• बिहीबार-चैत-१५-२०८०

घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु


तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु भएको छ । यही पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको  बाघको सोमबार उपचारका क्रममा मृत्यु भएको हो । 


डिभिजन वन कार्यालयमा भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्रका चिकित्सकको सहयोगमा उपचार भइरहेको बाघको मृत्यु भएको सवडिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिए । मृत्यु भएको  बाघलाई कार्यालय प्राङ्गणभित्रै खाल्डो खनेर गाडिएको छ ।  बाघको खुट्टा र ढाडमा चोट लागेको थियो ।


शुरुमा उद्धार गर्दा चितुवाको बच्चा भनिएपनि पछि अध्ययनको क्रममा संरक्षित चरीबाघ भएको पत्ता लागेको थियो । प्रमुख भुजेलका अनुसार जिल्लामा पहिलो पटक चरी बाघ भेटिएको हो । “तनहुँमा पनि चरी बाघ रहेछ भन्ने अवगत भयो । यसअगाडि चरी बाघ छ भन्ने थाहा थिएन”, उनले भने । 
 

प्रतिकृया दिनुहोस