• शनिबार-बैशाख-१५-२०८१

स्वामीको उद्योगबाट खोपबिनै चल्ला बिक्री

‘अविनाश’ ह्याचरीको बेइमानीले किसान चुर्लुम्मै !

 

झापा गाउँपालिका–६, झापाका सूर्य भण्डारीले २०७७ असोजमा गुणचन्द विष्ट स्वामित्वको अविनाश ह्याचरी उद्योगबाट उत्पादित हाइलन (ज्थ्ीक्ष्ल्भ्) जातको कुखुराको चल्ला खरीद गरे । प्रतिगोटा १ सय २० रूपैयाँका दरले २ हजार चल्ला खरिद गरेकोमा त्यसको ३ महिनापछि सबैजसो चल्ला भकाभक मरे । आफूले परख गरेर हुर्काएका कुखुरा उत्पादन दिने समयमा एकाएक मर्न थालेपछि भण्डारीले त्यसको पहिचान गर्न ल्यावमा परीक्षण गराए । भेटेरिनरी चिकित्सकसँग पनि परामर्श गरे । 


भण्डारीका अनुसार, चिकित्सकले मरेक्स रोग लागेको भन्दै त्यसविरुद्धको औषधि खुवाउन प्रेस्क्राइब गरेका थिए । प्रयोगशालाका चिकित्सकले पनि मरेक्सकै अनुमान गरेका थिए । ‘हाइलन जातको कुखुरा पालेर मनग्य आम्दानी गर्ने सोचका साथ अविनाश ह्याचरी उद्योगबाट उत्पादित २ हजार कुखुरा खरिद गरेको थिएँ,’ भण्डारीले निन्याउरो स्वरमा साँघुसँग भने, ‘यसलाई ३ महिनासम्म पाल्दा झण्डै २० लाख खर्च भयो । लगभग यति नै ऋण लागेको छ । तर उत्पादन दिने बेला सबै कुखुरा म¥यो । अब त्यतिका ऋण कहाँबाट, कसरी तिर्नु ?’ 


भण्डारीसँगै सोही स्थानका मिलन पाठकले पनि सोही जातको १ हजार ५ सय कुखुराका चल्ला २०७७ असोजमै खोरमा हालेका थिए । उनले ३ महिनासम्म उक्त चल्ला हुर्काए, बढाए । पाठकका अनुसार, यसलाई हुर्काउँदा उनको १५ लाख रूपैयाँ खर्च भयो । तर उत्पादन दिने बेला सबै सखाप भए । भण्डारी र पाठक त प्रतिनिधि उदाहरण मात्रै हुन् ।  अविनाश ह्याचरीबाट हाइलन जातको चल्ला खरिद गर्ने सबैजसो कुखुरापालक किसानका कुखुरा धमाधम मर्न थालेका छन् । र, सबैजसो किसानको कुखुरामा मरेक्स रोगको लक्षण देखिएको छ । 


ह्याचरीको बेइमानीले किसान चुर्लुम्मै 
मरेक्स भाइरल रोग हो । हाइलन जातको कुखुराका चल्ला कोरल्नेबित्तिकै यो रोगको संक्रमण खतरा हुन्छ । त्यसैले चल्ला उत्पादन भएको २४ घण्टाभित्र यसविरुद्धको खोप लगाउनुपर्छ । यो खोप नलगाई ह्याचरीले चल्ला बिक्री तथा वितरण गर्न पाउँदैन । ऐनमा मरेक्सविरुद्धको खोपबिनै चल्ला बिक्री गरी किसानले क्षति ब्यहोरेको अवस्थामा क्षतिपूर्ति दिनुपर्ने प्रावधान छ । 


