• शुक्रबार-बैशाख-७-२०८१

दिल्ली प्रदेश सरकारले विद्यालयमा अध्ययन अध्यापन कार्य शुरु गराउने


नयाँदिल्ली, २९ पुस (रासस/एएनआई) : भारतको दिल्ली प्रदेश सरकारले विद्यालयमा अध्ययन अध्यापन कार्य शुरु गराउने निर्णय गरेको छ । 

 

    भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा बोर्ड परीक्षालाई मध्यनजर गर्दै विद्यालयहरू खोल्ने निर्णय गरिएको हो । 

 

    सरकारले अहिले कक्षा १० र १२ को मात्रै पढाइ गर्ने निर्णय भएको बुधबार जानकारी दिएको छ । अन्य कक्षाको बारेमा भने केही बताइएको छैन । 

 

    विद्यार्थीलाई विद्यालय पठाउने वा नपठाउने बारेमा अविभावकले नै निर्णय गर्न पाउने र विद्यालय पठाउनै पर्ने अनिवार्य नगरिएको पनि अधिकारीहरूले जनाएका छन् । 

 

    विद्यालय आएका र नआएका विद्यार्थीहरूका बीचमा विद्यालयले कुनै भेदभाव नगर्ने पनि सरकारी अधिकारीहरूले स्पष्ट पारेका छन् । 

 

    विद्यालयहरू यही जनवरी १८ तारिखदेखि सञ्चालन गर्ने तयारी भएको पनि उनीहरूले जानकारी दिएका छन् ।

 

    दिल्लीमा गत वर्ष सन् २०२० को मार्चदेखि विद्यालयहरू बन्द नै रहेका थिए । कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि बन्द गरिएका विद्यालयहरू अहिले वार्षिक परीक्षालाई मध्यनजर गर्दै खोल्न लागिएको हो ।  

 

    यसअघि पनि विद्यालय खोल्ने तयारी भए पनि बन्द भएदेखि अहिले पहिलो पटक विद्यालय खोल्न लागिएको अधिकारीहरूले जनाएका छन् ।

 

    भारतकै अन्य कतिपय प्रदेशहरूमा भने केही समय अगाडिदेखि पठन पाठन सञ्चालन गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण कम देखिएका ठाउँहरूमा पढाइ सञ्चालन गरिएको हो ।  

 

    दिल्ली सरकारले भने अहिले परीक्षाको तयारी र अभ्यास कार्यका लागि मात्रै विद्यार्थीहरूलाई विद्यालय बोलाउन लागिएको स्पष्ट पारेको छ ।

 

    नयाँदिल्लीमा मात्रै अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या तीन हजार १७९ रहेको छ । 

 

 

याे खतरनाक समाचार पनि पढाैं 

 

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड पाँच लाख

 

२९ पुस (रासस/सिन्ह्वा) : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड चार लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार ९६८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ९५ हजार १४७ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

 

 गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २०२ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५१ हजार ५२९ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख २९ हजार भन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख १४ हजार ५०७ सक्रिय सङ्क्रमित रहेका छन् ।

 

भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ३८६ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १६ जनाको मृत्यु भएको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ ।

 

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १८ करोड ३४ लाख ८९ को हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो मङ्गलबार एक दिनमा ८ लाख ३६ हजार २२७ जनाको कोभिड¬–१९ परीक्षण गरेको छ । 
–––

प्रतिकृया दिनुहोस