• शुक्रबार-बैशाख-१४-२०८१

ट्राफिक प्रहरीले त धुरुक्कै रूवाउँछ ! : कर्णबहादुर तामाङ

 

(शिक्षा ठूलो कि रूपैयाँ ? यसको सजिलै जवाफ नपाउन सकिएला । किनकि समय र परिस्थितिअनुसार ठूलो सानो हुन्छ । तर, सबैभन्दा ठूलो त दृढ इच्छा शक्ति नै हो । त्यही शक्ति लिएर अगाडि बढेका सडक पाइलट हुन् कर्णबहादुर तामाङ । ४७ वर्षे सिन्धुलीका यी युवाको जीवन सजिलो भने अवश्य छैन । तर, आफ्नो इमान नछाडेका उनले नपाएको दुःख पनि केही छैन । त्यही दुःखबाट सिकेको पाठले उनी काठमाडौंवासी हुन सफल भएका छन् । सडक पाइलटसंगको अन्तरंगमा बा ५ ख २०३ नम्बरको गाडीका चालक तामाङले साँघु प्रतिनिधिसँग आफ्नो जीवन खोलेका छन्–सम्पादक) 

 

 

० गाडीलाइनमा कहिलेदेखि हुनुहुन्छ ? 


–५२ सालदेखि हो । २४ वर्ष भएछ । तीन वर्ष म ट्रकको हेल्पर भएँ । त्यसपछि मैले ट्रक नै चलाएँ । लामो समय ट्रक चलाएपछि दुई वर्षदेखि बस चलाइरहेको छु ।

 


० आनन्द कता ? 


–ट्रक नै राम्रो नि । ट्रकमा एक टिप गरेपछि पुग्छ । बसमा कमाइ हुने हो कि हैन भन्ने टेन्सन । कमाइ भए साहु पनि खुशी अनि आफूलाई पनि दुई चार पैसा हुने । त्यतिमात्र हो र ट्रकमा कसैको गाली खान नपर्ने बसमा गाली बाहेक केही खान नपर्ने । 

 


० किन सम्मान छैन ? 


–पहिले पहिले हुन्थ्यो । नयाँ नयाँ ठाउँमा जाँदा सम्मान गर्थे । अहिले त गालीमात्रै हो । ट्राफिक प्रहरी पनि त्यस्तै छ । धुरुक्कै रुवाउँछ । यात्रुलाई पनि दुःख दिन्छ । ठाउँमा रोक्न दिँदैन । यस्तो भएको २०६४ सालदेखि हो । ट्रकमा पनि त्यस्तै हो ।

 

 
० पहिले पहिले त ट्राफिक प्रहरीले घुस खान्थे नि हैन ? 


–हो पहिले खान्थे । अहिले पैसा खाने भन्दा कयौं गुणा दुःख दिन्छन् । पहिले त ट्रकलाई धेरै तनाव दिन्थेनन् । महिनाबारी हजार रूपैयाँ खान्थे । त्यति भएपछि पुग्दथ्यो । 

 


० कत्तिको कमाइ गरियो ? 


–खासै कमाइएन । अब कमाइ भएन भनौं भने काठमाडौंमै बास बनाएको छु । त्यही नै हो उपलब्धि । 

 


० राम्रो भएछ त ? 


–राम्रै भनौं । मेरी छोरीको सल्लाहले पनि हो । २ छोरी र एक छोरा छन् । जेठी छोरीले यसो गरौं बाबा भनेपछि हुन्छ भनेर गरेको अहिले घर बनाइयो । पहिले सस्तोमा किनेको जग्गा भाउ बढ्दै जाँदा बेच्दै नयाँ किन्दै गरियो । छोरीको यो सल्लाहले अहिले घर बनाउन सकियो । आफूले एक अक्षर पढिएन । छोरी  १५(ब्याचलर) पढ्छिन् । उनको बुद्धिले काम ग¥यो । 

 


० किन पढिएन आफूले ? 


–पढाइ ठ्याम्मै भएन । मा ६ वर्षको हुँदा बुबा खस्नुभयो । त्यसपछि ३ वर्ष जति बजैको घरमा बसें । १४ वर्ष लागेपछि मामा पर्नेसंग काठमाडौं आएँ । दिनको १३ रूपैयाँमा इट्टा बोकेको याद छ । एक वर्ष इट्टा बोकें । त्यो बेलामा ९ रूपैयाँमा मासुभात टन्न खान पाइन्थ्यो । २०४८ सालतिर मैले ५० पैसा बोरा बालुवा बोकेको थिएँ । त्यसपछि मैले तीन वर्ष जति मिस्त्री काम गरें । त्यसपछि म कसरी गाडीलाइनमा छिरें छिरें । पत्तै पाइन । मैले तीन वर्ष जति त लाइसेन्स बिना नै ट्रक चलाएको थिएँ । 

 


० कस्तो लाग्दै छ त गाडी लाइन ? 


० यसलाई फोहरी काम भन्छन् । पहिले राम्रो थियो । अहिले बिग्रियो । गाडी बढे । जनताभन्दा गाडी बढी भए । यो लाइनमा लाग्ने कसैको पनि बोली वचन राम्रो छैन । चाहे मोटरसाइकल नै चलाउने किन नहोस् ।


० के छ भोलिको सोच ? 


–बस्न घर भएकाले र बुढो पनि हुँदै गएकाले अब अरु केही गरौं भन्ने छैन । सकुन्जेल गाडी चलाउने हो । आफ्नो किन्ने सोच पनि छैन । एउटा ट्रक किनेको थिएँ । त्यो यसरी बिग्रियो कि कबाडीमै दिनुपरेको थियो । साँढे पाँच लाख जति नोक्सान भयो । त्यसपछि किन्ने सोच कहिल्यै आएन । अहिले पनि पैसा कमाउँला भन्ने आशा छैन । खान पुगे भयो । 

 


० विदेश जाने सोचिएन ? 


–जान खोजेको थिएँ । खुट्टा भाँचिएपछि जान मन लागेन । आफ्नै साँढु भाइले त खुवै जोड गरेका थिए ।  

 


० के रै’छ ड्राइभरको जिन्दगी ? 


–हँसिमजाक ग¥यो । यस्तै हो । कतिबेला कहाँ के हुने हो पत्तो हुँदैन । तनाव धेरै हुन्छ । त्यसैले बाँचुन्जेल हाँस्ने हो । 

 


० दुर्घटना कसरी हुन्छ ? 


–पत्तो नै हुन्न । म त बालुवामा साथी बचाउन जाँदा खुट्टो भाँचिएर दुई वर्ष थला परें । तर गाडी दुर्घटना पर्ने त बढी कुँदाएर नै हो । गाडी चलाउने युवालाई हाँसीखुशी गर्न पाए पुग्छ अनि दुर्घटना हुन्छ । अहिले टिपरले बढी दुर्घटना गराउँछन् । युवा केटाहरू बढी भएरै होला । 

 


० योगदान धेरै गरिएछ । सरकारले केही सहयोग गर्ला कि ? 


–आश गर्नु भर नपर्नु जस्तै हो । केही गर्र्दैन । कसैले पनि हाम्रा लागि केही गर्दैैन । 
 

प्रतिकृया दिनुहोस