• मंगलबार-बैशाख-११-२०८१

पुतलीबजार नगरपालिकामा एमालेले शानदार रुपमा चुनाव जित्छ 

(२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पुतली बजार नगरपालिकाको १४ वटा वडा मध्ये नेकपा एमालेले १० वटा वडासहित मेयर र उपमेयर पदमा जित हासिल गरेको थियो । यही २०७९ बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पनि एमालेले पुरानो  विरासतलाई पुन जोगाउने दावी गरेको छ । पाँच वर्षमा गरेका सेवा प्रवाह, वित्तीय व्यवस्थापन र सुशासन कायम गर्न सकेको भन्दै मुलुककै उत्कृष्ट नगरपालिका घोषणा भएर पुरस्कृतसमेत हुन पुगेको छ । नगरपालिकालाई मुलुककै उत्कृष्ट नमुना बनाएर पुरस्कृत बनाउन भूमिका खेलेकी उनी सफल पात्र मेयर क्षेत्रीलाई नै यस पटक पनि नेकपा एमालेले पुन टिकट दिएर चुनावी मैदानमा उतारेको छ । नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी क्षेत्रीसँग चुनावी गतिबिधिमा केन्द्रित रहेर साँघु प्रतिनिधिले गरेको कुराकानीको मुख्य अंश )


० तपाईं नेकपा एमालेको तर्फबाट मेयर पदको प्रत्यासी हुनुहुन्छ, एमालेको पक्षमा चुनावी माहोल कस्तो बन्दै छ त ?
–स्याङ्जाको पुतलीबजार नगरपालिमामा १४ वटा वडा रहेका छन् । सबै वडामा चुनाव प्रचार प्रसार अभियान तीब्र रुपमा चलिरहेको छ । चुनावी माहोल एमालेको पक्षमा राम्रो हँुदै गइरहेको छ । २०७४ सालमा भएको स्थानीय तहको चुनावमा मैले यस नगरपालिकामा चुनाव जितेर जनप्रतिनिधि बनेर पहिलो कार्यकाल मेयरको भूमिका निर्वाह गरिसकेकी छु । अहिले नगरवासीसँग चुनाव केन्द्रित भएर भेटघाट र छलफल चलिरहेको छ । एक कार्यकाल मेयरको रुपमा काम गरी सकेको अनुभवका आधारमा पनि धेरै नगरवासीले मलाई विश्वास गर्नुभएको छ । पुन मेरो जिम्मेवारीको आवश्यकता महसुस हुनु र मेरो पार्टी नेकपा एमालेले मलाई पुन मेयर पदमा टिकट दिनु मेरो लागि खुसीको कुरा हो । चुनावको माहोल  एमालेको पक्षमा छ भन्ने कुरा स्पष्टसँग देखिएको छ । 


० नगरपालिकाको १४ वटै वडाहरुमा एमालेको अवस्था कस्तो छ ?
–हामी निर्वाचित भएर आएपछि पाँचवर्षे कार्यकालमा गरेका विकास निर्माण र पूर्वाधारको कामको परिणाम सकारात्मक रहेको छ । ०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले यस नगरपालिकामा रहेका १४ वडा मध्ये १० वटामा विजय हासिल गरेको थियो । बाँकी ४ वडामा मात्र अरु राजनीतिक दलका प्रतिनिधिले चुनाव जितेका थिए । अन्य दलले विजय प्राप्त गरेका वडाहरु ५, ६, १० र ११ रहेका छन् । एमालेले ०७४ मा चुनाव जितेका वडाहरुमा यस पटक पनि सानदार तरिकाले चुनाव जित्छ । जनप्रतिनिधि साथीहरुले गर्नु भएको कामको प्रभावका कारण नै जित संभव देखिएको हो ।  हिजोे पराजय व्यहोरेका वडामा पनि चुनावी वातावरण राम्रो बन्दै गइरहेको छ । नगरवासीको सहयोग र सद्भाव एमालेलाई छ र हुन्छ भन्ने विश्वास हामीले लिएका छौ । समग्रमा हेर्दा नगरपालिकाको सम्पूर्ण वडामा नेकपा एमालेबाट उम्मेदवार भएका प्रतिनिधिहरु विजयी भएर पूरा नगरपालिका एमालेको पोल्टामा जानेछ भन्ने हाम्रो विश्वास रहेको छ । 


