• बिहीबार-बैशाख-९-२०७८

आफूसँग हुँदा चाट्ने छुट्टिएपछि काट्ने ?

 

नेपाली जनताको लामो ऐतिहासिक त्याग, संघर्ष र वलिदानीपूर्ण राजनीतिक–सामाजिक आन्दोलनको कारण वामपन्थी शक्तिमाथि नेपालीले विश्वास गरेका थिए र गर्दै आएका छन् । इतिहासका गौरवपूर्ण क्रान्तिको जगमा तत्कालीन नेकपा एमाले र वामपन्थी शक्तिको उदय भएको कुरा घाम जत्तिकै छलङ्ग छ । विभिन्न आरोह–अवरोध तथा घुम्ती पार गर्दै नेपाली कम्युनिष्ट आन्दोलन यहाँसम्म आईपुगेको हो । जनताको ठूलो उत्साह, आकर्षण र समर्थनबाट गत निर्वाचनमा वामपन्थी शक्ति विजयी भएका थिए । 


तर, जनताको उत्साहमा चोट पुग्नेगरी वामपन्थी शक्ति फेरि तहसनहस हुने अवस्थामा पुगेका छन् । राजनीतिक दल जुट्ने, फुट्ने र एकीकृत हुने कुरालाई राजनीतिशास्त्रमा अन्यथा मान्न नमिल्ने भएपनि वामपन्थी फुटेपछि छाडा, अश्लील गाली गर्ने, तथानाम गैरराजनीतिक आरोप–प्रत्यारोप लगाउने जस्ता काम बढी हुने गरेको देखिन्छ । यस्तो प्रक्रिया र तरिका नेपालको वामपन्थी आन्दोलन र भविश्यको लागि घातक हुन्छ भन्ने कुरा वाम इतिहासबाट प्रमाणित भएको हुरा हो ।


राजनीतिक संस्कार 
राजनीतिक पार्टी विचार, सिद्धान्त, दर्शन, कार्यक्रम र निश्चित उद्देश्यले संगठित भएका हुन्छन् । नेपालको वामपन्थी पार्टी पनि निश्चित मूल्य र विचारबाट निर्देशित भई संगठित भएका हुन् । राजनीतिक पार्टीमा आधारभूत हिसाबमा राजनीतिक मूल्य, संस्कार र संस्कृति हुनु पर्दछ भन्ने मानिन्छ । यद्यपि नेपालको वामपन्थी पार्टी र दलमा सबैभन्दा खड्किएको विषय नै यही भईदियो । ‘आफूसंग हुँदा चाट्ने र छुट्टिएपछि काट्ने’ जस्तो सोच, तरिका र व्यवहार कम्युनिष्टमा देखिँदै आयो । आफूसँग भएकाहरूको ‘सातखत माफ गर्ने’ प्रवृत्ति देखिन्छ । वामपन्थी दलमा यो एउटा ऐतिहासिक समस्या भईदियो । राजनीतिक र वैचारिक पार्टी फुट्न सक्दछन् । विभिन्न कारणले फुट्लान, जुटदछन् । अब फुट्ने वित्तिकै अराजनीतिक, गैरमानवीय र फौजदारी प्रकृतिका आरोप–प्रत्यारोप लगाईहाल्ने ? फलानो बलात्कारी भन्ने ? फलानो अपराधी भन्ने ? भ्रष्टाचारी हो भन्ने ? त्यो सोच र संस्कारले कहाँ पुर्उला कमरेड ?

