• बिहीबार-चैत-१५-२०८०

सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा कर्णेललगायत केही  बर्खास्त, केहीलाई  कारवाही र  कराेड असुुल्ने फैसला   

 


 काठमाडाैं ।  २०७७ जेष्ठ ०९ गते बसेको समरी जनरल सैनिक अदालतबाट  सैनिक आवासीय महाविद्यालय, भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका ३ (तीन) जना सैनिक अधिकृत तथा २(दुई) जना अन्य दर्जाहरुलाई सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको  नेपाली सेनाकाे  जनसम्पर्क तथा सूचना निर्देशनालय,जंगी अड्डाले जनाएकाे छ । 

 

  सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित  सैनिक आवासीय महविद्यालय, भक्तपुरमा आर्थिक अनियमितता भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको   २०७६ फागुन  २३ गतेको राय सहितको प्रतिवेदनको आधारमा तत्कालीन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारी सहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा  २०७६ चैत  ०६ गते गठित समरी जनरल सैनिक अदालतबाट निम्न  बमोजिम गर्ने गरी   २०७७ जेठ ०६ गते भएको फैसला  २०७७ जेठ ०९ गते सम्बन्धितहरुलाई सुनाइएको सेनाले  जानकारी दिएकाे छ ।


(क)    महासेनानी भुपालमान अधिकारीले  सैनिक आवासीय महाविद्यालय, भक्तपुरमा सम्पर्क अधिकृत रहेको अवधिमा आर्थिक अनियमितता गरी गराई सैनिक ऐन, २०६३  को दफा ४९ को खण्ड (क), दफा ५२ को खण्ड (६) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा १०१ को उपदफा (१) खण्ड (ग) र (घ) बमोजिम २ (दुई) महिना कैद गर्ने र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य (न) नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेकाे छ । साथै निज कर्णेलले गैर-कानूनी रुपमा आर्थिक उपार्जन गरी लिए/खाएको ठहरिन आएको विगो रकम रु. १८५,४०,१०८।११(एक करोड पचासी लाख चालीहजार एकसय आठ रुपैया एघार पैसा) असुल उपर गर्ने  फैसला  पनि समरी जनरल सैनिक अदालतले गरेकाे छ ।


(ख)    प्रमुख सेनानी देवबहादुर क्षेत्रीले आर्थिक अनियमितता गरी सैनिक ऐन,२०६३ को दफा ४९ खण्ड  को खण्ड (क), दफा५२ को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा १०१ को उपदफा (१) खण्ड (च) बमोजिम २(दुई) बर्ष बढुवा रोक्का गर्ने र निजबाट रकम रु. ४,४००००। (चारलाख चालीस हजार) असुल उपर   गर्ने  फैसला  पनि समरी जनरल सैनिक अदालतले गरेकाे छ ।


(ग)     हुद्धा यज्ञराज पोखरेलले आर्थिक अनियमितता गरी सैनिक ऐन, २०६३ को दफा ५२  को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा १०१  को उपदफा (१) को खण्ड (घ) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य (न) नठहरिने गरी सेवाबाट हटाउने । साथै निजबाट रकम रु. ३६००००।०० (तीन लाख साठी हजार) असुल उपर  गर्ने  फैसला  पनि समरी जनरल सैनिक अदालतले गरेकाे छ ।


(घ)    हुद्धा गणेशबहादुर अधिकारीले आर्थिक अनियमितता गरी सैनिक ऐन, २०६३ को दफा५२ खण्ड को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा १०१ को उपदफा (१) खण्ड (झ) बमोजिम २(दुई) बर्ष तलव वृद्धि (ग्रेड) रोक्का गर्ने । साथै निजले हिनामिना गरेको रकम रु. १००००।०० (दश हजार) असुल उपर गर्ने  फैसला  पनि समरी जनरल सैनिक अदालतले गरेकाे छ ।


(ङ)     लेखा आ.सह-सेनानी सुरेन्द्र विक्रम भण्डारीले आर्थिक कार्यहरु गर्दा कानूनी प्रकृया अवलम्वन नगरी नगराई सैनिक ऐन, २०६३ को दफा ४९ खण्ड  को खण्ड (क), दफा ५२  को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा १०१ को उपदफा (१) को खण्ड (ञ) बमोजिम नसिहत दिने ।


(च)    साथै सोही मुद्दामा अन्य १३ जनाले अभियोग माग दावीबाट सफाई पाउने गरी ठहर फैसला भएको  नेपाली सेनाले जानकारी दिएकाे छ ।


३.    नेपाली सेनाले पद्दति र प्रणालीमा आधारित सांगठन सञ्चालनमा जोड दिंदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहीनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई कारवाही गरिएको । साथै, नेपाली सेनाले भ्रष्टाचारलाई उल्टाउने (Reversing Corruption) को कडा नीति अख्तियार गर्दै भबिष्यमा समेत सैनिक अनुशासन र आचरण बिरुद्धको क्रियाकलापमा शून्य सहनशीलता (Zero Tolerance) को नीति लिएको जानकारी  समेत  नेपाली सेनाकाे  जनसम्पर्क तथा सूचना निर्देशनालय,जंगी अड्डाले गराएकाे छ । 


२०७५ भदाै २४ गते नेपाली सेनाकाे प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त भएपछि नेपाली सेनाभित्र शुद्धीकरण अभियानले गति लिएकाे  विभिन्न अधिकृत, बिल्लादारलगायतले कसुर अनुसार, कारवाही भाेग्दै  आएकाे घटना  र तथ्यहरूबाट पुष्टि हुने गरेका छन् । 

प्रतिकृया दिनुहोस