• बुधबार-बैशाख-१२-२०८१

 उद्योग वाणिज्य महासंघकाे नेतृत्वकाे मर्यादाहीन र अनैतिक चरित्र छताछुल्ल ! 

इतिहासमै पहिलाेपल्ट भ्रष्टाचारकाे  कलंक 

 

 

काठमाठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभाको निर्वाचन नजिकिँदै गर्दा यसभित्रको राजनीति जसरी सार्वजनिक हुँदै गएको छ, त्यसले महासंघको आगामी यात्रालाई त थप पेचिलो बनाउने निश्चितजस्तै छ । महासंघ नेतृत्वले हाल प्रदर्शन गरिरहेको व्यावसायिक मूल्य–मान्यता, आचरण, पेसागत अनुशासन, तटस्थता र नैतिकता विपरीतका गतिविधिले महासंघको ६ दशक लामो इतिहासलाई नै कतै अँध्यारो गन्तव्यतिर लाने त होइन भन्ने आशंकासमेत सिर्जना भएको छ ।

 

अहिले नेतृत्वमा रहेकी अध्यक्ष भवानी राणा र वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा संस्थालाई निष्पक्ष, अनुशासित, सन्तुलित, आग्रह–पूर्वाग्रहबाट मुक्त भएर सञ्चालन गर्नुुको साटो आफू नेतृत्वमा निर्वाचित हुँदाका बखत गरिएका वचनबद्धताहरूबाट विमुखसमेत भएका छन् । यसकारण नेपाल उद्योग वाणिज्य महासंघमा भविष्यमा थप जटिलता सिर्जना हुने देखिएको छ ।

 

नेतृत्वकाे दुखद र निन्दनीय व्यवहार 

 

यसको मुख्य कारणका रूपमा आगामी निर्वाचनबाट बहिर्गमित हुन लागेकी अध्यक्ष भवानी राणा र भावी नेतृत्वमा आउन लागेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छामा आम उद्योगी–व्यवसायीको भावना तथा महासंघको मर्यादा र गरिमा विपरीत हाल देखिएका पक्षधरतापूर्ण गतिविधिहरूलाई लिन सकिन्छ । यी दुवै पदाधिकारीले संस्थागत अनुशासन र मर्यादाको सीमा नाघेर हाल किशोर प्रधान नेतृत्वको समूहको भेला–प्रचार अभियानलाई तीव्रता दिइरहेका छन् । किनभने जिम्मेवार पदमा बसेकाहरूबाट नै महासंघलाई विवादित र अमर्यादित बनाउने गरी एकपक्षीय रूपमा लागिपर्नु दुःखद र निन्दनीय व्यवहार भएको टिप्पणी यस क्षेत्रमा गरिँदैछ । 


अध्यक्ष राणाको जिम्मेवारी भनेको महासंघमा व्यावसायिक, राजनीतिमुक्त, नैतिकवान्, इमानदार र सबल नेतृत्व स्थापित गर्न सहयोग गरेर बिदाइ हुनुपर्ने हो । साथै वरिष्ठ उपाध्यक्ष हैसियतमा विधानतः भावी अध्यक्ष शेखर गोल्छाको चाहिं  निर्वाचित हुने सम्पूर्ण व्यक्तिहरूलाई एकताबद्ध बनाउँदै दरिलो विश्वास आर्जन गर्दै महासंघलाई अगाडि बढाउने अपेक्षित दायित्व हो । तर यी दुवै महासंघ पदाधिकारीहरू भने आफ्ना दायित्व र कर्तव्य बिर्सेर गैरजिम्मेवार बन्दा महासंघमा थप विवाद र अन्योलको अवस्था सिर्जना हुन सक्ने देखिन्छ । जसप्रति आम उद्योगी–व्यवसायीहरूको चासो र चिन्तासमेत प्रकट भएको छ ।

 

२०७७ मंसिर ११ देखि १३ गतेसम्म हुने सँघारमा पुगेकाे महासंघकाे  ५४ औं साधारण सभा र  महासंघको निर्वाचन गतिविधिलाई नजिकबाट नियालिरहेको स्रोतका अनुसार अध्यक्ष राणाले नेतृत्वमा रहेर स्वतन्त्रता, तटस्थता र निष्पक्षताको अपेक्षित मान्यता विपरीत वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान समूहको पक्षमा भिडियो सन्देश नै जारी गरेर मतदाता प्रभावित पार्ने  दुष्प्रयास गरेकी छिन् । यस्ता क्रियाकलापले निष्पक्ष रूपले महासंघको नेतृत्व हस्तान्तरण गरेर व्यावसायिक निष्ठा कायम गर्नुपर्ने अभिभारामा आँच आउने देखिँदैछ । यसले गर्दा महासंघमा अस्वस्थ प्रतिस्पर्धा र भाँडभैलोको अवस्था आउने सम्भावना छ । 

