• शुक्रबार-बैशाख-७-२०८१

हवाई उडान सञ्चालन गर्दा संक्रमण फैलन सक्छ : जनस्वास्थ्य विज्ञ पाण्डे 

 

भदौ १ बाट आन्तरिक तथा वाह्य हवाई उडान सञ्चालन गर्ने सरकारको निर्णय अपरिपक्व भएको टिप्पणी जनस्वास्थ्यविदहरूले गरेका छन् । 

 

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे भारतलगायतका विश्वका देशमा कोरोना भाइरसको संक्रमण फैलिरहेकाले हवाई सेवा सञ्चालन गर्दा नेपालमा संक्रमण फैलने चिन्ता व्यक्त गर्छन् । 



सबै देशमा एकैपटक नगरी संक्रमणका आधारमा हवाई सेवा सञ्चालन गर्नु उपयुक्त हुने डा. पाण्डेको सुझाव छ । 

 

अहिलेकै अवस्थामा हवाई सेवा सञ्चालन गर्दा त्यसबाट निम्तिने परिणाम र सरकारले ध्यान दिनुपर्ने विषयबारे डा. पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत सतर्क गराएका छन् । पाण्डेले व्यक्त गरेको भनाइ उनकै शब्दमा:

 

सोमबारको  मन्त्रिपरिषद्को बैठकले भाद्र १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको छ । 



होलसेलमा गरिएको यो निर्णय नेपालको लागि प्रत्युत्पादक बन्न सक्छ  ।  कोरोना समुदायमा नफैलिएको कारण हालसम्म नेपाल सुरक्षित छ ।  अन्तर्राष्ट्रिय उडान गर्नेबित्तिकै नेपाल कोरोना संक्रमणबाट सुरक्षित छ भनेर भारतलगायत विभिन्न देशबाट ठूलो संख्यामा संक्रमितहरू नेपाल आएमा समुदायमा कोरोना संक्रमण फैलिने खतरा हुनेछ । 

 

ज्ञातव्य छ, भारतमा असोजभर कोरोना संक्रमण फैलिएर कार्तिकबाट नियन्त्रण उन्मुख हुने अध्ययनले बताएका छन् । 

सरकारले हवाई उडानलाई यसरी निर्णय गर्नु पर्थ्यो–



१. भाद्र १ गतेदेखि संक्रमण कम भएका जिल्लामा आन्तरिक उडान गर्ने  । 



२. असोज १ देखि नेपाली कामदार भएका देशमा तथा कोरोना संक्रमण नियन्त्रण भएका देशमा मात्र अन्तर्राष्ट्रिय उडान संचालन गर्ने । 



३.  कार्तिकदेखि क्रमशः संक्रमण नियन्त्रण भएका देशबाट हवाई सञ्चालनको अनुमति दिने । 

 

यो महामारी र सम्भावित सेकेन्ड वेभ (कार्तिक र मङ्सिरदेखि सुरु हुनसक्ने) को लागि हामी पूर्ण रूपमा तयारी गर्नुपर्ने अवस्था छ । चाडपर्वको लागि २–३ लाख नेपाली भारतबाट आउन सक्ने तथा करिब १ लाख नेपाली अन्य देशबाट नेपाल आउने सम्भावना छ ।

 

उहाँहरुलाई राख्ने होल्डिंग सेन्टर र क्वारेन्टाइन व्यस्थित गर्ने, परीक्षणको क्षमता बढाउने तथा संक्रमितलाई राख्नको लागि आइसोलेसन सेण्टरको प्रबन्ध गर्ने काम सकेर मात्र निर्णय गर्नु बुद्धिमानीपूर्ण हुनेछ । 

 

हामीले यो तथ्य नबिर्सौं, नेपालमा कोरोना संक्रमण हराएको छैन ।  ठूला सहर, संक्रमित गाउँ तथा बोर्डर क्षेत्रमा ब्यापक परीक्षण गरेर निचोडमा नपुग्ने बेलासम्म अपरिपक्व निर्णय नगरौं ।  सरकारको फितलो अनुगमन हाल चलेका सार्वजनिक यातायातले देखाएका छन् । 

 

अर्को कुरा महामारी अन्त्य नहुन्जेलसम्म विकसित देशबाट कुनै पनि पर्यटक नेपाल भ्रमणमा आउने छैनन् ।  न त हामीहरू भ्रमण गर्न कुनै देशमा जानेछौं । 

 

नेपाली कामदार, विद्यार्थी तथा बाहिर रहनुभएका नेपालीलाई आफ्नो देश आउनको लागि सहजीकरण गर्ने उद्देश्य राखेर मात्र हवाईजहाज सञ्चालन गर्नु सुरक्षित हुनेछ । 
 

प्रतिकृया दिनुहोस