• बिहीबार-बैशाख-१३-२०८१

सेनाको असार मसान्त : ठेकेदारसंग असुली दिन बन्याे

स्पोर्टस् सुजको अर्को काण्ड



काठमाडौ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा अवकाशको मुखमा छन् । अवकाशको मुखमा रहेको कारणले पनि उनले धेरै चासो र ध्यान नदिएको हुनसक्छ भने नयाँ हुुनेवाला प्रधानसेनापति प्रभुराम शर्माले पनि आफू प्रमुख नभइसकेको अवस्थामा सबै ध्यान र सोधखोज गर्ने अवस्था पनि रहेन। यसैको फाइदा अहिले संभार र लेखाका केही अधिकृतले उठाइरहेको खबर छ ।


 झण्डै दुई बर्षदेखि जंगीअड्डामा लेखा प्रमुख रहेका प्रमुख सेनानी सन्तोष रानामगरले लत्ताकपडालगायतको ठेक्का पाउने ठेकेदारहरूसंग भुक्तानीकोे समयमा दुई प्रतिशतसम्म रकम माग्ने गरेको गुनासो ठेकेदारहरूले  गरेका छन् । चेक भुक्तानी  गर्नु अघि र भएको भोलिपल्ट ठेकेदारले अनिवार्य रूपमा कमिशनको रकम बुझाउनु पर्ने उर्दी २०७८ असार मसान्त अघि नै जारी गरिएको थियो ।  


स्रोतका अनुसार  स्लिपङ व्याग ६५ सय बुझाएर १२ हजार दाखिला भएको कागजात देखाएर भुक्तानी दिने काम समेत भएको छ। यो काम संभार रथी विभागको स्वदेश खरिद हेर्ने प्रमुख सेनानी(कर्णेल) सुमन थापाले मिलाएको कुरा खुलेको छ। संभार रथी विभागका प्रमुख उपरथी ताराध्वज पाण्डेलाई मिलाएर थापा दरबन्दीमा नगई बसिरहेका छन् । पार्का ज्याकेट ३१ हजार थानको गत साल टेण्डर भयो स्वदेश शाखाबाट । सामान  समयमै सप्लाइ गर्न नसकिने भन्दै रद्द गरेर फेरि विदेश शाखाबाट टेण्डर निकालेर समय थपेर नेपाली सेनाका रैथाने ठेकेदार  रितेश अग्रवाललाई दिने काम गरिएको थियो ।


  अहिले ठेक्काको खोल्दा कागजात देखाउने काम सेनामा हुँदैन रेट मात्रै भन्ने गरिन्छ, जसको कारण सेनाको संभाररथी विभागभित्रका अधिकृतले डकुमेन्ट फेरबदल गर्न मौका दिने, सेटिङ्ग अनुसार भित्रै मिलाउने र चाहेको व्यक्तिलाई ठेक्का दिने चलखेल व्यापक हुने कुरा संभाररथी विभागको पुरानै रोग हो । केही दिन अगाडि मात्रै एक्युरेट सप्लार्यसका मीननाथ न्यौपानेको सामान आयो तर बुझाएको मध्ये आधा फेल भयो आधा मात्रै पास भएको स्रोत बताउछ ।


 दुई करोड बराबरको उक्त सामानको भुक्तानी दिन सुमन थापाले संभारका सहायक रथी आश बहादुर तामाङलाई भनेर निकै प्रयास गरेपनि लेखाले भुक्तानी भने अहिलेसम्म नदिएको खबर छ ।


  स्लिपिङ व्यागको ठेक्का पाएका झंक भट्टसंग लेनदेन र भागबण्डामा विवाद भए पछि ठेक्काको म्याद नथपेर आठ लाख जरिवाना गराउने काम पनि भएको खबर छ। ठेकेदार भट्टले ठेकेदारहरूसँग आफ्नो पीडा सुनाउदै हिंडेका छन् ।


स्पोर्टस् सुजको अर्को काण्ड


२०७६÷ ७७ को ठेक्का हाल्दा नमुना राम्रो राखेको कारण अन्तरा भन्ने कम्पनीले ठेक्का पायो । अन्तराको मालिक हुन सुदीप रेग्मी । शुरूमा स्पेक अनुसारको सामान भए पनि उत्पादन नमुना हाल्दा सस्तो र स्पेक अनुसारको हालेनन्। प्रसे सुमन थापाले तत्कालीन संभार रथी अशोक सिग्देललाई मिलाएर स्पेक नमुना अनुसार नभए पनि पास गराएको खवर उजागर भएको छ।

सिग्देल पृतनापति भएर  हेटौंडा प्रस्थान गर्ने अघिल्लो दिन उक्त कमसल जुत्ता पास गराउने काम भएको स्रोत बताउछ।  २० हजार जोर जुत्ता  बुझाएकोमा बाहिरबाट धेरै कम्प्लेन आएपछि आधा जस्तो फिर्ता गरिएको स्रोत बताउछ ।

 

जतिधेरै कम्प्लेन भए पनि नयाँ ठेक्का २०७७÷७८को फेरि अन्तरालाई नै दिने काम भयो । यो पनि सेटिङमा नै  दिने काम गरिएको पीडित ठेकेदारहरू बताउछन् । यो ठेक्काको सामान भने ठेकेदार रेग्मीले नबुझाएको बताइन्छ । सामान फिर्ता भए पनि र फेल भए पछि कालो सूचीमा हाल्नुपर्नेमा सो नगरी टुक्राटुक्रामा अन्तरालाई भुक्तानी दिने काम भएको गुनासो पनि ठेकेदारहरूको रहेको छ।
(साँघु साप्ताहिक, २०७८ साउन ११ गते)

 

प्रतिकृया दिनुहोस