• बुधबार-जेठ-१४-२०८२

सेनाका जर्नेलहरु कोही बाजीमा मस्त कोही ठेकेदारसँग व्यस्त

 


काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा नेपाली सेनामा सुधारको जग हालेर अबको १२ दिनपछि ०७८ साउन २४ गतेबाट अवकाश बिदा बस्दैछन् । २०७८ भदौ २४ मा थापा अनिवार्य अवकाश भएपछि प्रभुराम शर्माको काँधमा सैनिक नेतृत्व आउनेछ । शर्मा अहिले कसरी सैन्य संगठनको छवि उचो बनाउने भनेर कार्ययोजना निर्माणमा जुटेका छन् । ठीक यही बेला केही अधिकृत भने सिंगो संगठनको छवि नै धुमिल हुने गतिविधिमा संलग्न रहेको भन्दै छानबिन गर्नुपर्ने माग सेनाभित्र उठ्न थालेको छ ।


शान्ति सेना निर्देशनालयका जर्नेल सुदर्शन सिलवालको काम विदेशी भूमिमा शान्ति स्थापना गर्न भूमिका खेल्नु हो । तर हिजोआज उनको दिलचस्पी शान्ति स्थापनामा नभएर  बाजी खेलमा व्यस्त रहेको गल्फ खेलाडीहरु चर्चा गर्दछन् । स्रोतका अनुसार, सेटिङका आधारमा चल्ने गल्फ क्लबमा उनले एकै पटक पाँच लाखसम्मको बाजी राख्ने गरेका छन् ।

सैनिक मर्यादाको ख्याल नगर्ने,  पेसागत धर्मबाट च्यूत उनको मोटो रकम बाजी राख्ने हैसियत कसरी बन्यो ? उनका सहकर्मीहरू आश्चर्यमा परेका छन् । आफू मात्रै खेले त ठीकै थियो, उनले अन्य सहकर्मीको लत पनि आफ्नो जस्तै गरी बिगारेको गुनासो प्राप्त भएको छ ।  


त्यसो त सिलवालको यो नानीदेखिकै बानी हो । नीति तथा योजना निर्देशनालयमा रहँदा पनि उनीमाथि अनधिकृत काम गर्ने गरेको आरोप लाग्ने गरेको थियो । जंगी अड्डामा उजुरी पनि परे । उतिबेला अभयदान पाएका उनले हौसिएर अहिले पनि उसैगरी संगठनलाई बदनाम गर्ने कार्य जारी राखेको उनका सहकर्मीहरू बताउँछन् ।


 
पुरानो नेतृत्व बिदा हुने र नयाँ नेतृत्व आउने छेकोमा जर्नेल–ठेकदारको उठबस पनि अनपेक्षित ढंगले बढेको खबर छ । ठेकेदारसँग हिमचिम बढाउनेमा पूर्व जर्नेल शरद् गिरीदेखि प्रेम शाही र रघु भण्डारीको नाम अग्रपंक्तिमा छ । गिरीले होटल समिट र भण्डारी–लाजिम्पाटको एम्बेस्डर होटलमा ठेकदार लोकेन्द्र कार्कीसँग तातो–चिसोसहित  ब्रेक फास्ट मिटिङ गर्ने गरेको रिपोर्ट जंगीअड्डामा पु¥याइएको  स्राेत बताउछ । तर अहिलेसम्म यसको पहेली पनि खुलेको छैन ।

यसबारे छानबिन गर्दा धेरै विषय सतहमा आउने सैनिक स्रोत बताउँछ । नेपाली सेनाका एक अवकाशप्राप्त जर्नेल भन्छन्–प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रशंसाको पुल त धेरै नै बाँधियो । तर केही बाँकी रहेका सुधार र सेटिङ गरी कमाउने जर्साबहरूमाथि छानबिन गर्न बाँकी रहेकाले अब आउने चिफ प्रभुराम शर्माले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।

 

प्रतिकृया दिनुहोस