• सोमबार-कार्तिक-१०-२०७७

बिदा मनाउन हिँडेका ‘डच’ राजा रानी विरोधपछि स्वदेश फिर्ता


द हेग। कोरोनाभाइरस महामारीका बेला बिदा मनाउन विदेश हिँडेका ‘डच’ राजपरिवारका सदस्यहरूप्रति लक्षित भई तीब्र विरोध भएपछि उहाँहरू भोलिपल्ट नै स्वदेश फर्किनुभएको छ । 

 

नेदरल्याण्डमा कोभिड–१९ फैलिन नदिन सर्वसाधारणलाई घरमै बस्न अनुरोध गरिरहेका समय सरकारी विमानमा ग्रीसतिर बिदा मनाउन गएको भन्दै राजपरिवारको तीव्र आलोचना भएको थियो ।

 

राजा विलेम र रानी म्याक्सिमा शुक्रवार ग्रीसतिर जानुभएको थियो तर विरोधपछि उहाँहरू शनिवार साँझ नै स्वदेश फर्किनुभएको हो । विदामा ग्रीस जान हिडेको भएपनि आफूहरूले कुनै नियमको उल्लङ्घन नगरेको तर तीव्र आलोचनाबाट आफूहरू प्रभावित भएको राजा विलेम र रानी म्याक्सिले बताउनुभएको छ । 

 

प्रधानमन्त्री मार्क रुटले राजा रानीलाई बिदामा जान सुझाब दिएको हुनसक्ने चर्चाहरूबीच यस विवादले उहाँसमेत दबाबमा परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

दरबारको विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९ भाइरस नियन्त्रणमा लिन निर्धारित निर्देशिका पालना हुनुपर्छ भन्नेबारे कुनै शङ्का छैन। हाम्रो बिदा मनाउने विषयमाथि भइरहेको बहसले त्यसलाई सहयोग पु¥याउँदैन ।”

 

विलेम एलेग्जेन्डर सन् २०१३ मा राजा बन्नुभएको थियो । 

 

नेदरल्यान्डको दैनिक राज्य सञ्चालन प्रक्रियामा डच राजपरिवारको कुनै औपचारिक भूमिका रहन्न । तर प्रधानमन्त्रीले नेतृत्व गरेको मन्त्रालय राजपरिवार के भन्छ र के गर्छ भन्नेबारे जिम्मेवार रहन्छ । (रासस÷एएफपी) 

प्रतिकृया दिनुहोस