• शुक्रबार-बैशाख-७-२०८१

अख्तियारको निगरानीपछि मालपोतमा आतंक 

 

काठमाडौं । सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा २०७५ चैतदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीकै रुपमा आफ्ना अनुसन्धान अधिकृत परिचालन गर्नेक्रम शुरु गरेपछि त्यसले भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी परिणाम देखाउन थालेको छ । आयोगबाट बढी जनसम्पर्क हुने मालपोत, नापी, बैदेशिक रोजगार विभाग, यातायात र कम्पनी रजिष्टार कार्यालयमा सेवाग्राहीको भेषमा अख्तियारका कर्मचारी खटिने गरेका छन् ।

 


 सेवाग्राहीको भेषमा खटिएका कर्मचारीले गोप्य क्यामरा समेत फिट गरी कार्यालयबाहिरको घुस लेनदेनको भिडियो पनि खिचेर पेश गरेपछि अख्तियारले धमाधम कर्मचारीलाई नियन्त्रणमा लिन थालेको छ । मालपोत र नापी कार्यालयमा लेखापढी ब्यवसायीमार्फत् कार्यालयबाहिरै घुस लिने गरेको गुनासोपछि अख्तियारबाट खटिएको टोलीले उनीहरूको निगरानी गर्न सुरु गरेका थिए । त्यो निगरानीमा कार्यालयबाहिर घुस लिंदै गरेको, रकम गोजीमा हालिरहेको भिडियोसमेत लिएर बुझाएका छन् ।

 

त्यही भिडियोको आधारमा काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरूबाट १० जना भन्दा बढी कर्मचारीलाई आयोगले नियन्त्रणमा लिएको छ । त्यसमा सबैभन्दा बढी कलंकी मालपोत कार्यालयका ७ जना छन् । भक्तपुर मालपोत कार्यालयबाट नायबसुब्बा हरि उपाध्यायलाई ४ हजार रुपैया घुस लिएको देखिएपछि नियन्त्रणमा लिएको छ । केही लेखापढी ब्यवसायीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । ललितपुर मालपोत कार्यालयबाट पनि केही कर्मचारी पक्राउ परेका छन् ।

 


 सेवाग्राहीको भेषमा खटिएका अख्तियारका अनुसन्धान अधिकृतहरूको सुक्ष्म निगरानीपछि बुझाएको भिडियो रिपोर्टका आधारमा धमाधम कर्मचारी पक्राउ पर्न थालेपछि मालपोतका कर्मचारीहरू सरुवाका लागि निवेदन दिन थालेका छन् । अवकाशको मुखमा पुगेकाहरू राजीनामा दिन थालेका छन् । भक्तपुर मालपोत कार्यालयका मालपोत अधिकृत शंकर कार्कीले स्टीङ अप्रेसनमा पर्ने भएपछि राजीनामा दिएका छन् । उनले गैरआवासीय नेपाली संघ(एनआरएन)ले दुवाकोटमा खरिद गरेको जग्गामा लाभकर नै नलिई रजिष्ट्रेसन पारित गरेको पाइएपछि अख्तियारले छानबिन गरेको छ ।

 

अख्तियारले छानबिन गरेको थाहा पाउनासाथ उनले राजीनामा दिएका छन् । काठमाडौं उपत्यकाका मालपोत कार्यालयबाट सरुवाको निवेदन नपरेको भूमि ब्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले बताएका छन् । उनले भने–‘यो पोष्टिङकै बेला हो, सरुवाको निवेदन त्यति परेको जस्तो त लाग्दैन ।’

 


५ सय १ हजार घुस खाने परे, लाखौं खानेहरू जोगिए
 मालपोत कार्यालयमा मोठ भिडाउने कर्मचारी बढी परेका छन् । उनीहरूलाई लेखापढी ब्यवसायी वा सेवाग्राहीले ५ सय वा १ हजार रुपैयाँ दिएर छिटो काम गर्न लगाउँछन् । अख्तियारको सुक्ष्म निगरानीमा बढी तिनै कर्मचारी परेका छन् । तर मालपोत कार्यालयमा सबैभन्दा बढी घुसको कारोबार रजिष्टे«ेसन फाँटमा हुने गरेको छ । रजिष्ट्रेसन फाँटमा बस्ने कुनै पनि कर्मचारी स्टीङ अप्रेसनमा परेका छैनन् । किनकि जग्गा कारोबारीहरूले लाखौं लाख वा प्लटिङ गरेको जग्गैमध्येबाट कित्ता कित्ता घुस दिएका हुन्छन् ।

 

जुन सुक्ष्म निगरानी गर्ने कर्मचारीले भेउ नै पाउन सक्दैनन् । काठमाडौं उपत्यकामा लामो समयदेखि रजिष्टे«सन फाँटमा कार्यरत कर्मचारीहरूको अभिलेख लिएर उनीहरूको सम्पत्ति विवरण हेर्ने हो भने नायबसुब्बा र खरिदारको बीसौं करोड बराबरकै फेलापर्ने स्रोत बताउँछ । स्रोतका अनुसार २०६० देखिका काठमाडौं उपत्यकाको रजिष्टे«सन फाँटमा बस्ने र उनीहरूका आफन्तको समेत सम्पत्ति छानबिन गर्ने हो भने अधिकांशको २० करोडभन्दा माथि फेलापर्नेछ । सुक्ष्म निगरानीको क्रम बढेपछि रजिष्ट्रेसन फाँटमा कार्यरत कर्मचारीहरू अकूत सम्पत्तिमा पनि छानबिन हुने त्रासमा धमाधम सरुवाको लागि धाउन थालेका छन् । अख्तियारको सुक्ष्म निगरानीपछि उपत्यकाका मालपोत कार्यालयहरूमा भागाभागको स्थिति छ । 

 


यसरी अख्तियारले स्टीङ अप्रेसन गर्ने क्रम बढाइरहेको अवस्थामा पनि भूमि ब्यवस्थापन विभागले सरुवामा मोलतोल गर्न नछाडेको गुनासो छ । स्रोतका अनुसार विभागका नासु केशव चन्दमार्फत् आकर्षक मालपोत कार्यालयमा सरुवाका लागि घुस संकलन हुँदैआएको छ । 
 

प्रतिकृया दिनुहोस