प्रचलित प्रावधान यस्तो भए पनि अविनाश ह्याचरीले त्यसको बेवास्ता गर्दै हाइलन जातको कुखुराको चल्ला विक्री वितरण गर्दै आइरहेको पीडित किसानको गुनासो छ । श्रोतका अनुसार, कुखुराका चल्लालाई मरेक्स रोगविरुद्धको भ्याक्सिन लगाउँदा खर्च बढ्ने भएकाले अविनाशले नलगाई बिक्री वितरण गर्ने गरेको छ । 


 नेपाल ग्यासका मालिकसमेत रहेका गुणचन्द्र विष्ट स्वामित्वमा रहेको अविनाश ह्याचरी नेपालको सबैभन्दा पुरानो र ठूलो ह्याचरी उद्योग हो । यसले सातामै २ लाखभन्दा बढी चल्ला उत्पादन गर्छ । अझै हाइलन जातको कुखुराको चल्ला उत्पादन गर्ने कम्पनी त नेपालमा अविनाश मात्रै हो । तर अविनाशले मापदण्ड पालना नगरी किसानलाई चल्ला बिक्री गर्दा किसानहरू पीडित बनिरहेका छन् । यसबारे जानकारी माग्न यसका सञ्चालक गुणचन्द्र विष्टको मोबाइल नम्बर ९८५५०५५२०७ मा सम्पर्क गर्दा स्थापित हुन सकेन । 


रोगी कुखुरा बेच्न डाक्टर नै परिचालन 
डा. आनन्द सिंह निम्बस ग्रुपमा कार्यरत पशु चिकित्सक हुन् । तेल र कुखुराको दाना उत्पादन गर्ने यो कम्पनीमा सिंह मार्केटिङ हेड हुन् । यिनको काम खासमा निम्बसको उत्पादन प्रवद्र्धन गर्नमा सीमित हुनुपर्ने हो । तर उनले अविनाश ह्याचरीका कुखुरा किसानलाई बिक्री गर्न विचौलियाको भूमिका निर्वाह गर्दै आइरहेका छन् । झापाका कृषक सूर्य भण्डारी उनै डा. सिंहमार्फत आफूले अविनाश ह्याचरीबाट चल्ला खरिद गरेको बताउँछन् । 


डा. सिंह स्वयं पनि अविनाशको रोगी कुखुरा किसानलाई बिक्री गर्न भूमिका खेलेको स्वीकार्छन् । तर यसमा आफूले सहजीकरण मात्र गरेको उनको दावी छ । अविनाशको रोगी कुखुरा बिक्री गर्न विचौलियाको भूमिका निर्वाह गरेर किसानलाई किन रुवाउनु भएको भन्ने साँघुको जिज्ञासामा उनले भने, ‘किसानलाई समयमा ह्याचरीबाट कुखुरा खरिद गर्न समस्या भएकाले मैले सहजीकरण मात्र गरिदिएको हुँ । यसबापत मैले कुनै आर्थिक लाभ लिएको छैन ।’ 


अविनाश त एक प्रतिनिधि पात्र मात्र हुन् । श्रोतका अनुसार, अविनाश ह्याचरीको रोगी चल्ला बिक्री गर्न सिंहजस्ता कैयन् चिकित्सक परिचालन गरिएको छ । यसरी परिचालित कृषकले विचौलियाको भूमिका निर्वाह गरेर किसानलाई चल्ला भिडाउने गरेका छन् । ‘अविनाश ह्याचरीले मापदण्ड पालना नगरी उत्पादन गरेका चल्ला बिक्री गरेर व्यापार बढाउन सरकारीदेखि निजीसम्मका भेटेरिनरी चिकित्सकलाई नै परिचालन गरेको छ । र, चिकित्सकहरू पनि आर्थिक प्रलोभनमा परेर अनैतिक काममा संलग्न छन्,’ एक पशु चिकित्सकले नाम उल्लेख नगर्ने सर्तमा भने । 


