• बुधबार-बैशाख-५-२०८१

सन्जु आत्महत्या प्रकरण: भारोत्तोलन खेल क्षेत्रलाई अपूरणीय क्षति

 

काठमाडौं । सोमबार एकाबिहानै खेलकुद क्षेत्रले ठूलो क्षति बेहोर्नु पर्‍याे । घरेलु मैदानमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की भारोत्तोलन तर्फ स्वर्ण पदक विजेता सन्जु चौधरीले सुतेको कोठामा आत्महत्या गरिन् । 

 

अघिल्लो रात खेलाडी साथी, संघका पदाधिकारी र प्रशिक्षक साथ रमाइलो गर्दै खानपिन गरेकी सन्जु सोमबार बिहानै कोठामा झुन्डिएको अवस्थामा भेटिइन् । जसले नेपाली खेलकुद यतिबेला तरंगित भएको छ । आखिर किन सन्जुले आत्महत्या गरिन् । 

 

उनले राति अबेर फेसबुकमा गरेको ‘मिसिङ यु लभ’ पोष्टले भने केही संकेत गरेको छ, जुन अनुसन्धानले पछि बताउने नै छ ।  सन्जुको घर नेपालगन्ज हो । लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदपछि सन्जुले काठमाडौं बसेर आफ्नो जागिर र खेलकुदलाई अगाडि बढाएकी थिइन् । नेपाल पुलिस क्लबमा आवद्ध सन्जुले यसै वर्षमात्रै जागिरबाट टाढा रहने निर्णय गरेकी थिइन् । 

 

पछिल्लाे समय उनी तत्काललाई स्थगित भएको चीनमा आयोजना हुने १९औं एसियन गेम्सको तयारीमा थिइन् । प्रशिक्षक सञ्जय महर्जनको ललितपुरस्थित लुभुमा रहेको घरमा रहेर प्रशिक्षण गर्दै आएकी थिइन् । प्रशिक्षणसमेत राम्रो भइरहेको सन्जुले प्रतिक्रिया दिँदै आएकी थिइन् । तर अघिल्लो रात मात्रै सँगै खाना खाएकी सन्जुको मृत्युको खवरले भारोत्तोलन संघ मात्रै हैन, पूरा खेलकुद क्षेत्र नै स्तब्ध छ । 

 

‘मैले छनोटपछि हिजो मात्रै भेटेको थिएँ । पौने ९ बजेसम्म सँगै थियौं । केही भएको थिएन । उसैले हामीलाई खाना खुवाएकी हो,’ नेपाल भारोत्तोलन संघको अध्यक्ष राम श्रेष्ठ (बोस) ले न्युज कारखानासँग भने । 

 

श्रेष्ठको संघअन्तर्गत रहेका सन्जुका साथी, खेलाडी, प्रशिक्षकलगायतलाई समेत सोधेका छन् । सन्जु कोठामा झुन्डिएको खवर श्रेष्ठलाई बिहान पौने ६ बजे नै प्रशिक्षक महर्जनले जानकारी गराएका थिए । त्यसलगत्तै महर्जनको घरमा पुगी श्रेष्ठले पुलिसलाई खबर गरेका हुन् । 

 

सन्जु भारोत्तोलन महिलातर्फ स्वर्ण पदक जिताउने ऐतिहासिक खेलाडीसमेत हुन् । उनले १९ वर्षको उमेरमै स्न्याचमा ७४ र क्लीन एन्ड जर्कमा ९७ सहित १७१ भार बहन गर्दै राष्ट्रिय कीर्तिमानसहित महिलातर्फ पहिलो स्वर्ण पदक जित्न सफल भएकी थिईन् । 

 

पोखरामा भएको भारोत्तोलनमा सन्जुले ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पारेकी थिइन् । क्रिकेट र एथ्लेटिक्स हुँदै सन्जु भारोत्तोलनमा प्रवेश गरेकी हुन् । घरेलु प्रतियोगिताको रूपमा सातौं राष्ट्रिय खेलकुद-२०७३  खेलेकी सन्जु गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको तयारीमा समेत थिइन् । 

 

सन्जुले अन्तर्राष्ट्रिय स्तरमा इन्डोनेसियाको राजधानी जाकर्तामा भएको १८औं एसियन गेम्स खेलेकी थिइन् । जहाँ केही राष्ट्रिय कीर्तिमानसमेत राखेकी थिइन् । यस्तै १३औं सागका साथै उज्वेकिस्तानमा भएको एसियन भारोत्तोलन च्याम्पियनसिपसमेत खेलेकी थिइन् । 

 

आगामी १९औं सागमा समेत भारोत्तोलन संघ र नेपाल सरकारले सन्जुबाट ठूलो आशा गरेको थियो । १९ वर्षमा सागको स्वर्ण पदक जितेर इतिहास कायम गरेकी सन्जुकाे मृत्युले देशलाई अपूरणीय क्षति पुगेको अध्यक्ष श्रेष्ठ बताउँछन् । 

 

‘हामीलाई अपूरणीय क्षति भएको छ । सन्जु भारोत्तोलनमा हाम्राे खम्बा हो । राम्रो खेलाडी हो । हामीले धरै अपेक्षा गरेका थियौै । इतिहास पनि ऊ (सन्जु)सँग थियो,’ उनले भने, ‘१९ वर्षमा स्वर्ण पदक जित्नु यो जत्तिको ठूलो उपलब्धि हुनै सक्दैन । राष्ट्रको लगानी, संघको लगानी र स्वयं खेलाडीको पनि मेहनत थियो । ऊ (सन्जु) सँग सरकार भनौं या राखेप सबैले धेरै आशा गरेको थियो ।’

प्रतिकृया दिनुहोस