• शुक्रबार-चैत-१६-२०८०

कर्मचारी सरुवा नगरेको आक्रोसमा उपमेयरद्वारा राजीनामा घोषणा

काठमाडौं । नगरपालिकाका एक कर्मचारी सरुवा गर्नुपर्ने आफ्नो माग पूरा नभएपछि उदयपुरको वेलका नगरपालिकाकी उप–मेयर राजकुमारी चौधरीले राजीनामा घोषणा गरेकी छन् । 

नगरपालिकाकी उपमेयर चौधरीले सहायक कम्प्युटर अपरेटर सन्तोष पौडेल अनेकखाले अनियमिततामा मुछिएको दाबी गर्दै सरुवा तथा छानबिनको माग गर्दै आइरहेकी थिइन् । आफ्नो त्यहीँ माग पूरा नभएपछि उनले बुधबार राजीनामा घोषणा गरेकी हुन् ।  

अनियमिततामा संलग्न नगरपालिकाका सहायक कम्प्युटर पौडेललाई सरुवा गर्नुपर्ने आफ्नो माग मेयर दुर्गाकुमार थापालगायतले बेवास्ता गरेपछि राजीनामा घोषणा गर्न बाध्य भएको उप–मेयर चौधरीले साँघुसँग बताइन् ।   
 

‘सहायक कम्प्युटर अपरेटर पौडेल अनेक अनियमिततामा संलग्न भएको प्रमाण भेटिएपछि मेरो प्रस्तावमा नगरकार्यपालिकाले कारबाही र सरुवा गर्ने निर्णय गरेको थियो,’ उपमेयर चौधरीले भनिन्, ‘तर भ्रष्ट कर्मचारीलाई मेयरलगायतले च्यापेर बचाउ गरेपछि नैतिकताका आधारमा राजीनामा घोषणा गरेको हुँ ।’ 

 सहायक कम्प्युटर अपरेडटर भए पनि उनले मेयरलगायत सबैलाई प्रभावमा पारेर नगरपालिकालाई अनियमितताको अखडा बनाएको दाबी मेयर चौधरीको छ । मेयरलगायतलाई प्रभावमा पारेर अनेक अनियमितता गरेका उनले भरतपुरलगायतका क्षेत्रमा करोडौं मूल्यको घडेरी जोडेको उपमेयर चौधरी बताउँछिन् । त्यसैले उनीमाथि छानबिन हुनुपर्ने माग उनको छ । राजीनामा घोषणा गरिसकेकाले अब आफूलाई पदमा राख्ने या नराख्ने भन्ने विषय जनताको हातमा भएको उनले बताइन् । 

उनले जनताबाट मत पाएर विजयी भए पनि काम गर्न नसकेकोमा माफी मागेकी छन् । ‘जनताले विश्वास गरेर जिताए पनि काम गर्न सकिएन । दुई तिहाइको सरकारलाई धिक्कार छ,’ उनले भनिन् । 

 साँघुले गरेको सवालमा उनको जवाफ – 

तपाईंले उप-मेयरबाट राजीनामा दिनु भएको हो ? 
राजीनामा दिइसकेको छैन । घोषणाचाहिँ गरेको हुँ । 

यस्तो घोषणा गर्नुपर्ने निष्कर्षमा कसरी पुग्नुभयो ? 
नगरपालिकामा भ्रष्टाचार र अनियमितता बढिरहेको छ । त्यस्ता व्यक्तिमाथि कारबाही गर्नुपर्ने मेरो माग थियो÷छ । तर मेयर सा’बलगायतले सुनुवाइ गर्नु भएन । यस्तो ठाउँमा के बसिराख्नु भन्ने लागेर राजीनामा घोषणा गरेको हुँ । 

त्यो अनियमिततामा संलग्न को–को हुन् ? अलि प्रष्ट पारिदिनु न ? 

नगरपालिकामा सन्तोष पौडेल नाम गरेका कर्मचारी छन् । उनी चौथो तहका सहायक कम्प्युटर अपरेटर हुन् । जिविसका अनेक कागजपत्र चोरेर बदनाम भई वेलकामा सरुवा भई आएका । उनको काम कम्प्युटर चलाउनु थियो, तर नगरपालिका नै चलाउन थाले । उनकै संलग्नतामा अनेक भ्रष्टाचार र अनियमितता भए । मैले भनेँ– उहाँका कारण हाम्रो बद्नाम भयो । सरुवा गरौं । 

गाउँ कार्यपालिका, सचिवालय सबैले मेरो प्रस्तावमा स्वीकृति जनाए । तर कतैबाट सुनुवाइ भएन । बरु, मेयर सा’ब उल्टै उहाँलाई जोगाउन लाग्नु भयो । यसरी त के पदमा टाँसिरहनु भनेर राजीनामा घोषणा गरेकी हुँ । 

एउटा मामुली कर्मचारी सरुवाजस्तो विषयलाई लिएर राजीनामा नै दिनुपर्ने त थिएन होला नि ? 

व्यक्तिभन्दा पनि प्रवृत्तिका कारण राजीनामा दिएको हुँ । सानो, ठूलो जसले गरे पनि भ्रष्टाचार त गलत हो नि ? 

त्यहीँभित्र बसेर यसविरुद्ध लड्न सकिन्थ्यो होला नि त ? 
सुरुदेखि नै लडेको हुँ । तर केही लागेन त अनि के गरू ? 

तपाईं संबद्ध दललाई यसरबो जानकारी गराउनु भएन त ? 
गराएँ । तर त्यताबाट पनि केही भएन । 

उपमेयर बनाउने दल नेकपासँगको आबद्धताचाहिँ अब के हुन्छ त ? 
विद्यार्थी कालदेखि नै एमालेमा मैले लगानी गर्दै आइरहेको छु । पार्टी त छाड्ने कुरै भएन नि । 

अनि दुई तिहाइको सरकारलाई नै धिक्कार छ भनेर भन्नु भएछ त ? 
जनताको अथाह विश्वास पाएर पनि केही गर्न नसकेपछि के भन्नु त ? 

प्रतिकृया दिनुहोस