• बिहीबार-बैशाख-१३-२०८१

मेलम्चीको पानी अझै अनिश्चित 

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा दोश्रो पटक खसालेको पानी वर्षायाम अर्थात् मनसुन सुरु हुनासाथ अवरुद्ध हुने आंकलन गरिदैछ । सरकारले २०७९ वैशाख ११ गते काठमाडौंमा दोश्रो पटक मेलम्चीको पानी खसालेको थियो । मेलम्ची खानेपानी आयोजना कार्यालयले सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी अस्थायी बाँधका भरमा सुरुङमा पानी पठाएकोले वर्षायाममा बढी जोखिम हुने स्रोत बताउछ । सुरुङमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै ठूलो वर्षा हुनासाथ सुरुङ बन्द गरिने भएकोले काठमाडौंमा ल्यायाइको पानी पुनः अवरुद्ध हुने आयोजना स्रोतले जानकारी दिएको छ । लगातार वर्षात हुनासाथ सुरुङको ढोका बन्द गरिने स्रोत बताउँछ । जसका कारण काठमाडौंबासी जनताले मेलम्चीको पानी निरन्तर प्राप्त गर्न फेरि अर्को प्रतिक्षा गर्नुपर्ने भएको छ । 


मेलम्चीको तटीय क्षेत्रमा अझैं पहिरोको जोखिम कायमै रहेको र वर्षात हुनासाथ माथिबाट लेदोसहितको बाढी आउने जोखिम कायम रहेकोले पनि सोचे अनुरुप काठमाडौंवासीले मेलम्चीको पानी धित् मर्ने गरी पिउन अझै केही समय कुर्नुपर्ने भएको  छ । २०७८ असार १ गते आएको बाढीले आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनाएको थियो । खानेपानी मन्त्री उमाकान्त चौधरीको निर्देशनमा हताहतार मुहान सफा गरेर अहिले हतारमा मेलम्चीको पानी सुरुङभित्र सोझै हालिएको छ । बालुवा थिग्र्याउन बनाएको संरचना बाढीले क्षतिग्रस्त बनाएकोले पनि बाढी आएको समयमा सुरुङ बन्द गर्नुपर्ने बाध्यता परेको हो । यदि सुरुङ खुल्ला राख्ने हो भने वर्षात्को गेग्रान र बालुवा भरिएर सुरुङ बन्द हुने अवस्था आउनसक्ने आयोजना स्रोतले बताएको छ । 


 कमिशन कुम्ल्याउन र प्रचारको लागि मन्त्री चौधरीले दिगो संरचना बनाउन भन्दा पनि हतारिएर पानी काठमाडौंमा ल्याउन खोज्दा बलियो संरचना निर्माण विना नै सुरुङमा पानी पठाएको कारण वर्षातमा थप समस्या आउने देखिएको हो । हतारमा अस्थायी संरचना बनाउनु भन्दा केही समय ढिला गरी बलियो संरचना बनाएर सुरुङमा पानी पठाउन प्राविधिकहरुले सल्लाह दिएको भएपनि मन्त्री चौधरीको अटेरीपनका कारण त्यस्तो गर्नुपरेको बताइएको छ । २०७८ चैतको अन्तिम हप्तासम्म जसरी पनि अवरुद्ध मुहान सफा गरेर पानी काठमाडौंमा ल्याउनै पर्ने मन्त्री चौधरीको लिंडेढिपीका कारण चाइनिज ठेकेदार कम्पनी दवावमा परेको छ । जसका कारण वर्षात सुरु हुनासाथ काठमाडौंमा मेलम्चीको पानी आउन बन्द हुनेछ । पहिला पनि संरचना पूर्णरुपमा तयार नभइ टनेलमा पानी भर्ने हतारोका कारण दुर्घटना भएको थियो । जसका कारण अहिलेसम्म काकाकुल काठमाडौंले तिर्खा मेट्न सकेन ।


 मेलम्ची खानेपानी आयोजना स्रोत भने बाढीको तह जाँच गर्ने प्रविधि जडान गरिएकोले पनि हल्ला गरिए झै गरी मेलम्चीको पानी अवरुद्ध नहुने बताउँछ । उक्त प्रबिधिले नदीमा पानीको सतह नाप गरेर खतराको तह पार गरेपछि मात्र सुरुङका पानी पठाउन बन्द गरिने स्रोतले बताएको छ । अहिलेको अवस्थामा प्रविधिमा भर गर्न सकिने अवस्था नरहेको  स्रोतले स्वीकार गरेको छ । सुरुङलाई जुनसुकै उपाय लगाएर भएपनि सुरक्षित राख्ने गरी आयोजनाले उपाय अवलम्वन गरिरहेको बताइएको छ । सकेसम्म सुरुङमा बाढीले असर पर्न नदिने गरी उपाय लगाउने तयारी भइरहेको स्रोतले बतायो । 


मनसुन सुरु भएसँगै सुरुङको ढोका बन्द गर्ने र वर्षा कमजोर भएपछि दशैं तिहार लगत्तै सुरुङ पुन संचालन गर्ने तयारीमा मन्त्रालय र आयोजना लागेको समाचार स्रोतले दावी गरेको छ । त्यसो गर्दा वर्षमा कम्तीमा ८ महिना मात्र काठमाडौंवासी जनतालाई पानी खुवाउन सकिने निष्कर्षमा मन्त्रालय पुगेको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा निर्मित आयोजना निमार्णस्थललाई दिगो बनाउने गरी प्राविधिक टोलीले अध्ययन गरिरहेको छ । प्रतिवेदन तयार गरी लागू भएर संरचना दिगो नबनेसम्म हरेक वर्ष मेलम्चीको मुहान र सुरुङको हालत यस्तै रहिरहने निश्चित छ । (साँघु साप्ताहिक, वैशाख २६)

प्रतिकृया दिनुहोस