• शनिबार-बैशाख-१५-२०८१

जिप्रका भक्तपुरमा सवारी पास किनबेच, मूल्य ६ हजारसम्म 

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा सवारी पास बिक्री वितरण हुने गरेको गुनासो सेवाग्राहीहरूले गरेका छन् । 

लकडाउनको अवधिमा जिल्ला प्रसाशनले जारी गर्ने सवारी पास बिक्री वितरण भइरहेको भक्तपुरका एक स्थानीयले साँघुलाई बताए । 

जिल्ला प्रशासनमा कार्यरत प्रहरी र अन्य कर्मचारीको मिलेमतोमा पास किनबेच भइरहेको ती व्यक्तिको भनाइ छ । 

स्रोतका अनुसार, प्रहरीले २ हजार रूपैयाँदेखि ३ हजार रूपैयाँसम्म सवारी पास बिक्री गर्ने गरेका छन् । प्रहरीले सुरुमा बिचौलियालाई त्यस्ता पास बिक्री गर्ने र बिचौलियाले सर्वसाधारणलाई ५–६ हजार रूपैयाँमा बेच्ने गरेका छन् । 

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकाल पास किनबेच भइरहेकोबारे आफूलाई कुनै जानकारी नरहेको बताउँछन् । यदि कसैको संलग्नतामा त्यस्ता काम भइरहेको प्रमाण भेटिए प्रशासनले ती व्यक्तिमाथि कारबाही गर्ने ढकालले प्रतिबद्धता जनाए । ‘यसबारे अहिलेसम्म कसैले पनि गुनासो गर्नु भएको छैन,’ उनले भने, ‘यदि यसमा कसैको संलग्नता भेटियो भने हामी कारबाही गर्छौं ।’

समस्यामा परेर सवारी पास लिन जानेहरूले भने निकै असुविधा झेल्ने गरेको गुनासो गरेका छन् । ‘पासको बिक्री गरेकाले होला प्रक्रिया पुर्याएर पास लिन निकै झन्झटिलो छ,’ एक सेवाग्राहीले गुनासो गरे । 

तर सहायक प्रमुख जिल्ला अधिकारी ढकाल पास वितरणलाई व्यवस्थित बनाएको दाबी गर्छन् । ‘सवारी पास वितरणलाई हामीले व्यवस्थित बनाएका छौं,’ ढकालले साँघुसँग भने । 
 

प्रतिकृया दिनुहोस