• शनिबार-बैशाख-१५-२०८१

चालकले गाँजा(घाँस) पनि खान्छन् : सानु लामा

 

(सबैको जीवन सहज रुपले अगाडि बढ्छ भन्ने छैन । कस्तो परिवारमा र कस्तो परिस्थितिमा जन्मियो भन्ने कुराले पनि महत्व राख्छ । त्यस्तै कथा बोकेका छन् सानु लामाले  । ३७ वर्षीय हेटौंडाका सानुले पनि सानो उमेरमा निकै दुःख पाए । उनी त्यसै सडक पाइलट बनेका त पक्कै हैनन् । यहाँसम्म कसरी आइपुगे त ? कसरी भागे ८ वर्षको उमेरमै घरबाट । उनको जीवन निकै नै दुःखदायी थियो  सुरुआतमा । तर उनले आफूलाई यसरी जीवनसंग जुध्नसक्ने बनाए कि अहिले परिवारलाईसमेत बाँच्ने आधार बनाउन सके । सीप नै सबैभन्दा ठूलो कुरो भएको उनको भनाइ छ । आखिर कस्तो छ त उनको जीवन । बा १ ख ६९८८ नम्बरको कान्तिपुर यातायातका चालक सानुले साँघु प्रतिनिधिसँग आफ्नो जीवनको डायरी यसरी खोलेका छन् सडक पाइलटसंगको अन्तरंगमा । 

 

० गाडीलाइनमा आएको कति भयो ?
–म त २४–२५ वर्षदेखि यो लाइनमा छु । 


० धेरै वर्ष पो भएछ त ?
–म त ८ वर्षको उमेरदेखि नै घर छाडेर हिँडेको ।


० किन नि ?
–मेरो कथा दुःखको छ । म ६ वर्षको हुँदा बुबा बित्नुभयो । म ११ वर्षको हुँदा आमा बित्नुभयो । बुबा बितेपछि नै मेरो जीवन दुःखदायी भयो । दाइको व्यवहार राम्रो भएन । 


० कति पढ्नु भयो ?
–२–३ कक्षासम्म पढियो । त्यसपछि पढ्न सकिएन । अनि घर छाडेर काठमाडौं आएँ । कारखानामा काम गर्न थालें । फ्याक्ट्रीमा काम गरेपछि त्यहीँकै साहुको गाडी पनि थियो । अनि पछि लागेर खलासी बन्न थालें । एक हप्ताको सिकाइपछि जानें । अनि २ वर्षसम्म त्यहीं गरें । त्यसपछि अन्तै गर्न थालें । आठ वर्ष जति खलासी गरें । 


० त्यसपछि नि ?
–मैले २०५७ सालदेखि नै गाडी चलाउन थालेको हुँ । वीरेन्द्र राजा मर्ने बेलासम्म पनि ढोकामै बस्थें । ६० सालदेखि नै मैले नियमित गाडी चलाउन थालेको हुँ । १६ वर्ष भएछ गाडी चलाउन थालेको । 


० कस्तो छ गाडीलाइन ?
–राम्रो छैन । मैले खलासी गर्दासम्म निकै राम्रो थियो । पैसा पनि थियो । तर अहिले पैसा छैन । जता पनि खर्चमात्रै छ । ट्राफिक प्रहरीले देखिसहँदैन ।


० किन नि त्यस्तो देखिनसहने ?
–मान्छे ओराल्न पनि दिँदैन । चढाउन पनि दिँदैन । हैरान छ । पाँच छ सय रुपैयाँ दैनिक भत्ता आउने हो त्यही पैसा ट्राफिक प्रहरीले चिट काटेर लैजान्छ । आफ्नो खल्तीबाट जाने हो पैसा । कमाइ नै छैन । दुःखमात्र दिइरहन्छ । 


० किन त्यस्तो भयो ?
–गाडी पनि बढे । पहिले आधा एक घण्टामा गाडी पाइन्थे । त्यसैले ट्राफिक प्रहरीलाई आपत्ति थिएन । अहिले सानो गल्ती हुँदा पनि छोड्दैन । अहिले  बच्चाबच्ची पाल्न पनि गा¥हो हुन थाल्यो । 


० कति छन् बच्चाबच्ची ?
–तीन छोरी छन् । 


० किन धेरै त ?
–उही त हो छोरा खोज्दा पनि यस्तै भए होला । तर, मलाई त छोरी नै राम्रो लाग्छ । 


० के बनाउने हो ?
–जे चाहन्छन् बन्छन् । एउटी संगीतमा लाग्छे जस्तो छ । अर्कीलाई खेलतिर पनि लगाएँ । तर, कराँतेको गुरु ठीक लागेन र मैले छुटाइदिएँ । 


० अहिले दक्षिण एसियाली खेलकुद चलिरहेको छ हेर्नुभएको छैन ?
–काम छाडेर जान मिलेन । तर, टेलिभिजनमा रातिराति हेर्छु । राम्रो लाग्छ । 


० कुन खेल मनपर्छ  ?
–फुटबल  हो  । पहिले पहिले खुब हेरियो । 


० को मनपर्छ नि ?
–को भन्ने त छैन । सबै मन पर्छन् । हेर्न मन लाग्छ । 


० कस्तो छ ड्राइभरको जिन्दगी ?
–एक दुई जनाको राम्रो होला धेरैको छैन । जिन्दगी खत्तम छ । लोकल गाडीमा त झन् राम्रो छैन । 


० पेशासँग सन्तुष्ट हुनुहुन्न ?
–पहिले मेकानिक्स थिएँ । बच्चामै । त्यही गरेको भए अहिलेसम्म ठूलो मेकानिक्स हुन्थें कि । ड्राइभर बनियो । माथि जान सकिएन । अहिले गल्ती गरेछु जस्तो भइरहेको छ  । 


० भोलि के गर्ने सोच छ नि ?    
–अब त सिकेको यही नै हो । यो काम छाडेर अरु के गर्ने र । 


० दुर्घटना भएको छ कि छैन नि ?
–सानोतिनो त भैहाल्छ । ठूलो भएको  छैन । 


० दुर्घटना कसरी हुन्छ ? 
–लापरवाहीले पनि हो । आफ्नै कारणले पनि हुन्छ । गति, लापरवाहीले पनि हो । अरुले पनि हान्छन् । मापसे पनि अझै छ । चालकले गाँजा(घाँस) पनि खान्छन् । तर, गाँजा खानेले दुर्घटना गराउँदैनन् । 
 

प्रतिकृया दिनुहोस