• शुक्रबार-चैत-१६-२०८०

प्रहरीका बदनामलाई विशेष जिम्मा

 

बीरगंज । नेपाल प्रहरीमा जिल्ला इन्चार्ज भएपछि अतिरिक्त कमाइका लागि बदनामहरूलाई घुमुवा राख्ने प्रचलन अहिलेसम्म तोडिन सकेको छैन । घुमुवा राखेर असुली गर्ने क्रम झन् बढेका गुनासाहरू आइरहेका छन् । पर्सा प्रहरीका प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले विवादास्पद प्रहरी निरीक्षक असरफ अली अन्सारीलाई अपराध अनुसन्धान महाशाखाबाट सरुवा गरेर लगेका छन् । उनलाई एसपी राठौरले मुद्दा फाँटको प्रमुख बनाएका छन् । 

 


अन्सारी काठमाडौं परिसर, सोह्रखुट्टे, स्वयम्भुदेखि अपराध अनुसन्धानमा कार्यरत रहँदा हतियारदेखि सुन प्रकरणमा मुछिएका थिए । इन्स्पेक्टर भएपछि उनी अपराध महाशाखामा सरुवा भएका थिए । राठौर अपराध महाशाखामा डीएसपी हुँदै एसपी बढुवा भएपछि पनि कार्यरत थिए  ।

 

त्यही समयमा अन्सारीको असुलीकलाबाट प्रभावित भएकाले उनलाई पर्सामा लगि मुद्दाको प्रमुख दिएको आरोप लागेको छ । अअमै हुँदा निकट रहेर काम गरेका सई बिदुर शिवाकोटीलाई पनि एसपी राठौरले पर्सामा लगेका थिए । शिवाकोटीलाई उनले घुमुवा टोलीको इन्चार्ज बनाएका छन् । शिवाकोटीको टोलीमा हवल्दार अजय पटेल, श्याम साह, जवान सुरेन्द्र कार्कीसहित ८ जना राखेका छन् । कार्की पनि अपराध अनुसन्धानबाट राठौरले नै लगेका हुन् । 

 


यसअघिका पर्साका घुमुवा टोलीका इन्चार्ज इन्स्पेक्टर राजेश दत्तलाई अनियमिततामा मुछिएपछि प्रदेश प्रहरी प्रमुख डीआइजी प्रद्युम्न कार्कीले गणमा सरुवा गरिदिएका छन् । दत्त भन्दा पनि असुलीमा सई शिवाकोटी निपूर्ण भएकै कारण राठौरले उनलाई घुमुवाको इन्चार्ज बनाएका छन् । लामो समय कार्यरत पटेल र साहबाट सूचना संकलन गरी डिलिङ गर्ने काम शिवाकोटीले गर्दैआएका छन् । शिवाकोटीलाई कार्यकक्ष एसपीकै जस्तो दिइएको छ ।

 


तराईका भारतसँग जोडिएका सीमा नाकाबाट छोगडा र मरिचको तस्करी हुने गरेको छ । भिस्वा नाकाबाट किशोर र मुन्ना जैसवाल लगायतका तस्करहरूलाई लाइन दिइएको खबर छ । जैसवालको टोलीले जिल्लाको एसपी, भिस्वा र जानकीटोलाको प्रहरी इन्चार्जलाई दररेट बुझाएर छोगडा र मरिच तस्करी हुने गरेको स्रँेत बताउछ । भिस्वा र जानकीटोलाबाट प्रहरी संरक्षणमा तस्करी हुने गरेको सूचना प्रदेश प्रहरीका प्रमुख कार्कीसमक्ष पुगेपछि उनले एक्सन लिएका छन् ।

 

२०७६ भदौ २० मा भिस्वा प्रहरी चौकीका सई अर्जुन अधिकारीलाई सरुवा गरी सोही दिन अर्को इन्चार्ज खटाएर रमाना गराउन लगाएका छन् । सई अधिकारीलाई यसअघिका पर्साका एसपी रेवती ढकालले लगेका थिए । जानकीटोलाका सई श्यामबाबु यादवका बारेमा छानबिन गर्न डीएसपी अनन्तराम शर्माको संयोजकत्वमा छानबिन समिति बनाएको छ ।

प्रतिकृया दिनुहोस