० एमालेले सबै वडामा चुनाव जित्छ भन्दै गर्दा तपाईंहरुको जित्ने आधार चाहिँ के हो त ?
–हामीले पाँच वर्षे कार्यकालमा नगरलाई समृद्ध बनाउने लक्ष्यका साथ काम ग¥यौ । मुख्य कामको रुपमा सुशासन, सेवा प्रवाह र वित्तीय व्यवस्थापन सवल बनाउने काम ग¥यौ । हाम्रो अर्को लक्ष्य भनेको भ्रष्टाचार न्युनिकरका साथै निवारण गर्ने नै लक्ष्य हो । त्यस्तै कमिसनविहीन नगरपालिका बनाउने अभियान हामीले चलायौ । हाम्रो यो अभियानले राम्रो परिणाम दियो । नगरवासी पनि यो अभियानबाट सन्तुष्ट भएका छन् । हाम्रो लक्ष्य भनेको सेवा प्रवाह, वित्तीय व्यवस्थापन र सुशासन कायम गर्ने थियो । यी काम राम्रोसँग व्यवस्थापन गरेका कारण उत्कृष्ट नगरको पुरस्कार पनि प्राप्त भयो । भ्रष्टाचार मुक्त नगर बन्योे । 

  यो अभियानले हरेक क्षेत्रमा, हरेक कामको कमिसनको चलखेललाई निवारण ग¥यो । जनतासँग प्रत्यक्ष सरोकार र समन्वयनकारी रुपमा काम गरेको कारणले पनि हामीलाई नगरवासीले विश्वास गरेका छन् ।  हामीले गर्न नसक्ने योजना र कामलाई हामी गर्छौं भन्ने आश्वासन बाँडेका छैनौ । गर्नसक्ने काम मात्र गर्छौं भन्ने प्रतिवद्धताका जनाएका छौं । साथै हिजो पनि यही नारा लिएर हामी नगरवासीका बिचमा गएका हौँ । आज पनि हामी त्यही कुरा गरिरहेका छौं । 


० यो नगरलाई समृद्ध बनाउने योजना तपाईंसँग के छ त ?
–नगरवासीको आँखामा पुतली बजारलाई कस्तो बनाउने भन्ने बारेमा टोलमा समूह बनाएर समस्याको पहिचान गरी छलफल गराएर योजना बनाउने गरेका छौं । यसलाई वडा तह हुँदै नगरसम्म ल्याएर कार्यान्वय गर्ने गरिएको छ । योजना निर्माण गर्दा पनि वडामार्फत टोल विकासमा नै जाने र गर्ने काम भएको छ । हाम्रा लागि सबै नगरवासी समान भएको हुनाले सबैलाई बराबरी फाइदा पुग्ने तरिकाले काम गरेका र्छांै । यहाँ राजनीतिका आधारमा कसैलाई भेदभावको व्यवहार गरिएको छैन । सबै नगरवासी र वडाबासीको आत्मसम्मान हुने किसिमले काम गरेका छौं । यी सबै कारणले गर्दा हामी चुनाव जित्छौं भन्ने हाम्रो विश्वास र आधार यिनै हुन् ।