 

विगतमा तत्कालिन नेकपा एमालेबाट माले विभाजित भई वामदेव गौतम बाहिर जाँदा रत्नपार्कबाट मुुलुकको एक नम्बर भ्रष्टाचारी व्यक्ति वामदेव गौतम भनियो । त्यसले कहाँ पुर्यायो कमरेड ? आजसम्म पनि विरोधी र विपक्षीले वामदेवलाई भ्रष्टाचारी भनेको कुरा उठाउँने गरेका छन् । आखिर तत्कालिन पार्टी निर्वाचन पछि एमालेमा आयो । यस्तो हुन्छ । अब अहिले नेकपा फुट्दैछ । तर भोलीका दिनमा निर्वाचन भए वा नभएपनि राष्ट्रिय राजनीतिका अनेकौं मोड र घुम्तीहरूमा यी अहिले भएका दुवै शक्ति मिलेर नै जानुपर्ने अवस्था बन्दछ । निश्चित रूपमा दुवै अलग्गै निर्वाचनमा गएपनि दुवै पार्टीको राष्ट्रिय शक्ति र हैसियत हुन्छ हुन्छ ।

 

यसैले अहिले नै कित्ताकाट र पानीवारावार गर्नु हुन्न कमरेड । ठीक छ राजनीतिक ढंगले आ–आफ्नो विश्लेषण र तर्क गर्न सकिन्छ र गर्नुपनि पर्दछ । तर कुरा यति हो खुईल्याउने नाममा पूरै नाङ्गो पारिदिने सोच, विचार र व्यवहारले खासमा नेपालको वाम आन्दोलन र किसान–मजदुरको शक्तिको धारलाई नै भुक्ते पार्ने काम गर्दछ भन्ने हो । राजनीतिक संयम र संस्कार नगुमाऔं कमरेड भन्ने हो । अर्काको राजनीतिक चरित्र र व्यक्तिगत आचरण माथि ढुङ्गा बर्साउने कार्यले आफूलाई पनि त्यस्तै प्रतिक्रिया देला होस गरौं कमरेडहरू भन्ने हो ।


पार्टीहरू युरोप–अमेरिकामा पनि फुट्दछन् र जुटदछन् । त्यो नौलो पनि होईन । दक्षिण एसिया र त्यसमा पनि भारत र नेपालको कुरा गर्ने हो भने इतिहासदेखि नै राजनीतिक पार्टी फुट्ने, टुट्ने, फेरि जुट्ने, चोईटिने, अन्य दलमा सामेल हुने जस्ता कार्य हुँदै आएका छन् । त्यो नयाँ र नौलो कुरा होईन । तत्कालीन नेकपा एमाले पनि फुटेकै पार्टी जुटेर शक्तिमा आएको थियो भन्ने नभुलौं कमरेड । माओवादी भन्ने पार्टी पनि त्यतिवेलाका विभिन्न वाम घटक जोडिएर बन्न गएको थियो । त्यसपछि त्यो माओवादीमा त विभिन्न समयमा विभिन्न समूह र गुट फुट भएका छन् । त्यो क्रम आज पनि जारी छ । यसरी पार्टी फुट्ने र जुट्ने हुन्छ । खाली पछि बोल्ने ठाउँ राखौं है कमरेड भन्ने हो ।

 

राजनीतिक र वैचारिक आलोचना गरौं कमरेड । तर्क, बहस, विमर्श, क्रिया, प्रतिक्रिया, अन्तरक्रिया गरौं कमरेड । तर एउटै कुरामा जोड के भने नाङ्गो भएर अर्कालाई पूरै खुईल्याईदिने गरी आलोचना गर्न पुग्यो र गैरराजनीतिक हर्कत बढ्न गयो भने त्यो प्रतिक्रियावादी र गणतन्त्रविरोधीलाई मात्र फाईदा हो कमरेड । प्रतिक्रियावादी र प्रतिगामी त्यो मौका र समय हेरेर बसेका छन् । शारीरिक हमला गर्ने, पार्टी कार्यालय कब्जाको नाममा हुलहुज्यत गर्ने, मारपीटमा उत्रने जस्ता कार्य र हर्कतले हाम्रो वामपन्थी आन्दोलनलाई घाटा हुन्छ कि नाफ कमरेड ? मूल चिन्ता र चासो यो हो ।


