• शनिबार-बैशाख-१५-२०८१

बजारका मिठाई किन खानु हुँदैन ?

 

‘मिठाईहरू, पेयपदार्थ र बट्टाका जुस नल्याउनू । ल्याउने नै भए फलफूल ल्याउनू । बजारका चिसो पनि नल्याउनू,’ मलाई घरमा भेट्न उपहार लिएर आउने प्रायःलाई मैले यही भन्ने गरेकी छु । बजारमा पाइने मिठाई कहाँ बनेको, कसरी बनेको भन्नेप्रति मलाई शंका हुन्छ । ती चिज घरमा सफा गरी बनाइएका सेल, पुरी र खजुरीजस्ता हुँदैनन् ।

 


कहाँ घरमा बनाउनु ? सजिलोसंग बजारमा पाउने भएपछि ?’ उपहार ल्याउने प्रायःले भनेको सुन्दा मलाई अचम्म लाग्छ । के अब घरमा मालपुवा, सेल र खजुरी बन्दैनन् ?

 


अब जसैतसै चाडपर्व नजिक आउन थालेका छन्, तबतब पत्रिकामा समाचार आउन थाल्छन्, मिठाई पसलमा सरकारी टोलीले अनुगमन गरेकोबारे । ’मिठाई र रसबरीमा भुसुना र साङ्ला फेला परेकाले मिठाई पसल सिलबन्दी गरिएको छ । वा, काठमाडौंका बागबजार, लाजिम्पाट, न्युरोड, नयाँबानेश्वरमा रहेको प्रसिद्ध मिठाई पसलमा छापा मारेर ढँुसी परेको देखेर सरसफाईमा ध्यान दिन र ढुँसी परेका मिठाई बिक्री बन्द गर्न निर्देशन दिइएको छ ।’

 


यस्तो निर्देशन दिए पनि व्यापारीले मिठाई नष्ट गर्दैनन् भन्ने थाहा छ, अनुगमन गर्ने टोलीलाई । ती ढँुसी परेका मिठाई मिसाएर नयाँ मिठाई बनाइयो भने ढुँसी सबै गायब हुन्छ । मिठाई नयाँ नै देखिन्छ तर यसले एकछिन मुख मीठो गराए पनि कालान्तरमा स्वास्थ्यमा ठूलो हानि पु¥याउँछ भन्ने जानकारी प्रायः उपभोक्तालाई हुँदैन । मिठाईमा परेका साङ्ला फालेर ग्राहकसामु ल्याउँदा त्यसको अवशेष कहाँ देखिन्छ र ? अझ कतिजनाले ‘साङ्ला त कति देशमा मीठो मानेर खान्छन् । त्यसैले साङ्ला र भुसुना परेर के भयो ? बरु शरीरमा मासु प¥यो भने प्रोटिन नै हुन्छ’ भन्न बेर छैन ।

 


‘हिलोले भरिएको फोहोरी भान्छा सफा गर्नू’ भन्ने निर्देशन पनि प्रायः अनुगमन टोलीले दिन्छ, तर त्यो हिलो र फोहोरले भरिएको भान्छा पुनः सफा भयो कि भएन भनेर हेर्न कोही जाँदैन । उपभोक्ता त्यही फोहोर, हिलो खाइरहन्छन्, बिरामी परिरहन्छन् ।

 


यो जिब्रोको स्वाद यस्तो छ, कतिपयको तर्क हुन्छ, ‘बरु रोगी हुन्छु, मिठाई छाड्न सक्दिनँ । कसरी पकाउँछ भन्ने मैले देखेको छैन क्यारे । बाहिर ल्याउँदा त सफा देखिने गरी ल्याउँछ नि ?’ प्रायः यस्ता उपभोक्ताको तर्कले गर्दा नै फोहोरी, झिंगा र साङ्ला परेका केक आदि सबै सजिलै बेचिन्छन् ।

 

आजकल त भगवानलाई पनि यस्तै मिठाई चढाइन्छन् । पत्थरका भगवान बोल्न सक्दा हुन् त उनले भन्ने थिए, ‘हे भक्त हो, यस्तो फोहोर मिठाईभन्दा सफा फलफूल चढाऊ ।’

 


चाडपर्व आएपछि बारम्बार सरकारले थप कडाइसाथ अनुगमन गर्ने भनेर वक्तव्य निकाल्छ तर बारम्बार त्यो वक्तव्यलाई मिठाई पसलले बेवास्ता गरेर वागमतीमा बगाइदिन्छ । अझ कति ठाउँमा त सायद वागमतीको नदीजस्तै पानी हालेर मिठाई बनाइन्छ कि ? आँखाले नदेखेपछि त्यो मिठाई कुन पानी, कस्तो दूध हालेर बनाइएको छ के थाहा र ?

 


कति पसलेले मिठाईमा केशर मिसाएको छ भनेर उपभोक्तालाई लोभ्याउने पनि गर्छन् । केशर मिसिएको भनेपछि जिब्रोबाट ¥याल चुहिन्छ नै । तर, एक किलो केशरको झन्डै चार लाख रूपैयाँ जति पर्छ, मिठाई पसलेले साँच्चि नै केशर हालेर सस्तो र सुलभ तरिकाले मिठाई दिन सक्छ त ? भन्ने प्रश्न उपभोक्ताले किन नगर्ने ?

 


खान हुने रंग मिठाईमा हाल्यो भने मिठाई एकदमै महँगो हुन्छ, अनि सर्वसाधारणले किन्दैनन्, त्यसैले खान नहुने रंग मिसाएर मिठाईलाई आकर्षक बनायो अनि सस्तोमा बेच्यो । पसले पनि खुसी, उपभोक्ता पनि सस्तोमा राम्रो मिठाई पाइयो भनेर खुसी । उपभोक्ताले यसरी अखाद्य रंगले कसरी स्वास्थ्यमा नराम्रो असर पर्छ भन्ने थाहा पाए भने यस्ता खुसी बिस्तारै हराउँछ ।

 


तपाईंले भनेजस्तो गरियो भने त चाडपर्व नै खल्लो हुन्छ भन्ने तर्क पनि आउँछन् । तर के उपभोक्ताले स्वस्थकर मिठाई खान सकून् भनेर व्यवसायीले के शुद्ध तरिकाले मिठाई बनाएर बेच्न नसकिने हो र ?

 


के साङ्ला र झिंगा नहाली, अखाद्य रंग नहाली सफासंग मिठाई बनाइयो भने नाफा हुँदैन र ? 
 

प्रतिकृया दिनुहोस