• शुक्रबार-बैशाख-१४-२०८१

पौडेलको सोकेसको ऐनाभित्र के छ ? 

 

पातलिदैँ गएको निबन्ध लेखनको यात्रामा एउटा कृति थपिएको छ, ‘सोकेसको ऐना’ । बोधराज पौडेलले लेखेको यो कृतिमा ३२ वटा मझौला खाले निबन्ध संग्रहित रहेका छन् । समाजको भोगाइ र प्रकृतिमा भेटिएको माटोको सुगन्ध बोकेर आएको यो निबन्ध सङ्ग्रहको शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच वरिष्ठ निबन्धकार, साहित्यकार तथा सम्पादक श्रीओम श्रेष्ठ, वरिष्ठ कवि एवम् समालोचक डा. भागवत आचार्य, यस कृतिका स्रस्टा बोधराज पौडेल, साहित्यकार होमशंकर बास्तोला, लेखक तथा पत्रकार दामोदर न्यौपाने, कवि कल्पना काफ्ले, साहित्यकार श्रीराम राई लगायतले संयुक्त रूपमा विमोचन गरेका थिए । 


पछिल्लो पुस्ताले लेख्न रुचाएको कविता र गजलको विद्या मौलाइरहेको छ । तर, लक्ष्मीप्रसाद देवकोटाले सुरु गरेको आत्मपरक निबन्धको अवस्था भने कम लेखिन थालेको छ । यदाकदा लेखिए पनि ओझेलमा पर्दै गएको आभास भइरहेको समयमा आएको यो निबन्धले पक्कै आशा जगाएको छ । 


यस निबन्धको विमोचन कार्यक्रममा वरिष्ठ निबन्धकार एवम् साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले भने – निबन्ध लेखकले आफ्नो बाटो आफैँ बनाउने काम गर्छ । ऊ अरुले हिँडेको बाटोमा हिँड्न रुचाउँदैन । अरु विधा लेख्ने साहित्यकार र निबन्ध लेख्ने लेखकबिचको फरक यही हो ।’ निबन्धले आफ्नो बाटो हिँड्दा आफुलाई अडिन सक्ने खुड्किलो मजाले बनाएर अगि बढ्छ । त्यो नै निबन्धको स्वाद र आधार बताएको बताए । 


देवकोटा, शंकर लामीछाने, श्याम प्रसाद शर्मा, ताना शर्मा जस्ता विशिष्ट प्रतिभा भएका निबन्धकारले देखाएको निबन्ध लेखनको बाटो एउटा आधार हो । तर, त्यही बाटोमा हिँडेर अगाडि जान सकिदैन । यदि त्यहीबाट अगाडि बढ्ने हो भने आफ्नोपन हराएर जसको अभिप्रेरणा हो त्यही अनुसरण भएर जान्छ । तसर्थ निबन्धमा आफैँ डिँड्नु पर्छ । त्यो हिँड्नका लागि बाटोको आवश्यक हुन्छ । जुन निबन्धकारले आफैँ खन्नु पर्छ श्रेष्ठ यस्तै छ । 


चातुर्यपूर्ण तरिकाले लेखिएका निबन्धको वाक्यांश छोटा र भावपूर्ण छन् । यो कृतिका निबन्धले एउटा नयाँ विकासको आधार बनाएर अगाडि बढेका छन् । एक वाक्यमा भन्ने हो भने शब्दको प्राण प्रतिष्ठा गरिएको श्रेष्ठको ठम्याइ रहेको छ । गाउँबाट हुर्किएर सहरमा खारिएका पौडेलले निबन्ध लेखनको यात्रामा यो पहिलो कृति भएपनि ओजपूर्ण लेखन रहेका कारण सबैको मन तान्ने श्रेष्ठको भनाइ  छ । 

No description available.
निबन्ध र लघुकथाको क्षेत्रमा आफ्नो परिचय स्थापित लेखकले एउटा नयाँ सर्जकको कृतिमाथि लोभलाग्दो र विमोचनमा बधाइ दिने चलन छ, तर यो कृतिका लागि बधाइभन्दा आफुलाई ढाट्नु नपर्ने बताए । एउटा नयाँ लेखकका लागि यो पे्ररणा हो । ऊर्जाले आन्तरिक शक्तिलाई बलियो बनाउँछ । यसमा जिम्मेवारी बोध छ । यो हौसलाको हालेमालोमा यात्रा गर्नुको आनन्द छुट्टै हुन्छ । लेखकले कमाएको सम्पत्ती पनि यही हो । आत्मियता र सुझावले नै नमाझिएको ठाउँलाई टल्काउनमा सहयोग गर्छ । 