सशस्त्र युद्धको समय थियो त्यो अर्कै कोर्स थियो । त्यो वेला के भए के भएनन् ? सम्झेर ल्याउँदा मन पोल्छ, पीडा हुन्छ । अब त्यो कुरा इतिहास भईसक्यो । भुलौं त्यो इतिहासका खराब पक्षलाई । अब त लोकतान्त्रिक गणतन्त्रको युग भयो । जनता र नागरिकहरूकै चाहना, सहभागिता र सक्रियतामा लोकतन्त्र आएको हो । लोकतन्त्रको विकल्प सुन्दर, समृद्ध र जनतामा बढी आधारित लोकतन्त्र मात्र हो । लोकतन्त्र समृद्ध पार्नुको विकल्प छैन् । 


यस अर्थमा वामपन्थीले नेपालको इतिहासमा गरेको संघर्षको कुनै हिसाबले पनि बढी मूल्य छ र रहनेछ । लोकतन्त्र बचाउने र समृद्ध पार्न सक्ने शक्ति नेपालमा कुनै छ भने केवल वामशक्ति मात्र छ । वामशक्ति कमजोर हुनु भनेकोे लोकतान्त्रिक गणतन्त्र पनि कमजोर बन्नु हो । यस दृष्टिकोणले हेर्दा नेपालमा एकीकृत हुँदै गरेका तर एकीकृत बन्ने काम अवरूद्ध भएका पार्टीहरूमा न्यूनतम राजनीतिक संस्कार र राजनीतिक नैतिकता हराउनु भएन भन्ने हो । 


निश्कर्ष
विश्वको राजनीतिक इतिहास हेर्ने हो भने राजनीतिक पार्टी फुट्ने, जुट्ने र एकीकृत हुने आदिलाई नकार्न सकिन्न । नेपालको राजनीतिक इतिहासमा पनि त्यस्ता घटना धेरै भएका छन् र भविश्यमा पनि हुन्छन् । तर वामपन्थी विभाजनको पीडा भोगेका नेपाली वामपन्थी, लोकतन्त्रप्रेमीर प्रगतिशील जनतालाई हुने चिन्ता र चासो भनेको वामपन्थी पार्टी फुटेपछि विचार, मन र संगठन मात्र फुट्दैन उनीहरूमा आधारभूत राजनीतिक संकार र राजनीतिक मूल्य पनि फु्ट्छ भन्ने इतिहासबाट देखिन्छ । पार्टी फुट्नु भन्दा पनि बढी चिन्ता भनेको कुन समूहले फेरि अर्काे कुन समूहलाई के कस्तो गैरराजनीतिक र व्यक्तिवादी आरोप–प्रत्यारोप गर्ने हो भन्ने हो ।


 विरोध गरेपछि भित्तैसम्म पुग्ने गरी गर्नु पर्दछ भन्ने कम्युनिष्टको एउटा दर्शन पनि हो भन्ने पनि गरिन्छ । स्वयम् जर्मन दार्शनिक कार्ल माक्र्स (१८१८–१८८३) ले पनि एउटा सन्दर्भमा विरोध गर्दा यति खरो गर्नु कि उसको अड्ने, टेक्ने ठाउँ बाँकी नरहोस् भन्ने विचार दिएका थिए । तर त्यो त्यसबेलाको युरोपको अन्यापूर्ण, क्रुर र दमनकारी पुँजीवादी सत्ताको लागि भनिएको विचार थियो । 


आज लोकतन्त्र छ । समाज खुल्ला छ । विचार र आलोलनाको स्वतन्त्रता छ । सूचना र प्रविधिको युग छ । मानिसहरू स्वयम् जानकार तथा सूचित छन् । कसैले कसैको चाहिने भन्दा बढी खोईरो खन्यो भने बरू खोईरो खन्ने तर्फ नै खनिने समय र युग आएको तर्फ सबै सचेत बन्नु पर्दछ कमरेड । आलोचना गरौं, विरोध गरौं तर पछिको लागि ठाउँ पनि राखौं कमरेड । नाङ्गेझार पार्न आफू स्वयम् पनि नाङ्गो नबनौं कमरेड । आफूसँग हुँदा चाट्ने र छुट्टिएपछि काट्ने गर्दा वाम आन्दोलन कहाँ पुग्ला कमरेड ?
 

प्रतिकृया दिनुहोस