• शनिबार-बैशाख-८-२०८१

सिलवाल–शेर्पा मिलन फुटबललाई अवसर 

 

काठमाडौं । यतिबेला नेपाली खेलकुदका गतिविधिहरू ठप्प प्रायः छन् । कोरोना भाइरसको महामारीको चपेटामा परेसँगै खेलकुदका गतिविधि ठप्प भएका हुन् । सबैजसो खेलकुदका गतिविधि ठप्प भए पनि ‘मास गेम’मानिने फुटबलका गतिविधि भने खासै ठप्प भएका छैनन् । फुटबलका अन्तर्राष्ट्रिय प्रतियोगिता भइरहेकै छन् । नेपाली राष्ट्रिय फुटबल टिमको महिला तथा पुरुष टिम बन्द प्रशिक्षणमा रहेको छ । एएफसी फुटबलका लागि महिला टिम र एसिया कप छनोट फुटबलका लागि पुरुष टिम बन्द प्रशिक्षणमा रहेको हो ।


 यसअघि पुरुष टिमले इराकसँग उसकै भूमिमा मैत्रीपूर्ण खेल तथा कुवेतमा विश्वकप छनोट तथा एसिया कप छनोट खेलेर फर्केको छ । यो छनोट हेर्न नेपाली खेलकुदका ठूला भीआईपी राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल पनि देखिए । उनी यसरी कुनै पनि खेलकुद हेर्न विदेश गएका थिएनन् दोस्रो कार्यकाल सदस्यसचिव भएपछि । तर लामो समय उनी विदेशमा रहे । उनी इराकमा पनि गए र कुवेतमा पनि गए । 


उनले केही औपचारिक भेट पनि गरे । जसले नेपाली फुटबललाई फाइदै पुगेको अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्चको विश्लेषण छ । पक्कै पनि खेलकुदको कार्यकारी निकायमा भएका व्यक्ति नेपाली टिमसँग साथमा रहँदा विदेशीले हेर्ने दृष्टिकोणमा फरक पर्छ नै । उनीहरूले फुटबल कत्तिको प्राथमिकतामा रहेछ भन्ने अनुमान पनि लगाउन सक्छन् । 


तर, अन्य गतिविधि नहुँदा र फुटबलका गतिविधि भइरहँदा सदस्यसचिव सिलवाल र एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पाको हिमचिम ह्वात्तै बढेको खबर छ । सिलवालले फुटबललाई विशेष प्राथमिकता दिएका छन् । एन्फा र राखेपबीच पहिलेदेखि नै खासै राम्रो सम्बन्ध हैन । फुटबल एउटामात्र संघ भए पनि सबै संघलाई मातहतमा राख्ने राखेपजस्तै फुटबल संघको पकड बलियो मानिन्छ । 


तर यसपालि को शक्तिशाली भन्नुभन्दा पनि सिलवालले शेर्पालाई र शेर्पाले सिलवाललाई निकै साथ दिएको जस्तो बुझिन्छ । दुवैले एक अर्काको प्रशंसा गर्दै आएका छन् । यो प्रशंसालाई कतिपयले सामान्य भन्दै आएका छन् भने कतिपयले पृष्ठभूमि र राजनीति फरक फरक भएर पनि सिलवाल–शेर्पाको आत्मीयताप्रति भने शंका गर्न थालेका छन् । आखिर के कारणले एकले अर्कालाई यतिधेरै भरोसा गर्न थालेका छन् त ? भनी शंका गर्न थालिएको हो । 


एक वर्षपछि राखेप बोर्ड बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासी पात्र सिलवालले एक वर्षपछि पहिलो पटक राखेप बोर्ड बैठक बोलाएका छन् । २०७८ असार ३० गते बुधबार बैठक बोलाएका हुन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पहिलो पटक बैठक बस्न लागेको हो । ऐन २०७७ असार १८ गतेदेखि कार्यान्वयनमा आउनु पर्ने भए पनि बोर्ड बैठक नै नबसेपछि अवरोध हुँदै आएको छ । 


नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको समापनपछि राखेपको बोर्ड बैठक बस्न सकेको छैन । यो समय पनि जोड्ने हो भने बोर्ड बैठक नबसेको करिब दुई वर्ष भएको छ । युवा तथा खेलकुद मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका कृष्णगोपाल श्रेष्ठले हरियो झण्डा देखाएपछि सिलवाल तात्तिएका हुन् । 


लामो समयपछि बस्न लागेको बोर्ड बैठकका एजेन्डा सार्वजनिक गरिएका छैनन् । आपसी छलफलमै एजेन्डा तय गरिने बुझिएको छ । वर्षमा कम्तीमा दुई पटक बस्नुपर्ने बैठक ऐन आएपछि पहिलो पटक बस्दासमेत शंकाको दृष्टिले हेर्न थालिएको छ । कोरोनाको महामारीलाई दोष दिँदै आएको नेपाली खेलकुद ध्वस्त हुँदै आएको छ । अहिलेसम्म बजेट त परै जावस १३ औं दक्षिण एसियाली खेलकुद साग भएको गत २०७६ मंसिरपछि राखेपले खेलकुदको क्यालेन्डरसमेत बनाउन सकेको छैन । 


कोरोनाका बेलामा फुटबलपछि क्रिकेटको गतिविधि हल्का देखिएको छ । एकल खेलमा खेलाडीहरूले आन्तरिक रुपमा अभ्यास गरिरहे पनि त्यति सशक्त हुन सकेको छैन । फुटबलकै गतिविधिमात्र बढी भएका कारण पनि प्रायः मिडियामा देखिइरहन पर्ने बानीका सदस्यसचिव सिलवाल एन्फाप्रति लचक भएको बुझिन्छ । तर कायापलट भइरहने सिलवालको मित्रभाव शेर्पासँग कहिलेसम्म टिक्ने होला भनी आँकलन भने गर्न थालिएको छ । 

प्रतिकृया दिनुहोस