• बिहीबार-मङ्सिर-५-२०७६

‘चेलीबेटी बेचबिखन रोक्ने मेरो अन्तिम सपना’


हेटौँडा, २० भदौ : प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले चेलिबेटी बेचविखन गर्ने कार्य पूर्णरुपमा रोक्ने आफ्नो सपना रहेको बताएकी  छिन् । प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको आयोजनामा ‘सरकारको प्रतिवद्धता, मानब बेचबिखन तथा ओसार पसार नियन्त्रणमा हाम्रो ऐक्यवद्धता’ नाराका साथ मानव बेचबिखन तथा ओसार पसारविरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा उनले चेलीबेटी बेचबिखन रोक्नु जरुरी रहेको बताइन्  ।

 

नेपाल र भारतबीच खुला सीमाको दुरुपयोग गर्दै चेलीबेटी बेचबिखन  हुने गरेकाले यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताइन्  । उनले प्रतिवद्धता मात्र होइन काम गरेर देखाउन सबैलाई आग्रह गरिन्  । “बेचविखन रोक्न चुनौती छन् तर काम गरेर देखाउनुपर्छ”, उनले भनिन् । 


 प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले मानब बेचविखन रोक्नका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । मानव बेचबिखनका धेरै रुप भएकाले यसलाई रोक्न सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

 

प्रदेश ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले मानब बेचबिखनविरुद्धको अभियानमा सरकारलाई सघाउँदै आएको बताए । कार्यक्रममा प्रदेशसभा सदस्यहरु प्रेमबहादुर पुलामी र ओम घलान, जिल्ला समन्वय समितिका रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनीलगायतको सहभागिता थियो । रासस

प्रतिकृया दिनुहोस