 

अर्कोतर्फ वरिष्ठ उपाध्यक्ष गोल्छा पनि समूहगत आग्रहप्रेरित भएकाले भविष्यमा समस्या सिर्जना हुनसक्ने  गंभीर अवस्था आउँदैछ । किनभने, महासंघको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी रहेका उद्योगी चन्द्रप्रसाद ढकाल नेतृत्वको समूह ठूलो संख्यामा विजयी बनेर आउने सम्भावना प्रबल देखिएको छ । यसले गर्दा हाल किशोर प्रधान समूहमा खुलेका वरिष्ठ उपाध्यक्ष  तथा एक हप्तापछि अध्यक्ष   हुने  गोल्छाले महासंघकाे  नेतृत्व हाँक्न र विश्वास आर्जन गर्न हम्मेहम्मे पर्ने निश्चितजस्तै छ । 

 

 महासंघजस्तो छाता संगठनलाई मर्यादित, अनुशासित र व्यावसायिक रूपले सञ्चालन गर्नुपर्नेमा नाङ्गो रूपमा पक्षधरता लिँदा व्यावसायिकता थप कमजोर भएको छ । वास्तवमा सचेत रूपमा नै यो दुर्भाग्यपूर्ण अवस्था गोल्छा आफैंले निम्त्याएकोमा दुई मत छैन । उनको इतर समूह ठूलो संख्यामा निर्वाचित हुँदा उनलाई चुनौती त खडा हुने नै छ, साथै अविश्वास र विभाजित मानसिकताका कारण महासंघ नै दुर्घटनामा पर्न जाने खतरासमेत बढ्नेछ । 

 

 गोल्छाको खुल्लम्खुल्ला पक्षधरतापूर्ण गतिविधिले भविष्यमा महासंघको स्थायी, कार्यकारिणीलगायतका समितिमा ठूलाे समस्या सिर्जना हुने देखिन्छ । अन्ततः अल्पमत र कमजोर अध्यक्षका रूपमा नेतृत्वमा रहनुपर्ने अवस्था सिर्जना भयो भने बिचबाटाेबाटै अध्यक्षकाे  जिम्मेवारीबाट मुक्त हुनुपर्ने  दुखद दिनसमेत आउन सक्ने आंकलन  गर्न थालिएकाे छ । वास्तवमा यसको नैतिक जिम्मेवारी पूर्वअध्यक्ष चण्डीराज ढकाललाई जान्छ किनभने महासंघको विद्यमान विधान जबर्जस्ती  संशोधन गर्ने कार्य उनको सक्रियतामा भएकाे थियाे । जसले गर्दा  महासंघले इतिहासमै कमजाेर र  क्षमताहीन भवानी राणाकाे नेतृत्व भाेग्न बाध्य हुनु पर्याे  । 

 

इतिहासमै पहिलाेपल्ट भ्रष्टाचारकाे  कलंक 


   नेपाल उद्योग वाणिज्य महासंघ जस्ताे  उद्याेगी-व्यवसायीहरूकाे छाता  संस्थाको मर्यादा, नेतृत्वको जिम्मेवारी बिर्सेर महासंघलाई दुर्भाग्यपूर्ण स्थितिमा पु¥याउनमा अध्यक्ष भवानी राणाको  भूमिका इतिहासले नबिर्सिने कालाे इतिहास बनेर रहेने भएकाे छ । महासंघको ६० बर्षे इतिहासमा कहिल्यै नभएको भ्रष्टाचार र अनियमितता राणा–नेतृत्वकालमा नै भई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दासमेत प¥यो ।


  कृषि मन्त्रालयबाट महासंघको कृषि उद्यम केन्द्रका लागि विभिन्न आर्थिक वर्षहरूमा प्रदान गरिएकाे पचासाैं कराेड रुपैयाँ दुरूपयोगको मुद्दामा हाल छानबिनको प्रक्रिया चलिरहेको छ । यसका साथै महासंघलाई उद्योग–व्यवसाय प्रवर्द्धनका लागि विभिन्न दाता, निजी क्षेत्र र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूबाट प्राप्त अनुदानमा समेत राणाकै कार्यकालमा अधिकतम दुरूपयोग भएको जानकारहरूको भनाइ छ । यसले गर्दा राणा–गोल्छा नेतृत्व महासंघलाई अधाेगतितिर लाने मतियार सावित हुने विभिन्न घटनाक्रमहरूले पुष्टि गर्दै आएका छन् । निर्वाचनको सँघारमा विवेक पु¥याउने दायित्व भने मतदाताका रूपमा रहेका आम उद्योगी–व्यवसायीको निर्णयमा निर्भर रहनेछ ।            
 

प्रतिकृया दिनुहोस