• बिहीबार-चैत-१५-२०८०

नेपाल सुपर लिग : बुटवल शीर्ष स्थानमा उक्लिने दाउमा

 


काठमाडौँ, २१ वैशाख (रासस) : नेपाल सुपर लिगअन्तर्गत आज  बुटवल लुम्बिनी एफसी लिगको शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ । शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ बुटवलले आज काठमाडौँ रेजर्ससँग प्रतिस्पर्धा गर्दैछ ।

 

    बुटवल लिगको तेस्रो स्थानमा रहेको छ । काठमाडौँविरुद्ध आजको खेल जितेमा बुटवल शीर्ष स्थानमा पुग्न सफल हुनेछ । प्रतियोगितामा तीन खेल खेलेको बुटवलको हालसम्म एउटामा जीत तथा दुईमा बराबरीका साथ पाँच अङ्क छ । काठमाडौँसितको खेल जितेमा बुटवल आठ अङ्कका साथ शीर्ष स्थानमा उक्लिने छ ।

 

    जारी प्रतियोगितामा बुटवल एकमात्र अपराजित टोली हो । यसअघि बुटवलले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० गोलले हराएको थियो । दोस्रो खेलमा बुटवलले चितवनसँग २–२ गोलको बराबरी खेलेको थियो । तेस्रो खेलमा पनि बुटवलले विराटनगरसँग २–२ गोलको बराबरीमा खेल टुङ्ग्याएको थियो ।

 

    यसैगरी काठमाडौँ रेजर्स दोस्रो जीतको लक्ष्यका साथ आज बुटवलविरुद्ध मैदानमा उत्रिँदैछ । काठमाडौँले हालसम्म तीन खेलमा एउटामा जीत, एउटामा बराबरी तथा एक खेलमा हार बेहोर्दै चार अङ्क जोडेको छ ।

 

पहिलो खेलमा काठमाडौँले ललितपुरलाई पराजित गरेको थियो । दोस्रो खेलमा काठमाडौँ धनगढीसँग पराजित भएको थियो । तेस्रो खेलमा काठमाडौँले पोखरासित बराबरी खेलेको थियो ।

 

    बुटवलविरुद्धको खेलमा विजयी भएमा काठमाडौँ लिगको शीर्ष तीनमा उक्लिनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुटवल लुम्बिनी एफसी र काठमाडौँ रेजर्सबीच साँझ साढे ५ बजे खेल शुरु हुनेछ ।
–––

 

प्रतिकृया दिनुहोस