० नेकपा एमालेमा आएको विभाजन र सरकारमा रहेका पाँच दलीय गठबन्धनको प्रभाव यो नगरमा के कस्तो परेको छ ?
 –पुतलीबजार नगरपालिकामा पाँचदलीय गठबन्धन प्रभावकारी छैन । अर्को कुरा भनेको नेकपा एमाले हिजो भन्दा झन मजवुत भएको छ । यसको कारण के हो भने हिजो माओवादी केन्द्रमा रहेका साथीहरु आज नेकपा एमालेमा हुनुहुन्छ । नेपाली कांग्रेसका केही साथीहरु एमालेमा आउनु भएको छ । एमालेमा भएका थोरै मात्र साथीहरु एकीकृत समाजवादीमा जानु भएको छ । एसमा गएका साथीहरु पनि वेकार गएको भनेर थकथकाइरहनु भएको छ । केही साथीहरु एमाले पार्टीमै फर्केर आउनु भएको छ । पाँच दलीय गठबन्धन कहिँकतै राम्रोसँग प्रतिवद्ध भएको देखिएन । त्यसो हुँदा गठबन्धनले राम्रो नतिजा ल्याउला भन्ने विश्वास नगरवासी मतदातामा कति पनि छैन । यी र यस्ता कारणले गर्दा पनि यो नगरपालिकामा गठबन्धनको कुनै असर पर्ला भन्ने कुरामा हामी थोरै पनि विश्वस्त छैनौ । 


० तपाईं आफैँले पाँच वर्ष पहिला गर्नु भएका चुनावी प्रतिवद्धता के कति पूरा भए त ?
–हामीले सार्वजनिक गरेको घोषणा पत्रको आधारमा गरिएका चुनावी प्रतिवद्धता धेरै पूरा गरेका छौं । केही प्रतिवद्धता बाँकी छन् । यसको कारण के हो भने हामीले विकास र पूर्वाधार निर्माणमा गर्नुपर्ने खर्च कोभिड १९ महामारी रोकथामका लागि बढी खर्च गर्नुप¥यो । नगरवासीको जीवन जोगाउनु विकास भन्दा ठूलो कुरा हो भन्ने ठानेर यो काम ग¥यांै । यदि कोभिड महामारी नआएको हुन्थ्यो भने हामीले चुनावमा गरेका चुनावी प्रतिवद्धता पूरा हुने थिए । महामारीका कारण हाम्रो नगरको वजेट कोभिड रोकथाम र नियन्त्रणमा बढी खर्च गर्नुप¥यो । त्यसकारण पनि नगरका योजनाहरु पूरा गर्न हामीलाई समस्या भयो । यही बाँकी कामका लागि मलाई विश्वास गरेर पार्टीले पुन मेयरका लागि टिकट दिएको हो जस्तो लाग्छ ।

 

हाम्रा नगरवासी जनताले पनि काममा सहयोग गरिरहनु भएको छ । मैले सुशासन कायम गर्दै भ्रष्टाचार न्यूनिकरण गरेका कारण नगरवासीको विश्वास म प्रति रहेको छ । विकास र पूर्वाधारका लागि बसेको जग पूरा गर्नका लागि फेरि मलाई चुनाव जिताउनु पर्छ भनेर नगरवासी लागिरहनु भएको छ । मेरो उत्साहमा झन यो कुराले थप इँटा थप्ने काम गरेको छ । हामीले आफ्ना प्रतिवद्धताको मूल्याङ्कन गरेर अगाडि बढेका कारण पनि हामी निर्वाचन जित्छांै भन्ने अझ कुरा ढुक्कका साथले भन्न सक्छौं ।


० आगामी नयाँ योजना र प्रतिवद्धताहरु के के छन् ?
–०७४ सालमा गरेका प्रतिवद्धता र घोषणा पत्रको जगमा टेकेर अहिलेसम्म काम गरिरहेका छौं ।  अबको हाम्रो योजना भनेको सबै वडा र टोलवासीसँग सरसल्लाह गरेर योजना निर्माण गर्ने पुतली बजारलाई समृद्ध नगरका रुपमा बिकास र रुपान्तरण गर्ने हाम्रो योजना छ । यसमा सबै नगरवासीको साथ सहयोगको अपेक्षा गरेका छौं । यसलाई एउटा नीतिको रुपमा नै विकास गरेर दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना बनाएर काम गर्नेछौं । हामीले गर्ने कामको खाका यिनै समस्याको समाधानका लागि हुने छन् ।

