• शनिबार-श्रावण-१७-२०८२

लेखामा छिर्न चर्काे सोर्सफोर्स : प्रहरीको लेखापाल सरुवामा थेग्नै नसक्ने दवाव !

 

 काठमाडौं । नेपाल प्रहरीले असार अन्तिममा गर्नुपर्ने लेखापाल र लेखा अधिकृतहरूको सरुवा साउनको १० गतेसम्म गर्न सकेको छैन । चर्काे राजनीतिक दबाब परेकाले प्रहरीको लेखाको सरुवा नसकेको खुलेको छ । 
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी)को लेखा अधिकृतका लागि नेता देखि सेनापतिसम्मको पावर भिडाएपछि सरुवा नै अवरुद्ध हुन पुगेको छ । एकेडेमीका लेखा अधिकृत विजय कुँवरको २ वर्ष अवधि पुगिसकेको छ । लेखा अधिकृतको दरबन्दी रहेको प्रहरीका महानगरीय आयुक्त कार्यालय र एकेडेमी आकर्षक मानिन्छन् । महानगरीयका लेखा अधिकृतको २ वर्ष नपुगेकाले एकेडेमीमा जानका लागि लेखा अधिकृतहरूले राजनीतिकदेखि प्रशासनिक पहुँच प्रयोग गर्दै आएका छन् । 


एकेडेमीको लेखा अधिकृतका लागि विगतमा लेखापाल भएर अकुत कमाएर सईहरू नै बढी लागेका छन् । त्यसरी लाग्नेमा शेखर मल्ल, अपूर्व ढुंगाना, सुरेन्द्र केसी, रविन्द्र थापा, कृष्ण ढकाल, फणिन्द्र रानाभाटलगायत छन् । मल्ल ललितपुर जिल्ला प्रहरी कार्यालय, एकेडेमीको कुकुर शाखालगायतका आकर्षक स्थानमा बसी कुस्त कमाएर ६ वर्षे मापदण्ड लागु भएपछि लेखापालबाट बाहिरिएका थिए । 
इन्स्पेक्टर बढुवा भएपछि कपन प्रभागमा हुँदा जुवा अखडा सञ्चालक राजकुमार अधिकारी ‘खरानी’ समूहलाई संरक्षण गरेर व्यक्तिगत फाइदा लिएको आरोप उनीमाथि लागेको थियो । लेखामा बस्दा हुने अकुत कमाई देखेका उनले पुनः एकेडेमीको लेखा अधिकृत हुन अर्थमन्त्री जनार्दन शर्माको शक्ति प्रयोग गरिरहेका छन् । मल्ल रुकुमकै भएकाले मन्त्री शर्मालाई एकेडेमीको लेखा अधिकृत बनाइदिन हारगुहार गरिरहेका छन् । 


त्यस्तै एकेडेमीमा सरुवा हुन अर्का शक्तिशाली इन्स्पेक्टर अपूर्व ढुंगाना पनि लागेका छन् । उनी सार्वजनिक लेखा समितिका सभापति भरत साहमार्फत गृहमन्त्रीलाई दबाब दिइरहेका छन् । ढुंगाना साहका साला हुन् । भिनाजुमार्फत उनले एकेडेमीको लेखा अधिकृतका लागि गृहमन्त्री बालकृष्ण खाँणलाई भन्न लगाइसकेका छन् । लेखापाल हुँदा नुवाकोट, बारा, अपराध अनुसन्धान विद्यालयजस्ता ठाउँमा बसी कुस्त कमाउने मध्येकै हुन् उनी । अपराध अनुसन्धान विद्यालयमा हुँदा बालाजुमा मदिरा पिएर पब्लिकसँग विवाद गरेपछि उनी थुनामै परेका थिए । त्यसपछि उनलाई लेखाबाट निकालिएको थियो । 


इन्स्पेक्टर बढुवापछि बाराको सिम्रौनगढ इलाका प्रहरी कार्यालयको इञ्चार्ज भएको बेला विवाद गरेपछि ३ महिनामै तानिएका थिए । उनलाई नसिहत समेत दिइएको थियो । लेखापाल हुँदा काठमाडौंमै लामो समय बसेका सुरेन्द्र केसी, एकेडेमीमा सरुवा हुन मामा पूर्णबहादुर खड्काको सोर्सफोर्स लगाइरहेका छन् । नेपाली कांग्रेसका महामन्त्री खड्काले भाञ्जोलाई एकेडेमीमा लेखा अधिकृतमा सरुवा गरिदिन मन्त्री खाँणलाई सिफारिस गरिसकेका छन् । लेखापाल हुँदा सबैभन्दा बढी केसीको नाम प्रहरीमा लिने गरिन्छ । उनी ५०÷६० लाखको गाडी चढ्छन् ।

 

