• शनिबार-बैशाख-१५-२०८१

एनटिभिमा बढ्दैछ अनियमित काम 

 

काठमाडौं । केपी ओली सरकारको सुशासन र डा.युवराज खतिवडाको आर्थिक मितब्ययिताको नारालाई नेपाल टेलिभिजनको व्यवस्थापनले खुलेआम चुनौती  दिएको छ । राज्य कोभिड–१९ ले थलिएको समयमा अनावश्यक र फजुल खर्च रोक्ने अर्थमन्त्रीको आव्हानलाई एनटीभीले लत्याएको खबर छ । राज्यले करारका कर्मचारीहरूको म्याद नथप्ने नीति लिइरहेको अवस्थामा नेपाल टेलिभिजनको व्यवस्थापनले अनलाइनतर्फ रिपोर्टरको सातौं तहको सेवा सुबिधा पाउने गरि करारमा शेखर अधिकारीलाई नियुक्ति दिएको छ । 


 नेपाल टेलिभिजनको कर्मचारी सेवा शर्त बिनियमावली अनुसार प्राविधिकतर्फ इन्जिनियरिङ्ग बाहेक अन्यत्र सीधै सातौं तहमा नियम कानुन मिचेर नियुक्ति दिइएको यो पहिलो पटक हो । नेपाल टेलिभिजनको बिनियमावली र अर्थ मन्त्रालयको नीतिबिरुद्घ देखिने उक्त नियुक्ति रोकौं  भन्ने प्रशासनको कर्मचारीलाई अध्यक्ष महेन्द्र विष्टले “आज हो कि भोलि घरजाने मन्त्रीको आदेश मान्ने कि मेरो आदेश” भन्दै थर्काउने गरेको खबर छ । 


  सामान खरीदको लागि एकद्वार नीति लिने भन्दै खरिद एकाइ गठन गरि इन्जिनियर सुरज थापालाई लगातार तीन वर्षदेखि खरीद एकाइको संयोजक तोकिएको छ भने बाहिरी खुल्ला बजारमा भन्दा तीनगुणा बढी मूल्यमा सामान खरीद गर्ने गरेको स्रोतको दावी छ । पैंतीस सय रुपैंयाँ प्रतिगोटा पर्ने मिडिया कन्भर्टरलाई सोह्रहजार रुपैंयाँ तिरेर खरीद गरिएको छ । अनियमितताको कुरागर्ने कर्मचारीलाई हप्काई दप्काइ गर्दै इटहरी र कोहलपुर सरुवा गरिदिने, तहस नहस पारिदिने भन्दै थर्काउने गरेको गुनासो गरेका  छन् ।


   खरीद एकाइमै रहेर भ्रष्टाचारको बिरोध गर्ने केही कर्मचारीहरूलाई हटाएर सुरज थापाको नेतृत्व र सल्लाहमा हालसालैमात्र खरीद एकाई पुनर्गठन गरिएको छ । लकडाउनकै समयमा दूर संचार प्राधिकरणको विज्ञापन बजाउन पोजिटिभ मिडियाका संचालक मनोज पाण्डेलाई ब्यापार निर्देशिका मिचेर आफूखुसी छुट दिइएको छ । दुई लाख सत्चालीस हजारमा बज्नुपर्ने बिज्ञापन केबल एकतीस हजार पाँचसय रुपैंयाँमा बजाउने अनुमती दिइएको छ । उक्त बिज्ञापन बजाउन भनेर मनोज पाण्डेले भने दूर संचार प्राधिकरणबाट पुरै दुई लाख सत्चालीस हजारनै असुलेको विवरण प्राप्त भएको छ । 

 

निज मनोज पाण्डेले जनतासंग प्रधानमन्त्री भन्ने कार्यक्रम चलाउँदा पनि आफ्नो नामको कम्पनी कथा नेपालले लाखौंको विज्ञापन बजाउने तर नेपाल टेलिभिजनलाई प्रसारण खर्च समेत नतिरी लाखौं कुम्ल्याएर हिंडेका थिए । 


यसरी खरीद तीनगुणासम्म बढी र छुट मनलाग्दी पाराले दिंदै जाने हो भने नेपाल टेलिभिजन कतिदिन टिक्ला भन्ने  चासो आम कर्मचारीहरूको रहेको छ । अध्यक्ष विष्टका सहोदर कान्छा भाई अर्जुन बिष्टको प्रोडक्सन हाउसमा पोष्ट प्रोडक्सन गर्ने शर्तमा एक्रेटिभ मिडियाका संचालक हरि पोख्रेललाई नेपाल टेलिभिजनकै सबैभन्दा ठूलोे स्टुडियो कौडीको भाउमा प्रति शिफ्ट सोह्र हजार पाँचसयमा जनशक्ति र उपकरण सहित भाडामा दिएका छन् ।