प्रयोगशाला नै त्रसित
आफ्ना कुखुरा उत्पादन दिने समयमा धमाधम मर्न थालेपछि झापाका सूर्य भण्डारी यसको वैज्ञानिक परीक्षणका निम्ति झापाको भेटेरिनरी ल्याब्रोटरीमा पुगे । त्यहाँ उनले कुखुराको परीक्षण गराए । तर प्रयोगशालाका प्राविधिकको कुरा सुनेर भण्डारी त्यतिबेला तीनछक परे, जब उनले ल्याब रिपोर्टमा यथार्थ लेख्न आनाकानी गरे ।  


भण्डारीका अनुसार, प्रयोगशालाका प्राविधिकले मौखिक रूपमा अविनाश ह्याचरीबाट खरिद गरिएका उनका कुखुरामा मरेक्सको जिवाणु भेटिएको बताएका थिए । तर गुणचन्द्र विष्टको अविनाशबाट खरिद गरिएको थाहा पाएपछि उनी ल्याब रिपोर्टमा तथ्य लेख्न हच्किए । भण्डारीका अनुसार, अविनाशसँग जोडिएको विषय भएकाले आफूले रिपोर्टमा मरेक्सको जीवाणु भेटिएको किटान गर्न नसक्ने भन्दै प्रयोगशालाका डा. सञ्जय यादवले मरेक्स सस्पेकटेड मात्र लेखिदिएका छन् (हेर्नुस् भेटेरिनरी ल्याब्रोटरीले भण्डारीलाई दिएको ल्याब रिपोर्ट) ।

 

‘गुणचन्द्र विष्ट शक्तिशाली छन् । मरेक्स नै लागेको रिपोर्ट हामीले दिए अप्ठ्यारो पर्छ,’ ल्याबका चिकित्सक डा. यादवको भनाइ उद्धृत गर्दै कुखुरापालक कृषक भण्डारीले भने, ‘त्यसैले मरेक्स सस्पेक्टेड मात्र लेखिदिएको छु ।’ श्रोतका अनुसार विष्टले सरकारी चिकित्सकको वृत्ति विकास रोक्नेदेखि सरुवा गराइदिनेसम्मका धम्की दिएर आफ्नो पकडमा राख्ने गरेका छन् । निजी क्षेत्रमा कार्यरत चिकित्सकलाई समेत उनले उसैगरी धम्क्याउने गरेको बताइन्छ । डा. यादवसँग यसबारे प्रतिक्रिया लिन साँघुले सम्पर्क गर्दा उनीसँग पनि सम्पर्क स्थापित हुन सकेन । रोचक त के छ भने भण्डारीको कुखुरामा मरेक्सको जीवाणु नभेटिएको रिपोर्ट दिएका तिनै डा. यादवले संक्रमित कुखुराका लागि भने मरेक्स लागेका कुखुरालाई खुवाउने औषधि नै खुवाउन सिफारिस गरेका छन् । 

 


क्षतिपूर्तिका लागि किसान भौतारिँदै 
ह्याचरी उद्योगको कमजोरीका कारण कुखुराबाट क्षति भएमा किसानले त्यसको क्षतिपूर्ति पाउँछन् । कानूनमा नै यस्तो अवस्थामा किसानलाई ह्याचरी उद्योगबाट क्षतिपूर्ति भराउनुपर्ने प्रावधान छ । 
अविनाश उद्योगबाट कैयन् कृषक ठगिएको प्रष्ट भए पनि किसानले अहिलेसम्म यसको ठोस प्रमाणसमेत जुटाउन सकेका छैनन् । हाइलन जातको कुखुराको चल्ला अविनाश ह्याचरीबाट मात्र उत्पादन हुने थाहा पाएकाले सबैजसो प्रयोगशाला वैज्ञानिक परीक्षणको यथार्थ रिपोर्ट दिने आफ्नो धर्मबाट च्यूत हुँदै आएका छन् । ‘एउटा व्यवसायीले देशभरका प्रयोगशालालाई आफ्नो मुठ्ठीमा यसरी कब्जा लिएको थाहा पाउँदा मलाई आश्चर्य लागेको छ,’ एक किसानले आफ्नो अनुभूति सुनाए । 


