• शनिबार-बैशाख-१५-२०८१

प्रदेश-२ को स्थायी राजधानीका सर्लाही राख्न सर्वपक्षीय माग 

 

 

काठमाडाैं ।  स्थायी राजधानी सर्लाही संघर्ष समितिको आयोजनमा "प्रदेश २ को मध्य भूभाग सर्लाहीमा राजधानीको सम्भावना, चुनौती र तपाई-हाम्रो भूमिका" विषयक सर्वपक्षीय सर्वदलीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

संघर्ष समितिको संयोजक चन्द्र भुषण साहको अध्यक्षतामा २०७७ कात्तिक ७ गते भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सबै वक्ताहरुले यस अभियानलाई आ-आफ्नो स्थान र स्तरबाट सहयोग गर्ने प्रतिबद्धताका साथसाथै अभियान सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।

अन्तर्क्रिया कार्यक्रम सम्पन्न भ ए लगतै प्रदेश २ को बीच भाग सर्लाहीमा राजधानीका लागी संकल्प यात्रा तथा दीप प्रज्वलन कार्यक्रमको समेत आयोजन गरिएको थियो । 

 

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संयोजक साहले भने "मुलुकमा आम नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र आईसकेको छ। तर यसलाई ठोस संस्थागत ढंगबाट अभ्यास गर्ने महत्वपूर्ण कडीको रुपमा रहेको प्रदेशहरुको स्थायी राजधानी तोक्ने सवालमा देशको ७ ओटा मध्य ६ ओटा प्रदेशले आ-आफ्नो स्थायी राजधानी तोकिसक्दा समेत प्रदेश नं. २ को सरकार आफ्नो कानमा तेल हालेर सुतिरहेकाे छ ।”

 

यो पछौटेपनको विडम्बनापूर्ण यथार्थ सिङ्गो प्रदेश-२  र हामी सारा प्रदेशवासीहरुको अपमानको विषय हो। यसका लागि तपाई-हामीले प्रदेशको सारा विधायकगण, मुख्यमन्त्री तथा मन्त्रीगण सबैमा शशक्त खबरदारी गर्न अपरिहार्य छ ।"

 

उनले अगाडि थपे, “प्रदेश नं. २ को पूर्वी जिल्ला सिरहा-सप्तरी र पश्चिमी जिल्ला बारा-पर्साको बिच यानेकी मध्य भूगोलमा अवस्थित सर्लाही एउटा पुरानो विरासत बोकेको स्थान हो। यो स्थान प्रदेशको अन्य स्थानको तुलनामा धार्मिक, भाषिक एवं सांस्कृतिक विविधताले पनि भरिपुर्ण छ।

 

यहाँ मधेशी, मुस्लिम, थारू, खस-बाहुन, क्षेत्री, दलित, मगर, भोटे, तामाङ्ग लगायतका आदिवासी जनजातिहरुको समेत उल्लेख्य बाहुल्यता छ । समग्रमा हेर्दा यसलाई एउटा मिनी (सानो) नेपालको रुपमा समेत लिन सकिन्छ । सामाजिक सद्भाव र शक्ति सन्तुलनको हिसाबले समेत यो स्थान स्थायी राजधानीको लागी उपयुक्त हो।”

 

सर्लाहीमा स्थायी राजधानी निर्माण भएमा प्रदेश नंबर २ को साथसाथै सिङ्गो मुलुकको पनि आर्थिक समृद्धि र विकासमा महत्वपूर्ण योग्दान पुग्ने संयोजक साहको ठहर छ । उनले यस न्यायोचित अभियानमा लाग्न सबै प्रदेशवासिलाई आग्रह समेत गरेका छन ।

 

कार्यक्रममा ईश्वरपुर नगरपालिका नगर प्रमुख मनोज देवकोटा, उपप्रमुख एकावती देवी चौधरी, नेपाली कांग्रेस ईश्वरपुरका नगर सभापती बेचु प्रसाद तिमलसिना, जनता समाजवादी ईश्वरपुर नगर समितिका संयोजक पंची महतो, नेकपाको नगर संयोजक रामपृत राय यादव, नेकपाको प्रदेश नं. २ को कार्य समिति सदस्य सुशील थपलिया, विभिन्न वडाका वडा अध्यक्षहरु, युवा, विद्यार्थी, उद्योग वाणिज्य संघका प्रतिनिधि, नागरिक अगुवा,बुद्धिजीवी, पत्रकार, समाजसेवी लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले समेत जाेडदार समर्थन  जनाएका थिए । 
 

प्रतिकृया दिनुहोस