• शुक्रबार-बैशाख-१४-२०८१

अख्तियारले हेर्नै नमिल्ने हो नेपाल टेलिभिजनको भ्रष्टाचार ? 

श्रीमान् सम्पादकज्यू

 

साँघुले नेपाल टेलिभिजनमा भैरहेको बेथितीको सम्बन्धमा धेरै अगाडिबाट नै लेख्दै आएको थियो । हालको समयमा आएर अचाक्ली नै अनियमितता, भ्रष्टाचार, लूट भएको खुल्लै भएको हुनाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायत सम्बन्धित सबेको जानकारीको लागि यो पत्र पठाएका छौं ।


प्रविधि रूपान्तरणको नाममा एचडी बनाउने भनेर एक वर्षमा २८ वटा टेण्डरबाट आधा अर्ब बढीको सामान खरीद गरेकोमा गुणस्तरको सम्बन्धमा प्रश्न उठेको छ । बारम्बार प्रसारण रोकिएको छ । सामानहरू पनि २४ घण्टाको प्रसारणको लागि हैन केही समय संचालन हुने रेकर्डिङ स्टुडियोको लागि बनाएको सामानहरू धेरै भएको हुँदा प्रसारण रोकिएकोमा कुनै शंका छैन  ।

 

मास्टर कन्ट्रोल रुमको समाचार स्टुडियो २०७५ माघदेखि नै अलपत्र पारेर करोडौं झ्वाम पारियो । क्रोमा की बनाउने बहानामा राम्रो ब्याक ड्रप भत्काएको थियो । त्यो आजसम्म पनि कुडाकर्कट बनेको छ तर टक शोको ब्याकड्रप सबै कार्यक्रमममा एउटै राखेर देखाउने गरेको हो । लाइटहरूले पनि काम गरेको छैन । २०७५ माघ १७ मा ल्याएको भनेको स्टुडियो क्यामेराको डेप्थ पनि दिएको छैन । गुणस्तर नभएको क्यामेरा भएको हुँदा यस्तो भएको हो । 

 


झूर सामान किनेकोमा विरोध हुन नदिनको लागि टेलिभिजनको १ सय जनालाई विदेश भ्रमणमा लगेर डलरमा भत्ता खुवाइएको छ । एक जनालाई २ सय यूएस डलरसम्म डीए दिइएको छ । महेन्द्र विष्ट अध्यक्ष हुनु अगाडि २ जनासम्मले सामान खरिदको काममा विदेश भ्रमण गर्ने गरेकोमा महेन्द्र आएपछि एउटै खरिदमा दर्जनसम्मलाई विदेश लाने र करोडौं सरकारी बजेट उडाउने काम भैरहेको छ । यसो अलि अलि नियम कानूनका कुरा गर्ने संचालक टंक पन्तको पनि मुखमा बुझो लगाइयो । घुमघामको लागि सिंगापुर, हङकङ, चिन लगायतको ठाउँहरूमा प्रशासन, व्यापार शाखा लगायतका कर्मचारीहरूलाई विदेश लगेर मुखमा बुजो लगाउने काम पनि भयो । 

 


विदेश जान नपाएकोहरूको लागि ठाउँ ठाउँमा नाइट स्टे गर्ने बजेट दिएर बुजो लगाउने काम अध्यक्ष बिष्टकै कार्यकालमा हुने गरेको छ । युनियनहरूलाई धुलिखेल र भोटेचौरका रिसोर्टहरूमा नाइट स्टे गोष्ठी गर्ने नाममा लाखौंको बजेट दिइयो । त्यहाँ रिसोर्टमा रक्सीको छेदोखेलो भएको थियो । त्यति पनि नपगेर अध्यक्ष विष्टले २०७६ साउन १० गते नेपाल टेलिभिजनमा नै इन्द्रेणी फूडल्याण्डको डिनर खुवाएका थिए । संचार मन्त्री गोकुल बाँस्कोटालाई प्रमुख अतिथि बनाउनका लागि भुइँ तलाको ट्वाइँलेटमा रातो डोरम्याट लगाउनुको साथै वरिपरि सेन्ट र एयर फ्रेस्नर स्प्रे गरियो । तर अन्य ट्वाइलेटहरू डुङडुङती थिए भने भाँच्चिएका कुर्सी र कुडाकर्कट अहिले पनि छन् ।

