• बुधबार-मङ्सिर-१०-२०७७

‘३० करोड दिन सक्छु, एक करोड दिन सक्दिनँ’ स्वास्थ्य मन्त्रालयले भनेछ !

कुनै न कुनै स्वास्थ्यमन्त्री त आउलान्, जसले जनस्वास्थ्यको महत्त्व बुझ्ने छ

 


‘नेपालका हजारौं बालबालिकाको मुटु बिग्रने समस्याबाट बचाउन सकिन्छ’ भनेर हृदय रोग प्रतिष्ठानले सरकारसँग एक करोड दिने आग्रह गर्‍यो । नेपाल सरकारका स्वास्थ्य मन्त्रालयका कर्मचारीले उक्त प्रतिष्ठानलाई भनेछन् ‘हामीले तपाईंलाई यो पैसा दिए, तपाईंबाट हामीले कति पाउने त ?’ यसरी सिधासिधा ‘घुस’ मागेपछि प्रतिष्ठानका मान्छे लुरुक्क फर्केछन् ।


बाथ–मुटुरोग लागेर पेनिसिलिन सुई एक वर्षभरि दिँदा रु. ६ सय लाग्छ, पाँच वर्षसम्म लगाउनुपर्ने सुईलाई ३ हजार रुपैयाँ पर्ने रहेछ । तर यति सस्तो पेनिसिलिनको सुई नपाउँदा मुटु बिग्रेर गंगालालमै बालबालिका उपचार गर्न आउनुपर्ने रहेछ ।


पन्ध्र वर्ष मुनिकालाई सित्तैंमा उपचार गराउनको लागि सरकारले गगांलाल अस्पताललाई रु. ३० करोड दिने रहेछ । त्यो ३० करोड रुपैयाँमा स्वास्थ्य मन्त्रालयका कर्मचारीले कति पैसा पाउँदा हुन्, गंगालाल अस्पतालको व्यवस्थापनले कहिले पनि खुलाउने छैन ।


यदि प्रकाशले लगाएको आरोप स्वास्थ्य मन्त्रालयलाई गलत लाग्छ भने मन्त्रालय, सिधै मानहानी भनेर डा. प्रकाश विरुद्धमा अदालतमा जानै पर्छ । होइन भने स्रोत भएर पनि, बालबालिकाको मुटु बचाउने काम गर्न नचाहने भनेर उपभोक्ताले स्वास्थ्य मन्त्रालयलाई अदालतमा उभ्याउनुपर्ने छ ।


‘तपाईं कति महिलाको मातृ मृत्युदरको बारेमा कुरा गर्नुहुन्छ ? सुत्केरी हुँदा मर्ने महिलामध्ये २० प्रतिशत त बाथ मुटु रोगले मर्छन् । यसको बारेमा कुरा गर्नुहुन्न’ , बाह्र वर्षअघि डा. प्रकाशले मलाई भनेका थिए । त्यो बेलामा डा. प्रकाशको कुरा सुनेर ‘मुटु’ त केही दुखेको थियो । तर अध्ययन गरेपछि बुझेँ कि उनले ठीक भनेका रहेछन् ।


‘यो रोग जोर्नीमा बस्छ तर मुटु खान्छ’ हामीलाई विद्यार्थी हुँदा एक प्रोफेसरले बताएका थिए । बालबालिकालाई बारम्बार घाँटी दुख्दा, टन्सिल पाकेर बारम्बार बिमारी हुँदा यदि समयमा उपचार गरिएन भने जोर्नी दुख्न सुरु हुन्छ र दुख्न कम हुने औषधी खाएपछि ठीक हुन्छ तर बिस्तारै मुटु बिग्रँदै जान्छ ।


डा. प्रकाशराज रेग्मीले ‘टन्सिलले बिगारेको मुटु’मा लेखेका छन् । किताब हेर्दा कुनै चिकित्सक र विद्यार्थीले मात्रै पढ्ने किताब हो कि जस्तो लाग्छ तर यो किताबले नेपालको सामाजिक जीवन, आर्थिक जीवन, लैगिंक विभेद पिछडिएका समुदायले मान्नुपर्ने पीडा, स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूको घुस लिने इच्छा, ठूला अस्पतालमा काम गर्ने, डाक्टरहरूले पनि जनस्वास्थ्यको मुद्दालाई वेवास्ता गरेको देखाएको छ ।