प्रयोगशालाले यथार्थ उल्लेख गरेर रिपोर्ट नदिंदा किसान क्षतिपूर्ति पाउने आफ्नो अधिकारबाट बञ्चित भएका छन् । झापाका किसान भण्डारीले अब संक्रमित कुखुरा लिएर संघीय राजधानी काठमाडौंमा न्यायका लागि आउन लागेको साँघुसँग बताए । 


को हुन् विष्ट ? 
मकवानपुर स्थायी ठेगाना भएका विष्ट पुराना अर्बपति स्थापित उद्योगी हुन् । ह्याचरीसँगै उनको ग्यास उद्योगमा समेत लगानी छ । हाल नेपाल ग्यास समेत उनकै स्वामित्वको हो । यसबाहेक अन्य विभिन्न क्षेत्रमा समेत उनको लगानी छ । 


राजनीतिक दलसँग उनको राम्रै चिनजान र उठबस छ । उनको बढी झुकावचाहिं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डतिर छ । उनले निकटस्थसँग आफू प्रचण्डको अति नै विश्वासपात्र भएको बताउने गरेका छन् । 
राजनीतिक दल र तिनका नेतासँगको फाइदा उनले व्यापार व्यवसायमा राम्रैसँग भजाएका छन् । यही आबद्धताकै कारण उनको पोल्टी फार्मले नवलपरासीमा मापदण्ड मिचेको भए पनि उन्मुक्ति पाउँदै आएका छन् । स्थानीय उल्टिएर उनको पोल्ट्री फार्मविरुद्ध आन्दोलन गरे पनि उनको व्यवसायमा अहिलेसम्म कुनै घुनपुत्लो लागेको छैन । 


उनको दावीमा आंशिक सत्यतासमेत देखिन्छ । माओवादी केन्द्रका अध्यक्षसँग आफ्नो कति घनिष्टता छ भन्ने उनले प्रचण्डको दोश्रो प्रधानमन्त्रीत्वकालमा आयोजित पोल्ट्री महासंघको साधारणसभामा देखाएका थिए । जहाँ प्रचण्डले उनकै जोडबलमा पोल्ट्री व्यवसायीलाई आयकर ट्क्याक्स छुट दिनुपर्ने विवादास्पद भनाई राखेका थिए । 


प्रचण्डले यस्तो भाषण गरेको भोलिपल्टै उनी यसको अडियो प्रमाण लिएर तत्कालीन पशुपंक्षी मन्त्रालय पुगेका थिए । तत्कालीन मन्त्री सन्तकुमार थारूसमेत यसलाई अघि बढाउन बाध्य भएका थिए । तर, तत्कालीन सह–सचिव केशवप्रसाद प्रेमीले त्यसलाई रोकेका थिए ।


स्वामी अर्बपति
नेपाल ग्यासका मालिक गुणचन्द्र विष्टको अर्को परिचय स्वामी कृष्णानन्द पनि हो । २०३५ सालमै संन्यास लिएका हुन् । हालसम्म अविवाहित ६७ वर्षीय उनी भन्छन्, ‘म मेरो आम्दानीको ठूलो हिस्सा अरुलाई दान दिने गर्छु ।’ भन्छन् । साथै ‘‘नढाँटी काम गर्न सकिन्छ’’ भन्ने मान्यता राख्ने स्वामी कृष्णानन्द (गुणचन्द्र विष्ट)द्वारा संचालित अविनाश ह्याचरी उद्योगबाट कैयन् कृषक कसरी ठगिए ? अविनाश ह्याचरीबाट उत्पादित चल्ला लिएको कुखुरा व्यवसायीको के कारणले उठिवास हुँदैछ ? स्वामी कृष्णानन्द (गुणचन्द्र विष्ट) को फोन उठ्दैन अनि यसको जवाफ कसले दिन्छ र ?  
 

प्रतिकृया दिनुहोस