सुर्खेतमा १२/१५ करोडको होटल खोलेका छन् । नेपाल प्रहरीको स्कुलमा कमाण्डेन्ट हुन डिग्री पास अनिवार्य गरिएको छ, तर पूर्व आईजीपी सर्वेन्द्र खनालले उनलाई आइए पास भएपनि सुर्खेतको प्रहरी स्कुलको कमान्डेन्ट बनाएर पठाए । स्नातक पास नगरेकालाई प्रहरीमा इन्स्पेक्टर बढुवा नदिने नीति छ । तर सर्वेन्द्र खनालले उनलाई इन्स्पेक्टर बढुवा गरी स्कुलमा कमाण्डेन्ट बनाएर पठाएका थिए । उपेन्द्रकान्त अर्यालले आईए पास मात्रै भएकाले उनलाई इन्स्पेक्टर बढुवा गरेका थिएनन्, प्रकाश अर्याल आईजीपी हुँदा बढुवा नै भएन । सर्वेन्द्र खनाल आईजीपी हुनासाथ नीति विपरीत उनलाई बढुवा गरिएको थियो । 


सुरेन्द्र केसी तत्कालीन प्रधानमन्त्री केपी ओलीकै सरकारको निरन्तरता भएको भएपनि एकेडेमी जाने तारतम्य मिलाएका थिए । उनले बोता रेस्टुरेन्टका साहु तथा महेश बस्नेतको लगानी व्यवस्थापन गर्ने नविन बस्नेतमार्फत एकेडेमीमा जाने तारतम्य मिलाएका थिए । बस्नेतले नै महेशलाई भेटाएर उनलाई एकेडेमीमा सरुवा गर्न मेसो मिलाएका थिए । तर देउवा सरकार आएपछि मामाको शक्तिका आडमा उनी एकेडेमीमा सरुवा हुने कुरामा ढुक्क छन् । अर्का अधिकृत ढकाल एकाउन्टेन्टमा सुरेन्द्र केसी पछिका धनाढ्य मानिन्छन् । सुदूरपश्चिम घर भएका उनी पनि एक लेखापाल हुँदा राम्राराम्रा जिल्लामा बसेर कमाउने मौका पाएका मध्येमा पर्दछन् । एक चर्चित दैनिकका सम्पादक उनका ज्वाईं भएकाले पनि उनले मौका पाउने गरेका हुन् ।


 लागुऔषध दूव्र्यसनीको सुधारका लागि खोलिएको आसराका इन्स्पेक्टर रविन्द्र थापाले प्रधानसेनापति पूर्णचन्द्र थापामार्फत एकेडेमीमा जान भनसुन गराएका छन् । आसराको अध्यक्ष आईजीपीको श्रीमती हुने भएकाले थापाले उनीमार्फत पनि पहल गरिरहेका छन् । हेडक्वार्टरको प्रबन्धमा रहेका .... थापाले पनि एकेडेमी जान एसएसपी दीपक थापामार्फत लागेका छन् । 


त्यसैगरी, गृहमन्त्री बालकृष्ण खाँणका दाजु पूर्व डीएसपी हरिकृष्ण खाँणमार्फत इन्स्पेक्टर फणिन्द्र रानाभाटले पनि एकेडेमीको लेखा अधिकृतको लागि पहल गरिरहेका छन् । मन्त्रीका दाजु हरिकृष्णसँग लेखापाल बसेकाले त्यही सम्बन्धका आधारमा पनि उनी एकेडेमीमा जाने प्रयासमा छन् । 


एकेडेमीमा वार्षिक ५०/६० करोड बजेट हुन्छ । निर्माणका काम पनि भइरहेका छन् । पनौतीमा एकेडेमीको भवन बनिरहेको छ । यी सबैमा मनग्ये कमिसन आउने भएकाले लेखा अधिकृतहरूको आकर्षणको केन्द्र बनेको प्रहरी स्रोत बताउँछ । 


लेखापालमा छिर्न चर्काे प्रतिस्पर्धा
यो आर्थिक वर्षमा ६ वर्षको नियमको आधारमा ६८ लेखापाल लेखाबाट बाहिरिँदैछन् । सई दर्जाका ६८ लेखापाल मापदण्डका आधारमा बाहिरिएपछि ती पदमा जान चर्काे प्रतिस्पर्धा भइरहेको छ । ६८ लेखापालको ठाउँमा जानका लागि पनि राजनीतिक देखि प्रशासनिक दबाब प्रहरीलाई परेको छ । सबैभन्दा चर्काे दबाब ट्राफिक प्रहरी महाशाखाका लागि छ । ट्राफिक प्रहरी महाशाखाका लेखापाल....देवकोटा ६ वर्षे नियमका आधारमा लेखा समूहबाट बाहिरिने भएपछि त्यहाँ सरुवा हुन चर्काे चलखेल भइरहेको छ । 
 

प्रतिकृया दिनुहोस