाखेलका क्याम्प प्रमुख टाँसी छेतेन, तिब्बतियन शरणार्थी वेल फेयर अफिस लाजिम्पाट (गार्डेन खान्सार)का प्रमुख छुल्ट्रिम ग्याल्सोलगायतले स्वागत गर्दै मञ्चमा लगेर बसाएका थिए ।
जन्मोत्सव कार्यक्रममा विशेष पुजा तथा तिब्बतियन सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । करिव ६ सय भन्दा बढी तिब्बतियन शरणार्थी सहभागी भएको कार्यक्रममा अमेरिका, युरोपियन युनियन, जापान जस्ता अमेरिकी लबिका देशका कुटनैतिकहरू उपस्थित भएर मित्र राष्ट्र चीनविरूद्व एक भएको सन्देश दिएका छन । यसपालि बेलायत र फ्रान्सका कुटनीतिज्ञ भने सो कार्यक्रममा सहभागी नभएको स्रोत बताउछ ।
यसैगरि दलाई लामाको जन्म दिनमा काठमाडौं बौद्धस्थित साम्देलिन गुम्बामा ठुलो केक काटी जन्म दिन मनाइएको थियो । सो दिन बौद्व क्षेत्रको तिब्बतियन शरणार्थी बसोवास गर्ने पुरानो कार्पेट अर्थात डेक्की खान्सार, सोङ्चोन भृकुटी मा. वि., जोरपाटीको खम्पा क्याम्प, छुप्साङ गुम्बा, शेर्कार गुम्बा, कपनको आनि गुम्बा, कपन गुम्बा, स्वयम्भुका गुम्बाहरूमा पनि दलाई लामाको जन्मदिन धुमधामसँगै मनाइएको तिब्बतियन शरणार्थी स्रोतले बताएको छ ।
एमसीसी संसदबाट पारित भएपछि चीनविरूद्ध नेपाल भुमिबाट अमेरिकी कुटनैतिकहरूको आवतजावतसँगै दृश्य÷अदृश्य रूपमा चलखेल बढेको छ । यस बीचमा अमेरिकाका विदेश उपमन्त्री उर्जा जिया, अमेरिकन इण्डोप्यासिफिक कमाण्डका कमाण्डर नेपाल आएर फर्किएका छन् । त्यस अघि अमेरिकी संसद सिनेटका पाँच जना सदस्यले नेपालको भ्रमण गरि तिब्बतियन शरणार्थीहरूको मानव अधिकार र साँस्कृतिक अधिकारका बारेमा विशेष चासो राखेका थिए ।
हालै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकाको भ्रमण गरि अमेरिकी सैनिक हेडक्वाटरमा द्विपक्षीय हितका विषयमा कुराकानी गरेका छन । नेपालमा अमेरिकी चासो बढेसँगै चीन सशंकित भएको कुटनीतिक स्रोत बताउछ । नेपालमा प्रशारण लाइन र सडक निर्माण गर्ने बहानामा छिरेको अमेरिकाले नेपालसँग सैन्य गठबन्धन गर्ने पो हो कि भन्ने आशंका बढेको छ ।
कुटनीतिक मर्यादा उल्लंघन गर्दै नेपाल सरकार र स्थानीय प्रशासनको अनुमति विना तिब्बतियन शरणार्थी क्याम्प जाने र शरणार्थी नेताहरूलाई भेटेर गुप्त र शंकास्पद गतिविधि गर्ने अमेरिकी र युरोपियन कुटनीतिज्ञहरूको गतिविधिले अनेकौं आशंका जन्माउदै आएको छ । नेपालमा रहेका रोहिग्यालगायत अन्य मुलुकका शरणार्थीहरूप्रति कुनै वास्ता नगर्ने अमेरिकाले तिब्बतियन शरणार्थीहरूलाई मानवीय सहयोग पु¥याउने भन्दै विभिन्न आर्थिक र भौतिक सहयोग दिंदै आएको छ ।
नेपालमा सरकारी रेकर्ड अनुसार, १४ हजार तिब्बतियन शरणार्थीहरू रहेका छन । यस बाहेका दर्ता नभएका पाँच हजार शरणार्थीहरूलाई शरणार्थी परिचयपत्र दिन, नेपाल भारत आवतजावतमा सहजिकरण गर्न, उनीहरूको मानव अधिकार, साँस्कृतिक अधिकार, शिक्षा, स्वास्थ्य, बैंक खाता खोल्न सहजिकरण गर्न अमेरिकाले नेपाल सरकारलाई दबाब दिंदै आएको गृह मन्त्रालय स्रोत बताउछ ।
प्रतिकृया दिनुहोस