• शुक्रबार-चैत-१६-२०८०

हुलाकी सडक निर्माणमा एसएसबीको अवरोध 

कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरस्थित हुलाकी सडक निर्माणमा अवरोधको प्रयास  गरेको छ । 

जिल्लाको बेलौरी नगरपालिका–८ पचुइ, को ३८ नं. पिल्लर नजिक भइरहेको हुलाकी सडक निर्माणमा एसएसबीले अवरोध गरेको हो । 

दुई देशबीच सम्झौता नभएको स्ट्रिप नक्सा ल्याएर एसएसबीले सडक निर्माणमा अवरोधको प्रयास गरेको अन्तर्राष्ट्रिय सीमा सरोकार समूह, कञ्चनपुरका संयोजक पल्लवराज भट्टले जानकारी दिए । 

भट्टका अनुसार, एसएसबीका डेपुटी कमान्डर नेतृत्वको टोली नेपाल प्रवेश गरेर अवरोधको प्रयास गरेपछि स्थानीय प्रदर्शनमा उत्रिएका थिए । त्यसपछि उनीहरू त्यहाँबाट हिँडेको भट्टले बताए । 

 दुवै देशका संयुक्त सीमा सर्बे टोलीले ०५८ देखि ०६३ सम्म लगाएर कञ्चनपुरको स्ट्रिप नक्सा तयार पारेको थियो । नापी टोलीमा नेपालतर्फको नेतृत्व मधुरमण मास्केले गरेका थिए । मास्के नेतृत्वको टोलीले देशप्रति गद्धारी गरेर आफ्नो भूभाग भारततिर पारेको भट्ट बताउँछन् ।  ‘भारतीय पक्षको प्रभावमा परेर नेपालको नापी टोलीले राष्ट्रघात गरेको छ,’ भट्ट भन्छन् । 

यही राष्ट्रघातका कारण नेपाली भूमिमा आएर भारतीय पक्षले आफ्नो पेस गर्ने गरेको छ । 

भट्ट नेतृत्वको समूहले निरन्तर यो विषय उठाइरहेको छ । केही समयअगाडि सरोकारवाला मन्त्रालय र संसदीय समितिसँग अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरले स्ट्रिप नक्सा छानबिन गरी राष्ट्रघात गर्ने तत्कालीन नापी प्रमुख मास्केसहितको टोलीमाथि कारबाही र नक्साको पुनरवलोकन गर्न माग गरेको थियो । लकडाउनका कारण प्रभावित बनेको कार्य अब अघि बढाउन समूहले सरकारसँग आग्रह गरेको छ । 
 

प्रतिकृया दिनुहोस