बालबालिकाको मुटु बिग्रने, मुटु–बाथरोग रोकथाम गर्ने कामको सहयोग रोकेर ‘नेताका नाममा खुलेका संघ–संस्था र अस्पतालले पैसा लग्थे’ प्रकाश लेख्छन्, ‘एैरेगैरे अस्पताललाई पैसा दिने स्वास्थ्य मन्त्रालयले मुटु–बाथरोगको रोकथामको लागि चाहिँ पैसा दिन नचाहेका कुरा’ पनि प्रकाशको यो किताबबाट थाहा हुन्छ ।


‘बाथ मुटु, रोगले धनी मानिस त्यति धेरै डराउँदैन, त्यसैले स्वास्थ्य मन्त्रालयले यसको बारेमा त्यति धेरै चासो राख्दैन । यतिमात्र होइन विकसित देशमा यो समस्या धेरै न्यून भएकोले होला । विश्व स्वास्थ्य संगठनजस्तो संस्थाले पनि वास्ता गर्दैन’ किताबमा डा. रेग्मी भन्छन् । ‘टन्सिल’ भएर आमाबुबाले खासै वास्ता नगर्दा बालबालिकाहरू मुटु बाथरोग भएर तड्पी तड्पी मर्नु परेको धेरै घटना यो किताबमा छ ।

 


मुटु–बाथरोग भएकी एक महिला विवाहपछि मुटुमा समस्या परेर प्रकाशकहाँ आउँदा र जाँच गराउँदा उनलाई धेरै अघिदेखि मुटु बाथरोग भएर मुटु खराब भइसकेको कुरा थाहा हुन्छ । ‘यो रोगको राम्रोसँग शल्यक्रिया गरेर उपचार हुन्छ । तर केही समय तपाईं गर्भवती नहुनुहोस् ।

 

यसले गर्दा तपाईंको स्वास्थ्यमा समस्या पर्छ’ भनेर प्रकाशले श्रीमानसँग आएकी श्रीमतीलाई भन्दा श्रीमानले ‘यति बच्चा पाउन नसक्ने स्वास्नी मलाई चाहिन्नँ’ भनेर छोडिदिएको घटना पढ्दा मनमा लाग्यो, यदि ती श्रीमानको मुटु–बाथरोग भएको भए के श्रीमतीले छोड्थिन् होला र ? अवस्य पनि श्रीमानलाई त्याग्ने थिइनन् । उनले त उपचार गर्न मद्दत गर्थिन्, दिनरात सेवा गर्थिन् नि !


यस किताबमा डा. प्रकाशले मुटु छुने घटना लेखेका छन् । एकजना २१ वर्षीया युवतीको टन्सिलको संक्रमण भएर, बाथ भएका मुटुरोग भएपछि, गंगालालमा आएर उपचार गरिन् । । तर शल्यक्रिया पछि खाइरहनु पर्ने विभिन्न औषधि त सरकारले सित्तैमा दिँदैन । छोरीको लागि औषधि किन्दाकिन्दा आजित भएका आमाबुबाले ‘यो अलच्छिनी त मरे पनि हुन्थ्यो’ भनेर सुनाउने गर्दा रहेछन् । युवतीले आँखाभरि आँशु लिएर डाक्टरलाई वेदना पोख्दा असहाय भएर सुनिरहनु परेको घटना प्रकाशले लेखेका छन् । पढेर मन नै कुँडिन्छ ।


यदि सरकारले त्यस्ता बाथरोग लाग्नबाट बालबालिका बचुन् भनेर पाँच वर्षको लागि ३ हजार रुपैयाँको पेनिसिलिन उपलब्ध गराएको भए, ती युवती एक सबल नागरिक भएर बाँच्न सक्थिन् । आमाबुबाले छोरी मरोस् भन्ने चाहना राख्नुपर्ने थिएन होला ।


कुनै न कुनै स्वास्थ्यमन्त्री त आउलान्, जो जनस्वाथ्यको महत्त्व बुझ्ने छ, जसले एक करोड दिएर ३० करोड बचोस् भन्ने इच्छा राख्नेछन् । सीमान्तकृत र दलितलाई माया गर्ने छन् । अनि उनीहरुले बाथ मुटु रोगबाट बच्न के गर्ने भनेर जनस्वास्थ्य विज्ञसँग छलफल गर्नेछन् र बच्चालाई टन्सिल भयो कि एन्टिबायोटिक दिनको लागि स्वास्थ्यकर्मीलाई प्रेरणा दिनेछन् । त्यस्तो बेलापछि यो किताब इतिहास बन्नेछ र बाथ–मुटुरोग कम पार्ने जनस्वास्थ्य विज्ञका इच्छा पूरा हुनेछ ।
 

प्रतिकृया दिनुहोस