क्षितिजमा देखिएको विषय र भोगिएको अनुभव फरक कुरा हुन् । किताबमा देखिएको चित्रको रुखले एउटा पर्यावरणको संकेत गर्छ तर त्यो संकेतले प्रकृतिले दिने आनन्द दिँदैन । जुन आनन्द लिनका लागि हामीले रुखैरुखको जंगलको भ्रमण गर्नुपर्छ । त्यहाँबाट सुरु हुन्छ वास्तविक आनन्द । यो अनुभूतिको एउटा श्रृङ्खला हो । 
यस कृतिमा समाहित भएका निबन्धले हाम्रा अग्रजको अनुभवलाई सचित्र गरेको छ । ती आगोमा तताएर रापिलो पार्दै हम्मरको सहायताले आकारवद्ध बनाएर आएका विचार हुन् । हिमालको सौन्दर्य र समुन्द्रको सफाइले यिनै कुराको संकेत गर्छ प्रेम राई ‘परीक्षित’ को विचार छ । कौलुहलताको वातावरण बनाएर चौतन्यको गहिराई खोज्नु पौडेलका निबन्धको विशेषता भएको होमशंकर बास्तोला बताउँछन् । 


 विष्णुप्रसाद पौड्यालको विचारमा निबन्धले पूरा समाजलाई बोकेर हिँडेको छ । हिँडाइको क्रममा चौतारा, कुवा र सजिलो बाटोको निर्माण गरेर आफ्नो विश्रामस्थल र प्यास मेटाउने साहस गर्न शक्ति सन्तुलन गर्नुपर्छ । त्यो बग्दै गरेको नदीले पहराको संघर्ष खेपेर पनि आफ्नो लक्ष्यमा नपुगी विश्राम नलिए जस्तै हो । जीवनको निरन्तरता पनि यही हो ।  पत्रकार तथा लेखक दामोदर न्यौपाने एउटा राम्रो कविले निबन्धमा पस्किएको विषय साँच्चै प्रशंसायोग्य रहेको अनुभव साटेका थिए ।

 

निबन्धमा कतै चित्र नराखेको भएपनि चित्रैचित्र देखिएको भाव प्रकट भएको उनको अनुभव छ । कवि कल्पना काफ्लेले निबन्धमा आएका विषय हामीले देखेका, भोगेका तर अनुभव गर्न बाँकी रहेको अभिव्यक्ति दिइन । आफूलाई नढाँटी भन्ने हो भने निबन्धले चिन्तनको गहिराइमा लगेर यसरी मथ्ने काम गरेकाछन् कि जहाँबाट घ्यूँ निस्किएर सुख्खा रहेको अन्तर कुनालाई पुरा चिल्लो बनाइ दिन्छ र अघिसम्म दही मथ्नका लागि लागेको सम्पूर्ण श्रमलाई बिर्साउँछ ।


साहित्यकार एवम् पत्रकार श्रीराम राईले नेपाली निबन्धमा नयाँ आयाम र उत्साह जगाउन यो कृतिले योगदान गर्नेमा आफू विश्वस्त रहेको बताए । आफूले पौडेलका निबन्ध विगत पन्ध्र वर्षदेखि पढ्दै आएको र उनका लोभलाग्दा निबन्ध पढेर यस्तै निबन्धको सिर्जना गरौँ भन्ने भाव आफ्नो अन्तस्करणमा पलाएको अनुभव सुनाए । यो प्रयास आफ्ना लागि बेकार भएको सुनाए । 


कार्यक्रमको अध्यक्षता ग्रहण गर्ने वरिष्ठ साहित्यकार, समालोचक तथा सम्पादक डा. भागवत आचार्यले कुनै सूत्रमा नबाँधिएको स्वतन्त्र विधा भएपनि निबन्ध लेखनको काम सहज नभएको बताए । यो साहस देखाउने हिम्मत थोरैमात्र लेखकले गर्छन् ।


  ‘सोकेसको ऐना’ कृतिमा वरिष्ठ निबन्धकार युवराज नयाँघरेले भूमिका लेखेकाछन् । यसको डिजाइन सन्तोष कुमार दाहाले गरेका हुन् भने यो कृतिलाई बिएन पुस्तक संसारले प्रकाशन गरेको हो । 
 

प्रतिकृया दिनुहोस