• बिहीबार-बैशाख-१३-२०८१

चीफसाब, सेनाका पीडित चालकको गुनासो कसले सुन्ने ? : युद्धकवच गणको गेटभित्र छिर्ने जति सबै भाग्यमानी ? 

 

आज म नेपाली सेनामा सुधारमा ध्यान पुग्न नसकेका केही कुराहरुलाई आफूले भोगेको, देखेको र अनुभव गरेको यथार्थ चित्रण साँघु साप्ताहिकमार्फत गर्न अनुमति चाहन्छौं । 
चीफसाब, भनिन्छ बोल्नेको पिठो पनि बिक्छ र नबोल्नेको चामल पनि बिक्दैन । यो बुढापाकाको भनाईलाई यस गौरवान्वित र पवित्र संस्थामा मेल खाँदा आज ज्यादै दुःख अनि निराशा लागेको छ । प्रसंग हो यूएन मिसनको लागि केही पीडितहरुको उदाहरण दिन चाहन्छौं ।

आज यस संस्थामा रगत र पसिना बगाएर संस्था र राष्ट्रको रक्षाको लागि २४ वर्ष व्यतित गर्दाको अनुभवमा यस संस्थामा कुनै व्यक्ति पीडित भएको उदाहरण दिँदै गर्दा हजारौं सैनिकहरुको नेतृत्व तहमा रहनु हुने जर्साब र चीफसाबको थोरै ध्यान नपुग्दा पीडितहरु आफूलाई अभागी महसुस गर्न विवश र बाध्य छन् ।

 

एकजना जमदार यस संस्थाको चालक हुनुको नाताले आफ्नो गणमा रहेको जुनसुकै सवारीलाई दशकौंदेखि अपरेट गर्दै आएका छन् । आज जागिर २४आंै वर्षमा लम्किँदै गर्दाको अवधिसम्म पनि शान्ति सेनामा तेस्रो पटक भाग लिनबाट ठगिन विवश छन् । आफ्नो व्याचीहरु आफूसँगै दोस्रो पटक मिसनमा मात्र लिएकाहरु चौथो पटक मिसन पूरा गरिसकेका छन् । तर, ती जमदार जस्ता हजारौं सैनिकलाई भने मौसमी नियम परिवर्तनले गर्दा शान्ति सेना जानलाई अवरोध सिर्जना भएको देख्दा आज आफैंले आफैंलाई अभागीको बिल्ला भिराउन बाध्य छन् । 


चीफसाब, के नेपाली सेनाको सबै चालक बराबर होइनन् र ? हो भने किन युद्धकवच गणका चालकलाई र अरु इन्फेन्ट्रीका चालकलाई गर्ने नियम र व्यवहार पनि यति धेरै अन्तर । युद्धकवच गणको गेट प्रवेश गर्ने वित्तिकै एउटा चालक ज्यादै भाग्यमानी र अरु गणका चालक अभागी हुनुपर्ने यस्तो नियम, कानून र विकृतिहरुलाई के यस संस्थामा नेतृत्वमा रहनु भएको विभागीय प्रमुख र संस्थाका प्रमुखहरुलाई सोच्ने र छानविन गर्ने फुर्सद नभएर हो वा इच्छामा कमी भएर हो  ।

आज सानो सानो कुरामा विभागीय प्रमुखहरुको ध्यान नजानु भनेको के आफ्नो १०–५ को समयलाई पूरा गर्नु मात्र हो त ? के नेपाली सेनामा कार्यरत सम्पूर्ण चालकलाई बराबर सुविधा र आवश्यक जिम्मेवारी दिनको लागि संस्थाको जिम्मेवार नेतृत्वको भूमिकामा रहेकाहरुको किन ध्यान पुगेन । आज युद्धकवच गणका चालकले एपीसी र एमपीभी दुईवटै तालिमको अवसर पाउने अनि अरु गणका चालकले एउटा तालिम गर्नलाई पनि उमेर बाधक हुनुपर्ने यो कस्तो नियम हो ? 


चीफसाब, हेभी गाडीमा शान्ति सेनामा मात्र भाग लिएर आएका चाकलाई एपीसी र एमपीभी गाडीमा शान्ति सेना जनाबाट बञ्चित गर्नु  के व्यवहारिक र निष्पक्ष छ त ? एउटा भर्खर जन्मेको दुधे बालकलाई पहिला खान खुवाएर ठूलो भएपछि दुध खुवाएजस्तै भएन र हेभी गाडीमा डिउटी पूरा गरी एपीसी र एमपीभी गाडीमा शान्ति सेना जानको लागि एमपीभी तालिम गरेको आज ६, ७ वर्षसम्म पनि दोस्रो पटक हेभी गाडीमा शान्ति सेना गएको चालकलाई एमपीभी तालिम गरी अनुभव र प्रमाणपत्र हुँदा पनि शान्ति सेनाको ट्रायलमा भाग लिन नपाउनु यो कस्तो न्याय हो चीफसाब ?

एमपीसी र एमपीभीमा शान्ति सेना जान पहिला त्यसै गाडीमा शान्ति सेना गएको हुनुपर्ने रे । त्यसो भए एकपटक पनि शान्ति सेनामा भाग नलिएकोलाई पहिला शान्ति सेनामा भाग लिएको अनुभव छैन भने जस्तै भएन र चीफसाब ? 


