• आइतबार-माघ-२७-२०८१

पूर्वराजाको ‘छिनोफानो’ भारत भ्रमण

 

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारत पुगेका छन् । पश्चिम बंगालको भ्रमणको एक सातापछि नै शाह २०७६ फागुन ४ गते आइतबार पुनः भारत गएका हुन् । कर्मचारीसँग बैठक बसी शाहले भ्रमणको स्थान र कार्यतालिका तय गरिएको बताइन्छ । तर, उनी भारतको कुन ठाउँ गएका हुन् भन्नेबारे खुलाइएको छैन । त्यसैले पूर्व राजा शाहको  भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


पूर्वराजा ज्ञानेन्द्र सत्ताच्युत भएयता बारम्बार विदेशयात्रामा निस्किँदै आएका छन् । यसमा उनले भारत भ्रमण धेरै पटक गर्दै आइरहेका छन् । भारतको सत्तारूढ दल हिन्दूवादी भारतीय जनता पार्टी (भाजपा)सँग शाहको सम्बन्ध सुमधुर रहेको बताइन्छ । यही सम्बन्धलाई प्रयोग गरेर ज्ञानेन्द्र शाहले राजसंस्था ब्युँताउन प्रयत्न गर्दै आइरहेको चर्चा हुने गरेको छ ।

 

०६२/६३ को जनआन्दोलनको दौरानमा दलहरूसँग राजसंस्थालाई स्पेस दिनेबारे सहमति भएको त्यसको उल्लंघन भएको स्वयं पूर्व महाराजा ज्ञानेन्द्र शाहले बताउने गरेका छन् । त्यसैले नितान्त व्यक्तिगत भ्रमण भनिए पनि उच्च तहका नेतासँग ‘छिनोफनो’ भेटघाट हुने बताइएको छ । पूर्वराजानिकट स्रोतका अनुसार, ज्ञानेन्द्र शाहले पछिल्लो भारत भ्रमण पनि २०६३ यताको मिसनकै निरन्तरता हो ।

 

पछिल्लो समय दलको कार्यशैलीलाई लिएर बढेको असन्तुष्टि र भाजपाको शक्ति संयोजन गरेर गुमेको शक्ति आर्जन गर्न सकिने हिसाबमा पूर्व महाराज ज्ञानेन्द्र शाह रहेका छन् । त्यसैले उनले भाजपाका विभिन्न नेताहरूसँग भेटघाट गरेर ‘स्पष्ट हुन चाहेको’ बताइएको छ । भारत उत्तरप्रदेशका हिन्दूवादी मुख्यमन्त्री योगी आदित्यनाथसँग अझै हार्दिकतापूर्ण सम्बन्ध भएकाले पूर्वराजाको यसपटक पनि उनीसँग दिल्लीमा लामै भेटघाट हुने बताइएको छ ।

 


ज्ञानेन्द्र शाह भारत भ्रमणमा निस्किएपछि पूर्वरानी कोमलको जन्मोत्सव खल्लो हुने भएको छ । कोमलको जन्मोत्सव फागुन ७ मा पर्छ । ‘पूर्वराजा ज्ञानेन्द्र पुनः भारत भ्रमणमा गएपछि यसपटक उनको जन्मोत्सव विशेष रुपमा नमनाइने भएको छ,’ स्रोतले भन्यो ।
 

प्रतिकृया दिनुहोस