काठमाडौं । प्रगतिशील लेखक सङघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष, नाट्यकार एवम् प्रगतिशील स्रष्टा खेम थपलियाको गिरफ्तारी एवम् सो सङ्घकै काठमाडौँ शाखाका केही वर्तमान पदाधिकारीप्रति गरिएको अमर्यादित व्यवहारप्रति प्रंगतिशील लेखक संघ, नेपालको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरी र महासचिव समीर सिंहले एक प्रेस विज्ञप्ति जारी गरेर विरोध गरेका छन् ।
प्रेस विज्ञप्तिमा भनिएको छ–‘‘जनताको ठूलो सङ्घर्ष पश्चात् प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई यतिखेर वामपन्थी नेतृत्वको सरकारले नेतृत्व गरिरहेको छ । यस स्थितिमा शान्ति, विकास र समृद्धिको जनचाहना पनि उत्तिकै जीवन्त छँदै छ । तर नेपाली राजनीतिमा पछिल्लो चरणमा देखिएका केही अस्वाभाविक परिघटनाले नेपाली समाज पुनः द्वन्द्वतिर जाँदै गरेको आभास हुनु निश्चय पनि सुखद कुरा हुन सक्तैन ।''
'' नेपालका सबै वामपन्थी लेखकहरूको साझा मोर्चाका रूपमा रहेको प्रगतिशील लेखक सङ्घ आफ्नो सङ्घमा आबद्ध सम्पूर्ण लेखकहरूका साथै कुनै पनि लेखकलाई राज्यको तहबाट अमर्यादित व्यवहार गरिनु हुँदैन र अनावश्यक चुनौतीको सामना गर्नु पर्ने अवस्था आउनु हुँदैन भन्ने मान्यता राख्दछ ।’’
‘‘अतः प्रगतिशील लेखक सङ्घका पूर्व उपाध्यक्ष खेम थपलियाको यथाशीघ्र रिहाइको माग गर्दै लेखकहरूप्रतिको अमर्यादित व्यवहार बन्द गर्न यो सङ्घ जोडदार माग गर्दछ । साथै हाम्रो संस्था वार्ता संवादको माध्यमबाट सहअस्तित्व र मेलमिलापको भावनालाई उच्च प्राथमिकतामा राख्तै राजनैतिक समस्याको समाधान गरिनु पर्दछ भन्ने ठान्दछ ।’’
प्रतिकृया दिनुहोस