 भाइसंगको सम्बन्धकै कारण हरिको काममा ढिलासुस्ती भयो भन्दै  चिया समयमा प्राविधिकहरू चिया खाजा खान जाँदासम्म कार्यकारी अध्यक्ष आफैं स्टुडियोमा आएर प्राविधिक कर्मचारीहरूलाई जागिर खाइदिने सरुवा गरिदिनेसम्मको धम्की दिएका थिए । तर जब भाई अर्जुन र हरि पोख्रेलको पैंतीस हजार रुपैंयामा कुरा मिलेन अर्जुनले खिचेको भिजुअल आफ्नो कब्जामा लिइदिए भने नेपाल टेलिभिजनले पाउनु पर्ने पन्चान्नब्बे हजार रुपैंया समेत आजसम्म उठाउन सकेको छैन । त्यो बक्यौता उठाउँ भन्ने ब्यापारका कर्मचारीलाई निज बिष्टले उल्टो थर्काएर अब आइन्दा त्यो बिषयमा नबोल्न आदेश दिइएको जानकारी हुन आएको छ । 


  नेपाल टेलिभिजनका निर्माताहरूले बनाउनुपर्ने बृत्तचित्रमा समेत अनेक बहानामा बाहिरिया निर्मातालाई ठेक्का दिने प्रथा कायम गरिएको छ । नेपाल टेलिभिजन र नेपाल पर्यटन बोर्डसंगको सम्झौता अनुरुप निर्माण गर्नुपर्ने पाँचवटा बृत्तचित्रमा अनेक बहानाबाजी गरेर अर्जुन बिष्टको मिडिया हाउसबाट प्रोडक्सन गर्ने गरि  सुनिल कोइराला, शिवकुमार श्रेष्ठ र आनन्द पौडेलको जिम्मा लगाइएको छ । 


  कार्यक्रम निर्देशिकामा बाह्य जनशक्ति प्रयोग गरि बृत्तचित्र निर्माण गर्नुपर्ने भएमा बढीमा अठचालीस हजार मात्र दिने ब्यवस्था रहेको र हेलिकप्टर, क्रेन, ट्रलिजस्ता उपकरणको प्रयोग गर्नु परेमा आवश्यकता अनुसार बाह्य उपकरण र जनशक्ति प्रयोग गर्न सकिने तर त्यस्का लागि संचालक समितिको स्वीकृति लिनुपर्ने स्पष्ट ब्यहोरा उल्लेख गरिएको छ । तर संचालक समिति समेतलाई छलेर र कार्यक्रम निर्देशिकाले भने अनुसारको बुँदाहरू समेत आकर्षित नभएको अवस्थामा समेत नारायण श्रेष्ठले टिप्पणी उठाउने, आरती चटौतले राय पेश गर्ने र महाप्रवन्धकको सिफारिसमा आफूले टिप्पणी स्वीकृतगरि नेपाल टेलिभिजनलाई थप आर्थिक भार बोकाएको गुनासो छ । 


 यी र यस्तै काममा बलमिच्याइ गर्न सजिलो हुने भएकोले डा.बिष्टले लामो समयदेखि निर्देशक र निमित्त महाप्रवन्धकको जिम्मेवारी एकै ब्यक्तिलाई दिंदै आएका छन् । यो कुराले कर्मचारीहरूको मनोबल गिरेको छ भने विरोधको स्वर सुनिन थालेको आभाष भएपछि कर्मचारीहरूलाई थुम्थुम्याउने प्रयास स्वरुप संगठन संरचनामा ब्यवस्थै नभएको प्रत्यक्ष प्रशारणमा निर्देशकले पाए सरहको सेवा सुबिधा पाउनेगरि उत्तम सिलवाललाई पत्र थमाइएको छ । संगठन संरचनामा ब्यवस्थै नभएको पदको सेवा सुबिधा उपयोग गरिरहेका उत्तम सिलवालको सुबिधा बेरुजुमा परेर कुनैपनि बेला उत्तमले फिर्ता गर्नुपर्ने प्राय निश्चित नै देखिन्छ । 

प्रतिकृया दिनुहोस