 

कर्मचारीका साथै मन्त्रीजयूलाई कसरी भुलाउने, झुक्याउने भन्ने हालको ब्यवस्थापनको आइडिया देखेर कर्मचारी चकित परेका छन् । अनियमित कामको विरोध होला भनेर मुखमा बुजो लगाउन काम नगर्नेहरूलाई नगर्ने र दिउँसै तास खेल्न जान पाउने र राजनीति गर्ने छूट दिइएको छ  । यस्तोमा कार्तिकको ४ मा रिटायर हुने दीपकमणि धितालको कांग्रेसी झूण्डलाई उच्च प्राथमिकता दिंदै आएका छन् । गोविन्द धिताल र सालिकराम सुवेदीलाई कार्यक्रम बनाएको नाममा अरुको कार्यक्रलाई दिएको रकमभन्दा बढी रकम दिने गरिएको छ भने कार्यक्रमको खाजाको नाममा पनि अपारदर्शी तौरतरिकाबाट रकम दिने गरिएको छ । खाजा भत्ता भने सबै कर्मचारीलाई छँदाछँदै सालिकरामहरूले मासिक हजारौंको बिल पेश गर्ने गरेका छन् । 

 


भैरहेको ४ वटा च्यानल नै दीर्घकालीन अवधारणा नबनाएर नै संचालन गरिराखेको अवस्थामा अन्तर्राष्ट्रिय च्यानल खोल्ने र उपकरण किनेर कमिसन कुम्ल्याउने बाहेक अर्को उद्देश्य देखिँदैन । भ्रष्टाचार भयो कि भएन भन्ने आँखाले हेर्ने हो भने विगत १२ वर्षदेखि नेपाल टेलिभिजनको खरिदको स्पेशिफिकेशन सोहेतो नेपालले बनाइरहेको सबैलाई थाहा छ । स्पेशिफिकेशन नै उसले बनाउँदा टेलिभिजनको खरिद बजेटबाट नै कर्मचारीहरूलाई विदेश घुमाउने दफा राख्ने गरिएको छ । सोहेतोले दीपकमणि धितालमार्फत यस्तो काम गराउने गरेकोमा अध्यक्ष महेन्द्र पनि हाल मिसिएर खरिदको रफ्तार बढेकै छ । तर, बिल भर्पाइ एक हप्तासम्म वेबसाइटमा राख्नु पर्ने नियम रहेकोमा सबै काम गुपचूप गरिएको छ ।

 

भ्रष्टाचार र अनियमितता रहित खरिद हो भने सबै सक्कल बिल भर्पाइ र खरिद गरेको सामानको फेहरिस्त वेबसाइटमा राख्न सक्नु पर्ने हो । टेण्डरको कमिसन र विदेश जान नपाउने कर्मचारीलाई भोजभतेर र रक्सीको छेलोखेलो गरेपछि कुरा काटेर बसेपनि, काम नगरेपनि कसैले केही नगर्ने अवस्था छ । कुरा के छ भने बजेटको रकमबाट जथाभावी खरिद गरेर बजेट सकाउन सोहेतो नेपाल प्रा लिबाट संचालित खरिद माफियालाई भ्याइनभ्याइ छ । स्पेशीफिकेशनबाटै शुरु भएको भ्रष्टाचार, नेपाल टेलिभिजन भन्दैमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि छूट दिनै पर्ने हो र ?          

                                                       –नेपाल टेलिभिजनका कर्मचारीहरू
 

प्रतिकृया दिनुहोस