• शुक्रबार-बैशाख-१४-२०८१

कोठाभाडा तिर्न गाह्रो छ कसरी पढाउने बालबच्चा : सोम मगर

 

(कोरोना भाइरसको महामारीले कस्ता कस्ता मै हुँ भन्नेको पनि ज्यान गयो, जागिर गयो । एउटा तथ्याङ्क अनुसार नेपालमा १६ लाख जनाले रोजगारी गुमाएका छन् । नपढेका भन्दा पढेका बढी बेरोजगार भएका छन् । स्वरोजगार भएकाहरूको पनि कोरोनाले कतिपयको जीवन र अनि रोजगारी खोसिदियो । यस्तोमा यातयात क्षेत्रमा काम गर्नेहरू पनि निकै मर्कामा परेका छन् । अहिले पनि त्यो समस्या यथावत् छ । थुप्रै गाडी भएका व्यवसायी पुर्पुरोमा हात राखिरहेका छन् । अर्काको ट्याक्सी चलाउने सोम मगर त्यसबाट कसरी अछुतो हुन्थे । बा २ च २६५६ नम्बरको ट्याक्सीका चालक सिन्धुलीका ४० वर्षे यी युवा कसरी सताइएका छन् त भनी सडक पाइलटसँगको अन्तरंगमा साँघु प्रतिनिधिलाई यसरी आफ्नो भावना पोखेका छन्–सम्पादक)

 

० कति भयो गाडी चलाउन थालेको ?
–७–८ वर्ष भयो । 


० के चलाउनु भयो पहिले ?
–मैले पहिले ट्याम्पु चलाउँथेँ । त्यसलाई छाडेर पसलतिर काम गर्थें । अहिले ट्याक्सी चलाउन थालेको मात्र ७–८ वर्ष भयो । 


० ढोकामा बसिएन ?
–बस्न परेन । सीधै चलाएको हुँ । 


० उमेरअनुसार त्यसभन्दा अगाडि के गर्नुहुन्थ्यो त ?
–गाउँमै बसेर काम गरियो । खेतीपाती गरियो । 


० कस्तो छ अहिले यो लाइन ?
–पहिलेको जस्तो रहेन । बर्बादै छ ।


० कमाई कस्तो छ ?
–न्यून छ । लकडाउन भएपछि सबै वर्वाद भयो । त्योभन्दा निकै कम छ आम्दानी । 


० के गर्नुभयो लकडाउनमा ?
–लकडाउनका बेलामा गाउँ गएको थिएँ । गाउँमा खेती गरियो । धान रोपियो । असोजमा मात्रै बल्ल काठमाडौं आइयो । पहिलो लकडाउन खुलेपछि भन्दा दोस्रो पटक खुलेपछि बल्ल आइयो । 


० अब पनि कमाई छैन ?
–जोरबिजोर चलिरहेको छ । कहिले बोहनी पनि हुँदैन । कहिले हजार १२ सय हुन्छ । यस्तै छ । 


० साहुलाई पनि दिनुपर्ने होला हैन ?
–भएको बेलामा दिने त हो । बोहनी नै नभएपछि के दिने । 


० अनि जोरविजोरको पालना गर्नुभएको छ ?
–गर्नैप¥यो नि । आम्दानी भएको हुँदैन फ्याट्ट चिट काट्यो भने कहाँबाट तिर्नु । मैले त गाडी निकालेको छैन । 


० अब के गर्ने सोच हो ?
–अब के गर्नु र जानेको यही हो । यसमै हुन्छ होला । नयाँ काम गर्न जानिँदैन । 


० विदेशतिर गएर कमाउँछु भन्ने छ कि ?
–विदेश जाने सोच छैन । पहिले जान खोजेको थिएँ । यहाँ परिवारमात्र थियो । साना साना बच्चा । त्यत्तिकै छाडेर जाने मन लागेन र गइन । 


० कति छन् सन्तान ?
–बच्चा २ जना । छोरी ८ मा पढ्छ । छोरी ५ मा पढ्छ । 


० पढिरहेकै त होला नि हैन ?
–अब बल्ल पढ्न थाल्दैछ । लकडाउन भएपछि गाउँमा गए । केही पढ्ने कुरो भएन । अनलाइन कक्षा पहिलेदेखि गरेको रहेछ छुट्यो । 


० कहाँ पढ्छन् ?
–यही काठमाडौंमै पढछन् । पारिजात स्कूलमा । अहिलेसम्म पढेका थिएनन् । मिटिङ राखेर सबैले कक्षा नि गर्ने भनेको छ । बल्ल रुटिन र किताबको लिष्ट ल्याएँ । हामी गाउँमा भएकाले अनलाइन सुविधा थिएन ।

 
० गाउँमा अनलाइन लिन सकिएन ?
–कहाँबाट लिनु न्यून वर्गको मान्छेले । मोबाइलको समस्या थियो । 


० अब कसरी गर्दै हुनुहुन्छ त ?
–५ कक्षादेखि मुनिलाई होमवर्कमात्र दिने रे । ६ कक्षादेखिमाथिलाई अनलाइनमा क्लास लिने रे । 


० फी तिर्नुभयो त ?
–कोठाभाडा तिर्न गाह्रो भयो । पहिलेको पैसा पनि तिर्नुपर्छ भन्छ । सकिएका जस्तो छैन । कसरी तिर्ने हो । 


० सरकारले केही दिएन ?
–हाम्लाई सरकारले के दिन्छ र ? खै के देला । दुःख छ । 


० आफूले कति पढ्नु भयो ?
–पढेको छैन भनेपनि हुन्छ । ५–६ कक्षा मात्रै । 


० किन पढ्न छोडियो ?
–बाबुआमा अशिक्षित भए । काममा व्यस्त हुनुपर्ने । कमजोर अवस्था पनि भयो । शिक्षा दिनुपर्छ भन्ने बाबुआमामा चेतना नआएर होला । 


० छोराछोरी पढाउनु पर्छ भन्ने तपाईलाई त छ नि ?
–छ । त्यसैले बोर्डिङमा हालें । लकडाउनले सबै बिगा¥यो । 


 

प्रतिकृया दिनुहोस