• शनिबार-बैशाख-१५-२०८१

स्वास्थ्यमा मन्त्री फेरिनासाथ निर्देशक बन्न दौड

 

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नेकपाका भानुभक्त ढकाल आएपछि कान्ति बाल अस्पताल, टेकु अस्पताल, मानसिक रोग अस्पताल, पाटन अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) अन्र्तगतको राष्ट्रिय ट्रमा सेन्टरको कार्यकारी निर्देशकको लागि चखलेल सुरु भइसकेको छ । यी अस्पतालमा जो स्वास्थ्य मन्त्री भयो, उही पार्टीको निकटहरू कार्यकारी निर्देशक हुने दौड सुरु हुने गरेको छ । वीर अस्पतालको निर्देशकको कार्यकाल २ बर्ष तोकिए पनि यी अस्पतालको कार्यकाल नतोकेका कारण मन्त्री फेरिनासाथ निर्देशकको लागि दौड सुरु हुँदैआएको छ । 

 


राष्ट्रिय ट्रमा सेन्टरमा दुई डाक्टरबीच कार्यकारी निर्देशकको लागि दौड सुरु भएको छ । यसअघि उपेन्द्र यादव स्वास्थ्य मन्त्री हुँदा २०७५ चैत ५ ट्रमा सेन्टरको कार्यकारी निर्देशक डा. प्रमोद यादवलाई बनाइएको  थियो । ट्रमा सेन्टरको कार्यकारी निर्देशकका लागि ११ तहको चिकित्सक हुनुपर्छ । तर १० तहका यादवलाई कामु कार्यकारी बनाइएको थियो । 

 


स्वास्थ्य मन्त्री फेरिएपछि ट्रमा सेन्टरको कार्यकारी निर्देशकका लागि १० तहका चिकित्सक नवीन पोखरेल र ९ तहका सन्तोष पौडेल लागेका छन् । डा. पोखरेल नेकपा नेता तथा ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका दाजुभाइ पर्ने हुन् । डा.पौडेल कास्कीका पुराना नेता पुण्य पौडेलका छोरा र धादिङ नेकपाका नेता तथा पूर्वसांसद गुरु बुृर्लाकोटीका ज्वाइँ हुन् । ढकाल मन्त्री हुनासाथ उनीहरू आ–आफ्नो शक्ति प्रयोग गरी कार्यकारी निर्देशक हुनका लागि लागेको समाचार छ । सर्जरी, मेडिसिन, अर्थोपेडिक जुन समूहबाट पनि कार्यकारी निर्देशक बनाउन सकिन्छ ।

 


ट्रमा सेन्टरमा ११ औं तहका चिकित्सक डा. रुद्र मरासिनी छन् । उनलाई यसअघि गगन थापा मन्त्री हुँदा भरतपुर अस्पतालको निर्देशक बनाएका थिए । उनी कांग्रेस समर्थक भएकाले निर्देशकको दौडमा देखिएका छैनन् । ट्रमाका ११ औैं तहका अर्का डाक्टर श्रीकृष्ण गिरी राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष भइसकेका छन् । अरु ११ तहका डाक्टर नेपालगंज, कोही सुर्खेत र जनकपुरमा छन् । उनीहरू आउने संभावना कम छ ।
 

प्रतिकृया दिनुहोस