• शुक्रबार-बैशाख-१४-२०८१

परिवार पाल्न र बाँच्न धेरै गार्‍हो छ : कान्छा भट्ट कपाली 

 

(मानिस जीवनमा प्रगति चाहन्छ । आफूले गरिरहेको काममा सुधार गर्न चाहन्छ । त्यही सुधारले नै उसको जीवनमा आर्थिक सुधार पनि हुन सक्छ । तर, यो सिद्धान्त सडक पाइलट कान्छा भट्ट कपालीमा लागू भएन । ४२ वर्षीय भक्तपुर ठिमीका यी युवाको सोच जे थियो त्यो अहिले बदलिएको छ । उनले आँटेको त पुग्यो त चित्त भरिएन । आखिर त्यस्तो के भयो जसले उनलाई असन्तुष्ट बनाइरहेको छ । बा ३ ख ५६४० नम्बरको बसका चालक कपालीले सडक पाइलटसंगको अन्तरङ्गमा साँघु प्रतिनिधिसंग आफ्नो जिन्दगी खोलेका छन्–सम्पादक) 


० गाडीलाइनमा आएको कति भयो ?
–गाडीलाइनमा त पहिलेदेखि नै हो । १५ वर्ष भयो । 


० के गर्नुभयो पहिले ?
–मैले ७ वर्षसम्म ट्याक्ट्रर चलाएँ । 


० आफ्नै कि अरुको ?
–आफंै किनेर चलाएको । अनि त्यो बेचेर माइक्रोबस चलाएँ । 


० अनि त्यसपछि के गर्नु भयो नि ?
–त्यसपछि मैले बस चलाउन थालें । 


० कस्तो छ गाडीलाइन अहिले ?
–अहिले त गाडीलाइन खत्तमै भएको छ । कमाइ नै छैन । ट्याक्ट्ररमा छँदा दिनको २ हजारदेखि ३ हजार कमाइ हुन्थ्यो । अहिले दैनिक ५–६ सय मात्रै हुन्छ । खत्तम छ गाडीलाइन । 


० कसरी यस्तो भयो ?
–गाडी धेरै भए । प्रायः मान्छे बाहिर निस्कनै छाडे । 


० प्रतिस्पर्धा धेरै भएर पो हो कि  ?
–प्रतिस्पर्धा नै हुन्छ । यात्रु थोरै, गाडी धेरै भए । 


ट्राफिक प्रहरीको व्यवहार चाहिं कस्तो छ नि ?
ट्राफिक प्रहरीबाट त दुःख धेरै नै छ । जाउँ भन्नासाथ नगए पाँच सय रुपैयाँको चिट काटिहाल्छ । यात्रु ओर्लन र चढाउनका लागि गाडी रोक्ने कहीँ ठाउँ छैन । 


० के रै’छ त ड्राइभरको जिन्दगी ?
–सुखको छैन । दुःखको जिन्दगी हो । भन्नेमात्र ड्राइभर हो । 


० पहिले पनि दुःख थियो कि ?
–पहिले त्यस्तो धेरै दुःख थिएन, मिहिनेत अनुसार कमाइ हुन्थ्यो नि । पहिले सुख थियो । पहिले सम्मान पनि थियो, यात्रुले गुरुजी भन्थे । आजकल ड्राइभर भन्छन् । यात्रुले सारै हेप्छन् । 


० किन त्यस्तो भयो ?
–साधन बढी भए । आफूआफै ड्राइभर भए । ट्याक्सी–कार बढे । मान्यता कम भयो हाम्रो ।

 
० यो पेशामा गाह्रो छ है ?
–हो, गाह्रो छ । अहिले यो काम गर्दा कमाइ र सुख दुबै छैन । पेट पाल्न नगरी भएन, बाध्यता भयो । 


० अब पेशा बदल्ने मन हो र ?
–हैन । नगरौं अर्को काम छैन । खेती गरौं सबै सिद्धिइसक्यो । खाली जग्गामा सबै घर बने । बाटो बन्यो । 


० किन त्यस्तो भयो ?
–जग्गा बेचेर मोजमस्तीमा लागे मान्छेहरु † अहिले पो मोजमस्ती गरिरहेका छन् । पछि त पछुतो भैहाल्छ नि । 


० कति पढ्नु भयो नि ?
–पढिएन नि । २–४ कक्षामात्रै पढियो । बा–आमा खेतीमा । आफू पनि १२–१३ वर्षदेखि खेतमा हिंड्न थालियो । 


० कति छन् बच्चाबच्ची ?
–२ जना छोरा छन् । एउटा साउदी अरेबियामा ड्राइभर छ । कान्छो पढ्दैछ । कान्छोलाई सकेसम्म पढाउने भनेको हो । यो लाइनमा नआएको राम्रो ।

 
० किन यो लाइनमा नआउने ?
–गाडीलाइन राम्रो छैन । ड्राइभरको जिन्दगी वर्वाद छ क्या । खानलाउन त पुग्छ । तर, अरु व्यवहार गर्न सकिँदैन । 


० भोलिका दिनमा के गर्ने सोच छ त ?
–सकेसम्म गाडी नै चलाउने हो । अरु काम त सिकेको भए पो गर्नु । जग्गा पनि छैन । अलिअलि जोड्न सकेको भए छोराहरुलाई छोडेर जान हुन्थ्यो । 


० गाडीलाइनका समस्या के छन् ?
आजकल समस्या त धेरै छन् । एक रुपैयाँ चानचुन छैन भन्यो भने ट्राफिक प्रहरी बोलाउँछन् । तर, मसंग छैन भन्ने यात्रुलाई हामीले केही पनि गर्न सक्दैनौं । विद्यार्थी भन्नेहरुका कार्ड बढी डुब्लिकेट छन् । मान्छे बढी राखे पनि चिट काट्छन् । 


० यात्रु कस्ता नि ?
–यात्रु पनि त्यस्तै सोमत नभएका छन् । समस्यै समस्या छ । तेलको मूल्य घट्ने हैन । भाडा दर पुरानै छ । 


० कमाई कस्तो छ नि ?
–दैनिक ५५–५६ सय हुन्छ । २५ सयको तेल खर्च हुन्छ । दुई हजार साहुलाई दिएन भने गाडीको किस्ता तिर्न पनि पुग्दैन । आफ्नो भागमा ५–६ सय आउने हो । परिवार पाल्न र बाँच्न धेरै गा¥हो छ अहिले । 


 

प्रतिकृया दिनुहोस