• बिहीबार-बैशाख-१३-२०८१

प्रहरीको खरिदमा पुराना लखेटिंदै, नयाँलाई सेट गर्दै

 

काठमाडौं । नेपाल प्रहरीको आर्थिक प्रशासन महाशाखाका प्रमुख एसएसपीकै नेतृत्वमा प्रहरीका खरिद प्रक्रियाको गुणस्तर परीक्षणदेखि सबै काम हुँदैआएको छ । तर, नवनियुक्त आइजीपी ठाकुरप्रसाद ज्ञवालीले आर्थिक प्रशासन महाशाखाका एसएसपीलाई बाइपास गर्दै प्रहरीको सामानको गुणस्तर हेर्ने जिम्मेवारी एसएसपी वसन्त पन्तलाई दिएको जानकारी हुन आएको छ । पन्तको नेतृत्वमा कानूनका समेत अधिकारी राखेर गुणस्तर हेर्ने जिम्मा दिएका छन् । यसअघि आर्थिक प्रशासन महाशाखाका प्रमुखले नै गुणस्तर हेर्ने गर्दथे । 

 

प्रबन्धदेखि भण्डारको सेटै परिवर्तनको तयारी
ज्ञवाली आइजीपी भएपछि प्रबन्ध निर्देशनालयको प्रमुखमा डीआइजी सूर्यप्रसाद उपाध्यायलाई लगिएको छ । भण्डार शाखाका डीएसपी मदन केसीलाई पनि त्यहाँबाट अन्यत्र सरुवा गर्ने तयारी भइरहेको स्रोत बताउछ । उनी इन्स्पेक्टरदेखि नै भण्डारमा कार्यरत छन् । उनी बुझबुझारथ गरी भण्डारबाट बाहिरिने बताइएको छ । भण्डारका सई श्याम कँडेललाई पनि सरुवा गरिसकिएको बताइन्छ । भण्डारमा सईको समेत ठूलो चलखेल हुने गर्दछ ।

 

ठेकेदारले सामान बुझाएपछि गुणस्तर चेक गर्न पठाउने क्रममा भण्डारका सईको मिलेमतोमा स्याम्पुल छनोट गर्दा सेटिङ हुने गरेको छ । ठेकेदारको सेटिङमा सबै पक्ष उपस्थित भएको समयमा गुणस्तरका लागि पठाउने स्याम्पल पिसको मुचुल्का गर्ने बेलामा राम्रो स्याम्पुल झिकेर पठाउने गरेको आरोप छ । सेटिङ भएका ठेकेदारको नमूना पास गराउनका लागि गुणस्तरमा राम्रो सामान पठाउने भूमिका भण्डारका सई र डीएसपीबाट हुने गरेको स्रोत बताउछ । विगतमा सुरेन्द्र सिंहको डीएमएस बुट पनि नमूना गुणस्तरमा पठाउँदा राम्रो पठाएर पछि गुणस्तरहीन जुत्ता बुझाएको काण्ड बाहिरिएको थियो । जुन जुत्ता बुझाइसकेपछि पुनः नमूना परीक्षणका लागि पठाउँदा गुणस्तर फेल भएको थियो ।  

 


 गुणस्तरमा राम्रो नमूना पठाएर सईले ठेकेदारबाट लाभ लिने गरेका छन् । तर, सामान बुझाउने बेलामा भने गुणस्तरमा पेश गरेको नमूना अनुसारको पेश नगरी गुणस्तरहीन बुझाउने क्रम प्रहरीमा लामो समयदेखि चलिरहेको स्रोत बताउछ । यसरी भण्डारमा बस्ने सईले २ बर्षमा करोड कमाउने गरेको प्रहरी स्रोत बताउँछ । श्याम कँडेल अघिका भण्डारका सई एकनारायण भट्ट थिए । उनले भण्डारमा बसी ठेकेदारसँग सेटिङ गरी हेराफेरी गरेको गुनासोपछि उनलाई कालीकोट सरुवा गरिएको थियो । कालीकोट सरुवा भएपछि उनले भण्डारबाट गोली नै बोकेर जाँदा एयरपोर्टमा पक्राउ परेपछि निलम्बनमा परे । उनी जागिरबाटै बर्खास्तमा परेका थिए । उनलाई कालीकोट सरुवा गरिएपछि कँडेल आएका हुन् ।

 

प्रबन्धका इन्स्पेक्टर केशवप्रसाद गौतमलाई पनि सरुवा गर्ने तयारी गरिएको चर्चा छ । उनी पनि प्रबन्धबाट बाहिरिने मनस्थितिमै रहेको बताइन्छ । यसरी परिवर्तन गर्ने तयारीलाई प्रहरीमा आइजीपी ज्ञवालीले अनियमितता नगर्ने र खरिद प्रक्रियामा पारदर्शी गर्न खोजेका हुन् कि ? यसले प्रहरीले कपडा नै लाउन नपाउने अवस्था आउने हो कि भन्ने आशंका पनि छ ।

 

आर्थिक प्रशासन महाशाखाका प्रमुख दीपककुमार थापादेखि भण्डारका डीएसपीदेखि सईसम्मको सेटै सरुवा गर्ने तयारी आइजीपी सचिवालयले एसपी भूपेन्द्र खत्री र महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीको योजनामा गर्न खोजेको प्रहरी स्रोतको दाबी छ । स्रोतका अनुसार खरिद प्रक्रियामा पारदर्शीता कायम गर्न होइन,  खत्री र ज्ञवालीले प्रबन्ध, आर्थिक प्रशासन र भण्डारमा आफ्ना मानिस सेट गरी खर्च हुन नसकेको करिब २ अर्ब बजेटबाट ४ महिनाको बीचमा लत्ताकपडालगायतका सामान खरिद प्रबन्ध गर्न लागिएको स्रोत बताउछ ।

 


यसरी प्रबन्ध अन्तर्गतका आर्थिक प्रशासन र भण्डारमा सेट परिवर्तन गरी आफू अनुकूलका एसएसपी, डीएसपीलगायतको जनशक्ति ल्याउने योजनामा आइजीपी ज्ञवालीको सचिवालय लागेको जानकारी हुन आएको छ । लत्ताकपडा खरिदमा अनियमितता भएको भन्दै यही समयमा सार्वजनिक गर्ने काम पनि सचिवालयका एसपी खत्रीले नै गरेको प्रहरी स्रोत बताउँछ ।

 

यसरी सर्वेन्द्र खनालका पालामा सामान खरिदमा अनियमितता भएको भन्दै सार्वजनिक गरी आर्थिक प्रशासन, प्रबन्ध र भण्डारका अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत् छानबिन गराउने दाउ खत्रीको रहेको स्रोतको दावी छ । एसपी खत्री पूर्वआइजीपी खनालको कार्यकालमा पेलिएको प्रतिशोध लिने गरी अगाडि बढेको चर्चा प्रहरी हेडक्वार्टरमा हुने गरेको छ । । त्यसैकारण एसपी खत्रीले नै खरिद प्रक्रियाको कथा बुनेर भ्रमपूर्ण सूचना मिडियामा दिने काम गरेको आरोप छ । (साँघु साप्ताहिक, चैत १०)

प्रतिकृया दिनुहोस