• मंगलबार-बैशाख-११-२०८१

उदयपुरको कटारीस्थित सोरङछबिसे मतदान केन्द्रमा गोली चल्यो, एकको मृत्यु, एक घाइते, सेनाको घेरामा घटनास्थल

 


उदयपुर, ३० वैशाख (रासस) : आज बेलुकी निर्वाचन सम्पन्न भएपछि उदयपुर जिल्लाको कटारी नगरपालिका–१० स्थित सोरुङछबिसेको कालिका मावि मतदान केन्द्रमा दुई पक्षबीच दोहोरो झडप हुँदा नियन्त्रण गर्न प्रहरीले हवाई फायर गर्दा एकको घटनास्थलमानै मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

 

    उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बेलुकी मतदान सम्पन्न भएपछि कालिका मतदान केन्द्रमा मतपेटिकाहरु राजनीतिक दलहरुको सर्वदलीय बैठक बसेर सिल गरेपछि दोहोरो विवाद भएको थियो ।

 

दोहोरो विवादका क्रममा झडप हुँदा प्रहरीले नियन्त्रण गर्न चार राउन्ड हवाई फायर गरेको र सो क्रममा कटारी–१० का स्थानीय १९ वर्षीय नवीन कटुवाललाई गोली लाग्दा कटुवालको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का स्थानीय १४ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् ।

 

    प्रमुख जिल्ला अधिकारी यादवका अनुसार के कारणले दोहोरो झडप भएको हो र प्रहरीले हवाई फायर गर्नुपरेको भन्ने विषयमा अझै सूचना प्राप्त भइनसकेको बताउनुभयो ।

 

अहिले सो स्थानमा नेपाली सेनाको टोली पुगेर शान्ति स्थापनाका लागि घटनास्थललाई घेरा हालेको छ । घाइतेलाई उपचारका लागि सेनाको हेलिकप्टरबाट अन्यत्र लाने तयारीसमेत भइरहेको प्रजिअ यादवले बताउनुभयो ।


घटनाका बारेमा अझै सबै कुरा आइनसकेका कारण आफूहरुले पनि अनुसन्धान गरिरहेको प्रजिअ यादवले बताउनुभयो । घटनास्थल कटारी बजारदेखि १० कोस उत्तर पश्चिमी पहाडी क्षेत्रमा रहेको पनि प्रजिअ यादवले बताउनुभयो ।
–––

 

प्रतिकृया दिनुहोस