• बिहीबार-चैत-१५-२०८०

विरोध प्रदर्शन गरेपनि मापदण्ड विपरीत खोला उत्खनन

 


झापा । स्थानीयले बारम्बार मापदण्ड विपरीत उत्खनन कार्यविरुद्ध विरोध प्रदर्शन गरेतापनि केराबारीमा खोलाजन्य पदार्थ मापदण्ड विपरीत उत्खनन कार्य रोकिएन । ठेकेदारले अटेर गरेर खोल उत्खनन् गरिरहेका छन् । मापदण्ड विपरीत कान्छा कन्स्ट्रक्सनले खोला उत्खनन गरेको भन्दै स्थानीयले बारम्बार विरोध गरेपनि उक्त कन्स्ट्रक्सनले उत्खनन कार्य रोकेको छैन ।

 

स्थानीयले बारम्बार विरोध गरेपनि गाउँपालिका माैन  बसेको छ । गाउँपालिकालाई ठेक्का लगाए पुग्छ, ठेकेदारलाई अधिक मुनाफाको मात्र ध्येय छ । वर्षामा बाढीले गाउँमा क्षति पुगोस् वा खानेपानीको मुहान नै  नसुकोस्, स्थानीयको गुनासो सुन्ने मात्र हो, कार्यान्वयन केही हुँदैन । केराबारीमा आज मापदण्ड विपरीत उत्खनन, भोलि मेलमिलाप, पर्सी पुनः मापदण्ड विपरीत उत्खनन, यही विकृत संस्कार बसेको छ ।


सम्झौता अनुसार १.७० मिटर भन्दा बढी उत्खनन गर्न नपाउने अनुगमन समितिले जानकारी दिएको छ । तर, सो विपरीत काम भइहरेको स्थानीय बताउछन् । उत्खनन गर्न प्रयोग हुने एक्स्काभेटर लाइसेन्स नभएका काेशाेरहरूले चलाइ रहेका छन् ।

 

उत्खननमा प्रयोग गरिएकाे एक्स्काभेटर  १८ वर्षीय प्रेम मोक्तान र विपिन चौधरीले एक्स्काभेटर चलाइ रहेकाछन् । उनीहरू दुवैसँग लाइसेन्स छैन । स्थानीयसँग विवाद चर्किएपछि केराबारी गाउँपालिकाद्वारा गठित खोला अनुगमन समितिले अनुगमन गरेपनि ठोस कारबाही भने भएको  छैन ।


२०७८ वैशाख २० गते  सोमबार स्थानीयसँगको विवादले केराबारी ९ मा अनुगमन भएको छ, तर अनुगमन समितिको संयोजक तथा वडा नं.६ का अध्यक्ष उपेन्द्र मगरका अनुसार रिर्पोट तयार गरेर गाउँपालिकालाई बुझाएर छलफल पछि मात्र मापदण्ड विपरीत भएको पाइएमा उत्खनन रोकिने छ । निर्णय नआएसम्म मापदण्ड विपरीत उत्खनन भइरहे पनि तत्काल केही नगर्ने, गाउँपालिकाको निर्णय पर्खनै पर्ने मगरले जनाए ।


 अनुगमन समितिलाई रोक्ने अधिकार नभएको मगरले बताए पनि वडा नं.९ का अध्यक्ष भुपतेन्द्रप्रताब मल्लले भने मापदण्ड विपरीत भएको पाइएमा रोक्न सकिने बताए । मल्ल अनुगमन समितिको सदस्य पनि हुन ।

 

खोला अनुगमन समितिका संयोजक मगर र सदस्य मल्ल बिचको मत फरक देखिएको छ । तर खोलामा भइरहेको उत्खनन कार्य मापदण्ड विपरीत भइरहेको छ भन्नेमा कसैको फरक मत छैन । गाउँपालिकाले ठेक्का लगाउने मात्र हैन अनुगमन र कारबाही पनि गर्नु पर्छ भन्ने माग स्थानीयकाे रहेकाे छ ।
-विष्णु घिमिरे, नव जनप्रहार

प्रतिकृया दिनुहोस