त्यसमा भौतिक पूर्वाधारदेखि आर्थिक विकासका पाटाहरुसमेत समावेस गरिएको छ । स्वास्थ्य, शिक्षाका लागि दीर्घकालीन योजना बनेका छन् । क्षेत्रगत विकासको रुपमा समेटिएका यस्ता योजनालाई अगाडि बढाइरहेका छौं । हामी यसरी नै छलफल र समन्वयनात्मक तरिकाले आगामी दिनमा पनि काम गर्ने छौं । आवश्यकताको आधारमा छलफल र बहस चलाएर योजना संचालन गर्ने हाम्रा आगामी योजना र प्रतिवद्धता  यिनै हुन । 


० निर्वाचन आँगनमा आइसकेको छ , मतदातालाई तपाईंको सन्देश के छ ?
–म एउटा साधारण परिवारकी छोरी हुँ । मैले व्यक्तिगत रुपमा कसैलाई पैसा वा बिभिन्न आश्वासन बाँडेर मेरो पक्षमा पार्न सक्दिन । मैले अहिलेसम्म नगरमा गरेको कामको मूल्याङ्कनको आधारमा मलाई भोट दिएर नगरवासीले पुन जिम्मेवारी दिनुहुन्छ भने स्वीकार गर्नेछु । अन्य पार्टीका मेयर पदका उम्मेद्वारले आमा समूह र स्थानीय क्लबहरुलाई पैसा बाँड्दै यो गर्छौं र ऊ गर्छौं भन्दै घर घरमा पुगेको कुरा सुन्नमा आएको छ । व्यक्तिगत रुपमा पैसा बाँडेर चुनाव जितेको मान्छेले भोलिको दिनमा आज खर्च गरेको पैसा उठाउनका लागि भ्रष्टाचार गर्छ नै । त्यसतर्फ सोच्न म मतदातालाई अनुरोध गर्दछु । जनताका समस्यामा एकाकार हुने कुरा राम्रो मुख्य ध्येय हो । तर चुनावको बेलामा पैसा बाँड्ने प्रवृत्ति खराब हो । यो कुरालाई मध्यनजर गर्दै हामी यी र यस्ता राजनीतिक दल र उम्मेदवारहरुप्रति सजग हुनुपर्छ भन्ने मेरो सुझाव छ ।


० भोट किन्ने प्रवृत्तिको खबरदारी कसरी गर्ने त ? 
–भोट किन्ने प्रवृत्तिलाई खबरदारी गर्दै आफूलाई मन परेको उम्मेदवार र चिन्हमा मतदान गर्न म सबै पुतलीबजार नगरवासीमा अनुरोध गर्दछु । हामीले वडा अध्यक्षहरुलाई भनेका छौं, छोटो समयमा मेयर र उपमेयरका उम्मेदवार घरघरमा पुग्न नसकिन सक्छ । तपाईं वडा अध्यक्षहरु घरघरमा पुग्नुहोस् । जनताका समस्याहरुको जानकारी लिएर ती बिषयलाई डायरीमा नोट गर्नुहोस् । यसरी नगर र वडाबाट संकलन भएको समस्यालाई २०७९ असार १० गते आउने बजेटमा समावेश गरेर संवोधन गरिनेछ । यो सबैको साझा कार्यक्रम पनि हो । आ–आफ्नो स्थानबाट चुनाव जित्नका लागि वातावरण तयार गर्दै योगदान गर्न म सबै पार्टीका नेता, कार्यकर्ताका साथै नगरवासीहरुलाई अनुरोध गर्दछु । 
 

प्रतिकृया दिनुहोस