• शुक्रबार-चैत-१६-२०८०

माधव नेपालको दाउ–बहुमत पुर्याउने, सूर्य चिह्न हड्प्ने

संसद र दलमा बहुमतकाे कसरत

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले विभाजन गर्ने गृहकार्य तीव्र पारेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेदेखि विश्वासको मत दिनेसम्मका घटनाले एमालेभित्रको विवाद जटिल मोडमा पुगिरहेका बेला नेपालले अलग पार्टी खोल्ने गृहकार्य अघि बढाएका हुन् । 


विद्यमान दलसम्बन्धी कानूनमा टेकेर दल फुटाउन असहज भएकाले नेता नेपालले सरकारसँग सहयोगको याचनासमेत गर्न भ्याइसकेका छन् । जसमा उनले प्रधानमन्त्री शेरबहादुर देउवाबाट आवश्यक सहयोग हुने आश्वासन पाइसकेका बताइन्छ।  


नेता नेपालले दल विभाजनका लागि तीन विकल्प अघि सारेका छन् । पहिलो, अहिलेकै विद्यमान राजनीतिक दलसम्बन्धी नियमावली अनुसार नै संख्या पुर्याउने र अलग दल बनाउने छ ।


 विद्यमान राजनीतिक दलसम्बन्धी नियमावलीमा दल विभाजन निम्ति संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत संख्या पुर्याउनुपर्ने प्रावधान छ । केन्द्रीय समितिमा नेपाल पक्ष ४० प्रतिशत हाराहारीमा रहे पनि संसदीय दलमा उपस्थिति निम्छरो छ ।  


त्यसैले पहिलो विकल्प सफल नभएमा सरकारको सहयोगमा अहिलेको कानून संशोधन गराएरै भए पनि भातभान्छा अलग पार्ने नेपालको तयारी छ । विद्यमान कानून परिमार्जनको आवश्यकता महसुस भएमा त्यसलाई प्रतिनिधिसभाबाट अनुमोदन गराउन सकिन्छ । 


कानून संशोधन सहज ढंगले हुन नसकेमा अध्यादेश ल्याएरै भए पनि उद्देश्य पूरा गर्ने नेपालको दाउ छ । तर अहिले नै अध्यादेश ल्याउन मिल्न अवस्था छैन । किनभने, संसदको बजेट अधिवेशन चालू छ । त्यसैले यो अधिवेशन अन्त्यपछि संसदीय दल वा केन्द्रीय समितिमध्ये कुनै एकमा ४० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश ल्याउने आश्वासन सरकारले नेपाल पक्षलाई दिएको छ । 
 

स्रोतका अनुसार, प्रधानमन्त्री देउवासँग नेता नेपालले दल विभाजनका लागि परेको अप्ठ्यारोबारे केही दिनअघि जानकारी गराएका छन् । पाँचौंपटक सत्तारोहण गर्न निर्णायक भूमिका खेल्दै १७ महिना निर्धक्कसँग सरकार चलाउने चाँजापाँजो मिलाइ दिएका नेपाललाई गुन तिर्न उपयुक्त समयको पर्खाइमा रहेका देउवाले त्यसका लागि आवश्यक कानून बनाउन आफू तयार रहेको बताएका छन् । 

‘अहिलेको विद्यमान राजनीतिक दलसम्बन्धी नियमावलीले पार्टी विभाजन गर्न नेता नेपाललाई अप्ठ्यारो परेपछि सरकारले सहयोग गर्ने आश्वासन दिएको छ,’ बालुवाटारनिकट स्रोतले भन्यो । 

देउवाले दल विभाजनमा परेको गाँठो फुकाउने आश्वासन दिएपछि नेता नेपाल अहिले हौसिएका छन् । उनले आफ्नो समूहका अतिरिक्त ओली गुटका असन्तुष्ट नेतालाई तान्ने प्रयास गरिरहेका छन् । बहुमत पुर्याएर सूर्य चिह्न नै हडप्ने महत्त्वकांक्षी लक्ष्य नेता नेपालले राखेका छन् । 

ओलीसँग उनको गुटका कतिपय सांसद् असन्तुष्ट बनेर अहिले नेपालतिर लागेका छन् ।  तथापि, यही संख्याले केन्द्रीय समिति र संसदीय दल दुवैमा नेपाल पक्षले बहुमत जुटाउने सम्भावना भने क्षीण छ । 


यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मधेसवादी दल विभाजन गराउने मनसायसहित दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए । दुई पटक यस्तो अध्यादेश ल्याए पनि चौतर्फी आलोचनापछि उनले फिर्ता गरेका थिए । अावश्यक परे देउवा पनि  ओलीकै पदचाप पछ्याउँदै उस्तै प्रकृतिको अध्यादेश ल्याउने  मनस्थितिमा छन् ।
 

प्रतिकृया दिनुहोस