• शुक्रबार-बैशाख-१४-२०८१

नेपाली घ्यू जापानमा लोकप्रिय

 

बागमती । सरकारको स्वामित्वमा सञ्चालित  हेटौंडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित  घ्यू  जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । 

 

आयोजनाका प्रमुख  नरेश जोशी अनुसार  गत वैशाख देखि माघ महिनासम्ममा ५१ हजार लिटर  घ्यू निर्यात भएको थियो । उहाँले  जापानमा नेपाली घ्यूको माग बढ्दै गएको  र एक पटकमा सात÷आठ हजार  लिटर   घ्यू निर्यात  हुने गरेको छ । अहिलेसम्म सात पटक   घ्यू निर्यात भइसकेको छ । आयोजनाले दैनिक  ५००  लिटर   घ्यू उत्पादन हुने गर्छ । 


  

हेटाँैडा औद्योगिक क्षेत्रमा ३८ रोपनी जमीनमा विसं २०३०को वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दुग्ध विकास संस्थान अन्तर्गत आयोजना स्थापना भएको थियो ।  आयोजनाबाट दैनिक २५ हजार लिटर  दुग्ध  मकवानपुर, वारा, पर्सा , सर्लाही र रौतहट  जिल्लामा  सङ्कलन भइरहेको छ ।

 

 ती मध्ये प्रशोधित  ६ हजार ५०० लिटर दुग्ध र १५ सय लिटर दही दैनिक बिक्रीवितरण हुने गरेको आयोजनाले जनाएको छ । आयोजनाले  दैनिक ६ हजार कृषक घरपरिवारबाट  दुग्ध खरीद गरी उनीहरुलाई मासिक रु तीन करोडदेखि रु पाँच करोडसम्म भुक्तानी गर्दै आएको छ । 

 

 बेमौसममा रु तीन करोड र अन्य मौसममा रु पाँच करोड भुक्तानी भएको छ । आयोजनाको प्रशोधित क्षमता  प्रतिघण्टा तीन हजार लिटर दुग्ध रहेको छ । यसका साथै दही, पनीर, घ्यू, मख्खन  फ्रसमिल्क, लालमोहन, रसबरी, आइसक्रिम, प्रशोधित  क्रिम, पेडा र खुवालगायतका दुग्ध पदार्थ  उत्पादन गरी बिक्रीवितरण भइरहेको बताइएको छ ।

 

उत्पादित  उपरोक्त दुग्ध पदार्थ वीरगन्ज, नारायणघाट र हेटौँडाको शहरी तथा ग्रामीण बजार क्षेत्रमा बिक्री हुने गरेको र थप बजार क्षेत्र बढ्दै गएको आयोजनाले जनाएको छ ।  आयोजना अन्तर्गत सात चिस्यान केन्द्र क्रमश ः चन्द्रनिगाहपुर, गरुडा ,नवलपुर , बरहथवा, हरैया, बसवरिया र सिम्रोनगढमा  रहेको छ ।

 

    मकवानपुरलगायत  अन्य जिल्लाको  दुग्ध  उत्पादक सहकारी संस्थाबाटसमेत  दुग्ध सङ्कलन  हुने गरेको  आयोजनाका अधिकृत ठाकुरदास श्रेष्ठले भन्नुभयो,“आयोजनाले आवश्यकता अनुसारको दूध खपतगरी  बढी भएको  दूध  बालाजुलगायत  अन्य आयोजनामा पठाउने गरेको छ ।”


 
आयोजनाको ६० हजार  लिटर  दूध भण्डारण  क्षमता रहेको छ । दही तीन हजार लिटर, घ्यू, मख्खन ,पनीर  उत्पादन क्षमताप्रति दिन ५०० केजी  , फेसमिल्क ,एक हजार ५०० बोतल  प्रति सिफ्ट, पेडा ३६० प्याकेट  प्रतिदिन र लालमोहन ९०० प्याकेट  प्रतिदिन उत्पादन  हुने गरेको  उहाँले जानकरी दिनुभयो ।


 
बिक्रीवितरण क्षेत्रमा तीन वितरक, २८ डिलर र १९७  बिक्री बुथमार्फत बिक्री भइरहेको छ । लकडाउनमा पनि आयोजनाले आफ्नो सेवालाई निरन्तरता दिएको थियो ।  
 

प्रतिकृया दिनुहोस