• मंगलबार-बैशाख-११-२०८१

एनटिभी इटहरीमा २ करोड १७ लाखको एसी काण्ड

 

काठमाडौं । नेपाल टेलिभिजनको इटहरी प्रसारण केन्द्रको २०७६ माघ १७ गते तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटाले उद्घाटन गरेर औपचारिक शुभारम्भ गरेका थिए । इटहरी प्रसारण केन्द्र शुरु हुनुभन्दा अगाडि यसको भवन निर्माण कार्य लामो समयसम्म पनि सम्पन्न हुन नसक्दा विवादमा परेको थियो । यसलाई नेपाल टेलिभिजन व्यवस्थापनले खराव आयोजनमा राख्दै पटक पटक भेरियसनमार्फत रकम थप्दै अन्ततः २०७६ माघ सम्ममा कामचलाउ अवस्थामा पु¥याइयो । सो भवनमा २०७६ माघ अगावै टेलिभिजन प्रसारण सम्बन्धी उपकरण र एसी लगायतका सामान जडान गरिसक्ने गरि ठेक्का लगाइएको थियो । भवनमा जडित करोडौंको एसी बेकम्मा भएपछि खरिदमा अनियमितताको भएको पुष्टि भएको छ ।


एनटिभीको उक्त प्रशारण भवनमा २०७६ माघ १७ अगावै एसी जडान गर्ने गरि हिमालयन रेफ्रिजरेसनलाई ठेक्का दिइयो । उक्त ठेक्का हिमालयन रेफ्रिजरेसनका कार्यकारी निर्देशक विजय कुमार चौधरीसँगको सम्बन्धको आधारमा नेपाल टेलिभिजनका योजना महाशाखा प्रमुख तथा खरिद एकाई प्रमुख सुरज थापाले हिमालयन रेफ्रिजरेसन मात्र योग्य हुने गरि सर्वाधिक महँगो डाइकिन एसीको स्पेसिफिकेसन राखि मिलेमतोमा ठेक्का प्रदान गरिएको आशंका छ । नेपाल टेलिभिजनको इटहरि प्रसारण केन्द्रको एउटा मात्र भवनमा २ करोड १७ लाख रुपैयाँ बराबरको एसी जडान गरि भ्रष्टाचार भएको दावी कर्मचारीहरूको रहेको छ । कर्मचारी श्रोतका अनुसार,सो भवनमा यत्रो मूल्य वरावरको एसी आवश्यक नै थिएन । 

 

२०७६ माघ १७ गते भित्र उक्त एसी सञ्चालनमा आउनु पर्ने थियो । तर, हालसम्म उक्त एसी पूर्ण रुपमा सञ्चालनमा आएको छैन । ठेक्का पूर्ण हुनुपर्ने समय भन्दा एक वर्ष नाघिसक्दा उक्त ठेकेदारलाई कारवाही गरिनु पर्नेमा हालै सेवा निवृत्त भएका लेखा महाशाखा प्रमुख शरदचन्द्रश्रेष्ठले रोक्का गरेर राखेको भुक्तानी, उनले अवकाश पाए लगत्तै लेखा महाशाखामा आएका पवन माण्डव्यले तत्काल भुक्तानी दिएर विवादमा परेका छन् । 


स्मरण रहोस् यस अघि संस्थानलाई करिव ८ करोड रुपैयाँ हानिनोक्सानी गराउने फर्जी बैंक ग्यारेन्टी काण्डमा संलग्न भई निलम्बन तथा बढुवा रोक्काको सजाय पाईसकेका व्यक्ति हुन माण्डव्य । उक्त भुक्तानीको विरोध गर्दै सम्बन्धित ठेकेदारलाई कारवाही हुनुपर्ने माग राख्न गएको नेपाल टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष विश्वेश्वर पौडेलको समूहलाई विचरा ठेकेदारको रकम वर्ष दिन सम्म रोक्का राख्दा उसलाई मर्का पर्ने देखिएकोले भुक्तानी दिएको भनेर जवाफ दिएर उम्किने प्रयास गरेको कर्मचारी युनियन श्रोत बताउछ । 


जति धेरै रकमको ठेक्का त्यति धेरै कमिशन आउने भएकोले अनावश्यक स्थानहरूमा पनि एसी जडान गरिएको एनटिभी इटहरीमा कार्यरत कर्मचारीहरूको गुनासो छ । त्यसैगरि उक्त हिमालयन रेफ्रिजरेसनसँग मिलेमतोमा खरिद गरिएको अनावश्यक जेनरेटरहरू पनि हाल नेपाल टेलिभिजनको प्रागणमा घाममा सुकाएर राखिएको खबर छ । सामान खरिद हतारमा गर्ने र उपयोग नगर्ने नेपाल टेलिभिजनको पुरानै रोग भइसकेको कर्मचारी गुनासो गर्छन् । यस अघि करोडौं लागतमा किनिएका नौ वटा टेरेस्ट्रियल ट्रान्समिटरहरू नेपाल टेलिभिजनको गोदाममा थन्किएर बसेका छन् । राष्ट्रिय धनको यत्रो क्षति हुँदा पनि व्यवस्थापन पक्ष रमिते बनेको भन्दै कर्मचारी युनियनका पदाधिकारीहरूले आक्रोस पोखेका छन् ।  
 

प्रतिकृया दिनुहोस