आजभन्दा ८, १० वर्ष अगाडि एमपीभी तालिममा प्रवेश गर्ने वित्तिकै हेडक्वार्टरबाट शान्ति सेनाको लागि गण, गुल्ममा नाम पठाइन्थ्यो । तर, विडम्बना आज लाइट ड्राइभरमा गएर अर्काे पटक (दोस्रो पटक) हेभीमा शान्ति सेनामा जाने वित्तिकै तेस्रो पटकको लागि एमपीभी तालिममा दक्ष हुँदाहुँदै एमपीभीबाट शान्ति सेना तेस्रो पटक जानबाट बञ्चित गर्नु भनेको बिना प्रतिस्पर्धा अरु चालकलाई ब्रेक गरी युद्धकवच गणका चालकलाई मात्रै ४, ५ पटक प्रतिस्पर्धा बिना शान्ति सेना जाने अवसर दिने पूर्व उपरथी राजेन्द्र कार्कीले आफ्नो कमाण्डिङ गणलाई दिएको एउटा अव्यवहारिक र अस्वभाविक नासोलाई आज किन सम्बन्धित विभागमा रहनु भएका जर्साब र चीफसाबको ध्यान जान सक्दैन ? 


नेपाली सेनामा चालकको शान्ति सेना छनौट गर्दा आज अस्वभाविक रुपमा फ्युल र गाडी तेत्तिकै प्रयोग भएको छ । जसले लाखौं फ्युल खर्च जोगाउन नेतृत्वको ध्यान नपुग्नु ज्यादै दुखदायी पक्ष हो । एउटा चालक हेभी लाइट, एपीभी र एमपीभीमाा शान्ति सेना भाग लिएर आएपछि सो चालकसँग मिसनको समबन्धित गाडीको अनुभव र प्रमाणपत्र (सेफ ड्राइभ) सँगै आफूले प्राप्त गर्दछ । फेरि त्यसै चालकलाई सोही गाडीमा शान्ति सेनामा भाग लिनको लागि ट्रायल या भाग लिन सरिक गराउनु भनेको संस्थाको लाखौं रुपैयाँको तेलको दुरुपयोग होइन र ?

वर्षाैंसम्म शान्ति सेनामा सम्बन्धित गाडीमा अनुभव नभएका चालकलाई ट्रायलमा पहिलो पटक सरिक गराउनु त राम्रो हो । सँधै चालकको डिउटी गरिरहेका ड्राइभर पल्टनको चालकलाई ट्रायल लिइरहनु भनेको आजको यो आकासिएको तेल खरानी पारेर दुरुपयोग गर्नु नै हो, जस्तो लाग्छ । यसमा पक्कै पनि नेतृत्वको ध्यान जरुर पुग्ने नै छ भन्ने आशा राख्दछौं । 

 

चीफसाब, आज कयौं चालकहरुलाई शान्ति सेनाबाट फर्किएपछि आफ्नो सबै शर्त पूरा हुँदा पनि राजीनामा जानबाट संस्थाले २ वर्ष बन्देज लगाएको छ । जसको कारणले आज कयौं चालकहरु डिप्रेसनको शिकार हुन बाध्य छन् । त्यस्ता चालकहरुले मादक पदार्थ सेवन गरी बस्ने र गाडी डिउटीमा लिनलाई सम्बन्धित गण गुल्मका खटनपटनलाई अप्ठ्यारो परेको महसुस भइरहेको छ ।

जसलाई गाडीको चाबी दिएर पठाउँदा राजीनामाको फाइल देखाई गाडी डिउटीमा अभाव भएको महसुस भएको छ । किन सम्बन्धित ड्राइभरले गाडी डिउटी लिनुप¥यो ? होइन भने आफ्नो ठाउँ खाली गरी नयाँ चालकको पदपूर्ति हुनुप¥यो ? फेरि खटनपटनले जबर्जस्ती डिउटीमा ताकेता गर्दा भोलि करोडौंको सरकारी गाडी (सम्पत्ति)को नोक्सान हुँदा संस्थालाई नै घाटा हो । तसर्थ यसमा पनि नेतृत्वको ध्यानाकर्षण अवश्य हुनेमा हामी आशावादी छौं । 


आज संस्थामा रहेको सबै चालक हुन वा अरु सैनिक सबैको आ–आफ्नै विभागमा उत्तिकै महत्व रहेको छ । आज भर्खर जागिर ३ वर्ष भएको डाक्टर र नर्स पनि २, ३ पटक शान्ति सेनामा भाग लिई सक्नु भएको छ ।

यसमा मिसनमा आवश्यक ट्रेडको मध्यनजर गर्दै संस्थाले विभिन्न टे«डहरुलाई आवश्यकताको आधारमा मिसनमा सहभागी हुने मौका प्रदान गरेको छ । यो हामी सबैको लागि खुसीको कुरा हो विभिन्न ट्रेडका प्राविधिक डाक्टर, नर्स, चालक, इन्फेन्ट्री, इन्जीनियर सबैको आफ्नो आफ्नो भूमिका महत्वपूर्ण छ ।

 

सबैलाई आफ्नो कर्तव्य कठिन लाग्नु स्वभाविक पनि हो । हामी सेनाको चालक भएको नताले कयौं रातहरु पानीको भरमा सडकमा बिताएका अनुभव प्रशस्तै छन् । हामी सबैको उद्देश्य यस गौरवान्ति र पवित्र संस्थालाई आ–आफ्नो क्षेत्रबाट आफ्नो योग्यता र क्षमताको योगदान दिनु नै हो ।

त्यसैले आज हाम्रा मनमा उकुसमुकुस भएर छछल्केका अनुभवहरुलाई यसै साँघु पत्रिकाको माध्यमबाट यस संस्थाको नेतृत्वमा रहनुभएका जर्साब, चीफसाबसम्म पु¥याउने प्रयास गरेका छौं । गल्ती भए क्षमा चाहन्छौं ।                  

  –इन्फेन्ट्री गणका चालकहरु, नेपाली सेना

प्रतिकृया दिनुहोस