• बिहीबार-बैशाख-१३-२०८१

खैरो हिरोइनसहित तीन पक्राउ

प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरका तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर क्षेत्रीय अनुसन्धान (आरआर्इटी) बाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१८ बाट एक र बेदकोट नगरपालिका–९ बाट दुई जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको हो ।


बैतडी दशरथ नगरपालिका–४ घर भई हाल भीमदत्त नगरपालिका– १८ का २५ वर्षीय नरेश दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए । पक्राउ परेका दमाईको साथबाट १४ ग्राम ४२० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ ।


यसैगरी बेदकोट नगरपालिका–९ का ३० वर्षीय भीमबहादुर विष्ट र २७ वर्षीय हिक्मत विष्टलाई लालपुरबाट तीन ग्राम २४० मिलीग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


यसैबीच लागुऔषध फेरागन मुद्दाका फरार प्रतिवादी भीमदत्त नगरपालिका–३ का ४२ वर्षीय जयबहादुर धानुकलाई समेत प्रहरीले मङ्गलबारै पक्राउ गरेको छ । तीन वर्षअघिदेखि फरार रहेका धानुकलाई कञ्चनपुर जिल्ला अदालतले दुई महिना कैद र रु ८२ हजार जरिवाना सजाय तोकेको थियो । अदालतले जरिवान र सजाय तोकेपछि धानुक फरार रहँदै आएका थिए । घरमै लुकीछिपी बसेको बेला प्रहरीले पक्राउ गरेको हो ।
 

प्रतिकृया दिनुहोस