• बुधबार-बैशाख-५-२०८१

संक्रमण काबु बाहिर जान नदिन काँग्रेसद्वारा  संसद्को विशेष अधिवेशनकाे माग


काठमाडौँ, ३० असोज (रासस) : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९) संक्रमण काबु बाहिर जान नदिनका लागि सो विषयमा गम्भीर छलफल गर्न सङ्घीय संसदको विशेष अधिवेशन बोलाउन माग गरेको छ ।


काँग्रेसको कोभिड—१९ अनुगमन समितिले कोरोना महामारीका कारण मुलुकमा मानवीय र आर्थिक संकट गहिरिंदै गएको र सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै यस विषयमा छलफल गर्न संसदको विशेष अधिवेशन बोलाउन माग गरेको जनाएको छ । 


समितिले अहिलेसम्म गरेका गतिविधि र अनुगमनका निष्कर्ष तथा सुझाव पार्टी सभापति शेरबहादुर देउवामार्फत केन्द्रीय कार्यसमितिलाई अवगत गराउन आज सभापति देउवालाई अनुगमन प्रतिवेदन हस्तान्तरण गरेको छ । 


सो अवसरमा सभापति शेरबहादुर देउवाले सरकार जनताको पिरमर्का प्रति बेखबर रहेको बताउनुभएको पार्टीका सहमहामन्त्री एवं समिति संयोजक डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । 


सभापति देउवाले कोरोना महामारी फैलिरहेको भएपनि सरकारले भेन्टिलेटर, आइसोलेसन र औषधिको पर्याप्त व्यवस्था गर्न नसकेको टिप्पणी गर्दै विशेष संसद बोलाएर उक्त विषयमा छलफल गराउनुपर्ने र कोरोना संक्रमण रोक्न विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो  ।


समितिले कोरोना संक्रमणको जोखिमलाई व्यवस्थापन गर्न क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर, यथेष्ट संख्यामा अस्पताल बेड, अत्यावश्यक औषधधिको आपूर्ति सहज गर्न तथा आवश्यक स्वास्थ्यकर्मीको अविलम्व व्यवस्था गर्न समेत माग गरेको छ ।


आइसोलेसनमा बस्ने व्यवस्था नभएका संक्रमित नागरिकका लागि आवश्यक आइसोलेसनको व्यवस्था र अस्पतालको उपचार चाहिने संक्रमितको तत्काल सस्तो र सुलभ अस्पतालको व्यवस्था सुनिश्चित गर्न पनि माग गरिएको समितिद्वारा जारी प्रेस नोटमा उल्लेख छ । 


कोरोनाबाट अति प्रभावित गरीब परिवारलाई चाड पर्वको समय समेतलाई दृष्टिगत गर्दै हरेक परिवारलाई निश्चित आर्थिक सहयोग रकम सिधै हस्तान्तरण गर्ने व्यवस्था मिलाउन माग गरेको सहमहामन्त्री डा. महतले जानकारी दिनुभयो । 
---

प्रतिकृया दिनुहोस